प्राणी जोगाउन डा महेश्वर ढकालको प्रण

साढे दुई दशक अघि निजामती सेवामा पाइला राखेका हुन महेश्वर ढकालले । वन विज्ञानमा आइएस्सी र बिएस्सी तह पार लगाए पछि त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका ढकालले जापानबाट वातावरण विज्ञान स्नातकोत्तर शिक्षा हासिल गरे । उनको अध्ययनको गति यतिमै रोकिएन,जापानबाट फरेष्ट रिसोर्स इकोनोमिक्समा विद्यावारिधि उपाधी हासिल गरे । स्याङ्जाको एउटा गाउँमा जन्मिएका महेश्वर ढकालले नामका अगाडि डाक्टर उपाधि जोड्न कम्ता पापड (संर्घष) पेलेनन् । ०५४ सालमा निजामती क्षेत्रमा पाइला राखेका ढकाल अहिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशकको जिम्मेवारीमा छन् ।उसो त उनको सिंगो परिवारै निजामती क्षेत्रमा छ । महानिर्देशक ढकालका जेठा दाजु सालिकराम चितवन राष्ट्रिय निकुञ्जका लेखा प्रमुख, काइलो भाइ यज्ञ केयुकेएलका लेखा प्रमुख,अर्का भाइ बलराम जिल्ला प्रशासन कार्यलय काठमाण्डौंका सहायक प्रमुख जिल्ला अधिकारी र कान्छो भाइ ईश्वरी राजश्व अनुसन्धान विभागमा उपसचिवको जिम्मेवारीमा छन् ।
Advertisement 1
ढकाल झण्डै १२ बर्ष त वन मन्त्रालयभित्रको सोइल कम्जरभेसन सेवामा शाखा अधिकृत तहमा एक दशक सेवा गरेपछि ०६७ सालमा निकुञ्जतर्फ उपसचिवमा उक्लिन सफल भए । सेकेण्ड क्लासको अफिसर हुँदा निकुञ्ज विभागको वातावरण शाखामा राम्रो काम गर्ने थोरै अफिसर मध्येका एक हुन । ०७३ सालमा सहसचिवमा बढुवा भएपछि उनी छोटो समय विभागको उपमहानिर्देशक भएर काम गरे । विभागबाट सरुवा भएर वन तथा वातावरण मन्त्रालयमा गएपछि जलवायु परिवर्तन व्यवस्थापन महाशाखाको जिम्मेवारी सम्हाले । केही समय गण्डकी प्रदेशको वन सचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे । त्यहाँबाट राज्यले उनलाई खटायो राष्ट्रपति चुरे तराई विकास समितिको सदस्यसचिवका रुपमा । चुरेमा जति बसे, रणनैतिक हिसावले निकै सफल देखिए ।
चुरेमा सुधार
जहाँ बस्यो त्यही आमूल सुधारका प्रयन्त गर्ने प्रशासक हुन ढकाल । गण्डकी प्रदेशबाट फर्किएपछि उनले खोजेको ठाउँमा सरुवा पाएनन्, राष्ट्रपति चुरे तराई विकास समितिको सदस्यसचिवको जिम्मेवारी पाए । त्यहाँ रहँदा चुरे संरक्षणको गुरुयोजना परिमार्जनको काममा हात हाले । कर्मचारीहरुको कामचोर र कीर्ते प्रवृत्तिलाई कस्ने योजना बनाए । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिन्धुलीसम्म लिएर एकै दिन एक लाख विरुवा रोप्ने काममा उनी सफल भए । कर्मचारीलाई कस्ने योजना बनाए । जसमा फिल्ड घुमेर भ्रमणभत्ता, इन्धन, गास, बासको ‘क्लेम’ मात्र गर्ने पदाधिकारीले प्रतिवेदन समेत बुझाउने गरेका थिएनन् । जब ढकाल सदस्य सचिव भएर गए, अनि प्रतिवेदन विना सबै किसिमका भुक्तानीमा रोक लगाए । दाना पानी रोकिए पछि झण्डै राज्यमन्त्री र सहायकमन्त्रीस्तरको सुविधा लिनबाट बञ्चित भए विज्ञहरु । विभागको कमाण्ड सम्हालेको अब साउनमा १ बर्ष पुग्दैछ । उनै ढकालसँग वन,बन्यजन्तु र उनीहरुको अबस्थाको वारेमा हामीले थप जिज्ञासा राख्यौं ।
Advertisement 2
हाम्रो प्रश्न थियो, वन्यजन्तुले मान्छेलाई गर्ने क्षति वा मान्छेले वन्यजत्नुमाथि गर्ने क्षतिमा कुन बढी छ ?
जबाफमा महानिर्देशक ढकाल भन्छन्,‘जसरी मान्छेको ज्यान जाँदा चर्चा हुन्छ,उति धेरै चर्चा हुदैन बन्यजन्तु मारिँदा । मानिस र बन्यजन्तुको द्धन्दका कारण मान्छे र बन्यजन्तुको ज्यान जाने गर्दछ । जुन अनुपातमा मान्छेको ज्यान गएको छ उही अनुपातमा बन्यजन्तुको पनि ।’ पाँच बर्ष अगाडि ०७४÷७५ मा देशभरका निकुञ्ज, आरक्षण क्षेत्र, संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रमा कुल ३२६ वन्यजन्तुले ज्यान गुमाएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांक छ । चार बर्षको अन्तरालमा यसरी ज्यान गुमाउनेको वन्यजत्नुको संख्या ७५ प्रतिशतले बढेको आँकडा छ ।
वन्यजत्नुको व्यथा,अरुलाई के थाहा ?
आर्थिक बर्ष ०७७÷७८ मुलुकभरका २० संरक्षित क्षेत्र र वरपर गरि ५७३ वन्यजन्तुले ज्यान गुमाए । सवारी दुर्घटना, चोरी सिकारी, कुकुरको आक्रमण लगायतका कारण वन्यजन्तुले ज्यान गुमाउँदै आएका छन् । यस्तै प्राकृतिक प्रकोपमा परेर ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ । ०७४÷७५ यस्तो प्रकोपबाट ५७ वन्यजन्तुको प्राणपखेरु उड्दा,सवारी दुर्घटनामा परेर १२४, चोरी शिकारीबाट २, कुकुरको टोकाइबाट ४८ र नहरमा डुबेर २७ ले ज्यान गुमाएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग अभिलेख रहेको भेटिन्छ । ७७÷७८ को तथ्यांकअनुसार मृत्यु भएकामध्ये २२५ चित्तल, ५४ बँदेल, ३४ गैंडा, १८ जरायो, १८ कृष्णसार, १७ बाँदर, १५ नाउर, ११ दुम्सीर अन्य जनावर छन् । यस्तै ०७८÷७९ मा गैंडा ३७, बाघ ११, हात्ती २, अर्ना ५, भालु २, चितुवा ११, चरी बाघ ७, बदेँल १०५, कस्तुरी मृग ३, कृष्णसार २१, चितल १०४, जरायो १३, रतुवा १४, घोरल ५, झारल ४, बाँदर ८ लगायतका बन्यजन्तु समेत गर्दा ४ सय ५८ को ज्यान गएको तथ्यांक छ । मान्छे र वन्यजन्तुको द्वन्द्व तराईकै मध्यवर्ती क्षेत्र र निकुञ्जमा बढेको अभिलेख भेटिन्छ । बर्दिया,चितवन, लाङटाङ, शिवपुरीलगायत निकुञ्जहरुमा मानववीसत बढ्दो छ । निकुञ्जबाहिर गएर हात्ती, गैंडा र चितुवाबाट मानिसमाथि आक्रमण भएको भेटिन्छ । निकुञ्जभित्र आहार कमी हुँदा हात्ती खानेकुरा खोज्दै मानवबस्ती तिर पुग्ने गरेको छ । आहाराकै खोजीमा गैंडा र चितुवा पनि गाउँतिर बस्तीमा पस्ने वालीनाली तथा मानिसमाथि आक्रमण गर्ने गरेको भेटिन्छ ।
Advertisement 3
५८ मानिसले गुमाए ज्यान
हात्ती, बाघ, गैंडा, हिउँ चितुवा, हिमाली कालो भालु, काठे भालु, बाँदर लगायतका वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु तथा घाइते गरेको भेटिन्छ । ०७८÷०७९ मा नेपालभरि वन्यजन्तुबाट ५८ जनाले ज्यान गुमाउँदा ७२ सामान्य घाइते भएका छन् भने ११६ सख्त घाइते भएका छन् । बन्यजन्तुबाट कूल १२,६७२ क्षतीका घट्ना दर्ज भएका छन् । मानव वन्यजन्तु द्वन्द्वलाई न्यूनिकरण गर्न वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ (तेस्रो संशोधन, २०७५) बमोजिम १५ करोड ५८ लाख २ हजार ४ सय ६८ रुपैँया बराबरको राहत रकम वितरण गरिएको छ । आ.व.०७८÷७९ मा २० वटा संरक्षित क्षेत्रहरुमा जम्मा ४५८ वटा वन्यजन्तुको मृत्यु भएको विवरण राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग रहेको छ । सबैभन्दा बढी वन्यजन्तुको मृत्यु चितवन राष्ट्रिय निकुञ्जमा भएको थियो भने सबैभन्दा कम खप्तड राष्ट्रिय निकुञ्ज र अपिनाम्पा संरक्षित क्षेत्रमा भएको थियो । सो आर्थिक बर्षमा अधिकाशं बंदेल (१०५ वटा), चित्तल (१०४ वटा), गैडा (३७ वटा), बाँदर (२६ वटा), कृष्णसार (२१ वटा), रतुवा (१४ वटा), जरायो (१३ वटा) ले ज्यान गुमाएका छन् ।
उद्धारमा अग्रसरता
०७८÷७९ मा चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी २२२ वटा वन्यजन्तुको उद्घार हुँदा पर्सा राष्ट्रिय निकुञ्जबाट १७२, कोशीटप्पु वन्यजन्तु आरक्षमा ९९, बर्दिया राष्ट्रिय निकुञ्जबाट १४१, र बाँके राष्ट्रिय निकुञ्जबाट ४३ वटा लगायत अन्य संरक्षित क्षेत्रद्वारा समेत गरी जम्मा ८०० को उद्धार गरिएको छ । सो आर्थिक बर्षमा अजिङ्गर ३७५ वटा, कछुवा ११६ वटा, चित्तल ८८ वटा, मगर गोही २८ वटा, अन्य सर्प प्रजाति २३ वटा, बँदेल २१ वटा, रतुवा ११ वटा गरी जम्मा ७६६ वटा वन्यजन्तुहरुको उद्घार भएका छन् ।
७३८ मान्छे पक्राउ
राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, संरक्षण क्षेत्र तथा मध्यवर्ती क्षेत्रमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र सो अन्तरगतका नियमावली विपरीत कार्य गर्नेलाई अनुसन्धान तथा तहकिकात गरि मुद्दा हेर्ने अदालत वा तोकिएको अधिकारी समक्ष पेश गरिँदै आएकोमा आ.व. २०७८÷७९ मा राष्ट्रिय निकुञ्ज÷आरक्ष÷संरक्षण क्षेत्र कार्यालयमा वन अपराध सम्बन्धी १३१ र वन्यजन्तु अपराध सम्बन्धी १२५ वटा गरी जम्मा २५६ वटा मुद्दाहरु दर्ता भएका छन् । वन तथा वन्यजन्तु सम्बन्धी अपराध कार्य गरेको कसूरमा आ.व. २०७८÷७९ मा ७३८ जना मानिस पक्राउमा परेका थिए जसमध्ये वन अपराधमा संलग्न ३५८ जना थिए भने वन्यजन्तु अपराधमा संलग्न ३८० संग्लग्न रहेका छन् । पछिल्लो समय जंगलको अतिक्रमण बढ्दो छ,वन्यजन्तुको बासस्थान घट्दो । वन्यजन्तु र मान्छेको बासस्थान ओभरल्याप हुँदा एक अर्का माथि आक्रमणको सिलसिला बढेको महानिर्देशक ढकाल बताउँछन् । यस्का अलवा आरक्षण क्षेत्रमा मानवीय गतिविधि बढ्न थालेपछि वन्यजन्तुलाई वासस्थान र खाद्यान्नको संकट पर्न थालेको छ । यस्तै कारण हो मान्छे र बन्यजन्तुबीचको द्धन्द बढ्दै गएको ।

महानिर्देशक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
खाँचो व्यापार होइन व्यवस्थापनको
यस्ता घटना निर्मुल पार्नको लागि मान्छेले आनी बानीमै परिवर्तन आउनुपर्दछ भन्छन्,महानिर्देशक ढकाल । राष्ट्रिय निकुञ्ज क्षेत्रका जंगली जनावरको आतङ्क मानवबस्तीमा धेरै देखिन्छ । सरकारले पुरै निकुञ्जमा काँडेतार लगाउन सकेको छैन् । समय समयमा सरकारले बस्ती स्थानान्तरणको योजना ल्याएको पनि हो तर स्थानीयले अटेर गर्दै आएका छन् । जङ्गल नजिकै बस्ति बढ्नु, निकुञ्ज क्षेत्रमा होटल, रेष्टुरेन्टलगायत मनोरञ्जनका क्षेत्र धेरै छन् । यसरी निकुञ्ज भ्रमणका नाममा दर्जनौँ सवारीसाधन निकुञ्जभित्र प्रवेश गर्न दिई निकुञ्जलाई व्यवस्थापन भन्दा पनि व्यापारको रूपमा सरकारले बुझ्दै आउँदा समस्या भएको उनको बुझाई छ । स्थानीयको सुरक्षा तथा वन्यजन्तुको आतङ्क रोक्न सरकारसँग प्रभावकारी योजना छैन । द्वन्द्व व्यवस्थापन गर्ने सजिलो उपाय भनेको स्थानीय आफैँ सजग हुनुपर्छ । पछिल्लो समयमा स्थानीय र वन्यजन्तुबीच द्वन्द्व बढेको छ । विशेष गरी जंगली हात्ती बस्तीमा पसेर बालीनाली खाने र मानिसमाथि नै आक्रमणका घटना भइरहेका छन् । हात्ती शारीरिक रूपमा ठूलो हुने भएकाले उसलाई खान बस्न ठूलो क्षेत्र चाहिन्छ । जहाँ खान पाइन्छ, हात्ती उतै लम्किन्छ । जनावरहरू प्राकृतिक बाटोमा हिँड्न मन पराउँछन् । त्यसैले, उनीहरूले मानव अवरोध सहन सक्दैनन्। साना जनावरलाई नियन्त्रणमा लिई राख्न सकिए पनि हात्तीलाई सकिँदैन । सबैभन्दा राम्रो मानिसको बानी ब्यहोरामै परिवर्तन आउन जरुरी छ ।
समाधानको दीर्घकालीन उपाय के त ?
जनावर र मानिसबीचका द्धन्द्धका घटनामा जनावरमाथि दोष थोपरिन्छ । वन्यजन्तुले दुःख दियो, यसलाई खोर वा चिडियाखानामा पालौं भनेर हुँदैन । तसर्थ दीर्घकालीन समाधानको खोजी गरिनु जरुरी छ । वन्यजन्तु र मानिसबीचको द्वन्द्वको समाधानको सुरुवात मानिसबाटै हुनुपर्छ । वन्यजन्तु र मानिसबीच भइरहेको द्वन्द्वको समाधानका लागि राज्यले वन र आरक्षण क्षेत्रबाट भइरहेको आम्दानी खर्चिनुपर्ने महानिर्देशक ढकालको सुझाव छ । वन पैदावार र वन्यजन्तुको चोरी शिकार तथा अवैध व्यापार, संरक्षित क्षेत्रको सिमानाभित्र र मध्यवर्ती क्षेत्रको सरकारी वन क्षेत्रमा बस्ती र जग्गा अतिक्रमण, कमजोर भौतिक संरचना र साधन स्रोतको अपर्याप्तता, कर्मचारीहरूमा व्यावसायिक कार्यकुशलताको कमी, प्राकृतिक स्रोत माथिको बढ्दो मानवीय चाप, वातावरणमैत्री पूर्वाधार विकास नहुनु, घाइते टुहुरा वन्यजन्तुको व्यवस्था गर्न स्रोत साधन, वन्यजन्तु अस्पताल र उद्धार केन्द्रको कमी, वन्यजन्तुको वासस्थान खुम्चनु, क्षयीकरण तथा संरक्षित क्षेत्र बीचमा जैविक मार्ग सहज नहुनु, सेक्टर कार्यालय, रेञ्जपोष्ट तथा पोष्टहरु पुराना र जीर्ण हुनु लगायतका समस्या छन् राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग । यस्ता समस्या सामाधान गर्न राज्य गम्भीर हुनुपर्ने देख्छन्,महानिर्देशक ढकाल ।