आफ्नो घरमा शौचालय नबनाउने सरकारी कर्मचारीलाई कारवाही
४ जना कर्मचारी घरमा शौचालय नबनाएको भन्दै कारबाहीमा परेका छन्।
Advertisement 1
कपिलवस्तुको विजयनगर गाउँपालिकामा कार्यरत ती कर्मचारी कारवाहीमा परेका हुन् । गाउँपालिका तीन वर्षअघि नै खुल्ला दिशामुक्त घोषणा भइसकेको छ । तर यसको कार्यान्वयन कर्मचारीले नै नगरेको पाएपछि पालिकाले कारवाही गरेको हो ।
विजयनगर गाउँपालिका कृषि शाखामा कार्यरत सञ्जयकुमार गुप्ता, तारा माध्यमिक विद्यालयमा कार्यरत जगनारायण गुप्ता, जनज्योति आधारभूत विद्यालयमा कार्यरत मुस्लिम मुसलमान र नाली जाम गरि सडक फोहर गरेको भन्दै वडा नम्बर ३ मा कार्यरत सहयोगी दयाराम लोनियालाई विभागीय कारबाही गर्न पत्र पठाइएको छ।
Advertisement 2
वडाले विगतदेखि सरसफाइको अभियान सञ्चालन गर्दै आएको भए पनि अटेरी गरेकोले कारबाही गरिने वडाध्यक्ष चौधरीले बताए। ‘पटक पटक आग्रह गरेको हुँ। अहिलेको समयमा शौचालय नबनाएर सरकारी कार्यालयमा काम गर्ने छुट कसैलाई छैन,’ चौधरीले भने, ‘वडाका सबै नागरिकहरूको स्वास्थ्यलाई मद्देनजर गर्दै सरसफाइ अभियान लागू गरेको छौं।’
कारवाहीको सिफारिशमा परेका कर्मचारीलाई गाउँपालिकाले स्पष्टीकरण लिने गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले बताए । सरसफाइ अभियन्ताको रूपमा हुनुपर्ने व्यक्तिले शौचालय नबनाउनु गैरजिम्मेवार रहेको थापाको भनाइ छ ।