डेंगु के हो ? यसका लक्षण र बच्ने उपाय

१. डेंगु के हो ?
Advertisement 1
अहिले नेपालमा राजधानी काठमाण्डौं उपत्यका लगायत प्रायः सबै स्थानमा व्यापक रुपमा फैलिएर महामारी जस्तैः स्वरुपको डेंगु सरुवा रोग भने हैन तर यो महामारी लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । विशेषतः अस्पतालमा भर्ना भएका सबै बिरामीलाई एकै ठाउँमा राख्दा लामखुट्टे मार्फत् डेंगु सर्ने खतरा हुन्छ । त्यसैले अस्पताल वा क्लिनिकमा बेडमा भर्ना भएका बिरामीहरुलाई झुलभित्र राखेर उपचार गर्ने गरिन्छ । घरमै उपचार गराउँदा पनि यी कुरालाई विशेष ध्यान दिनुपर्दछ ।
२. डेंगु कसरी सर्छ ?
Advertisement 2
खासगरी यो एक प्रकारको एडिज प्रजातिको लामखुट्टे डेंगुका लागि जोखिमपूर्ण हुन्छ । एडिज प्रजातिको लामखुट्टेले टोकेमा डेंगु हुने गर्दछ र डेंगु भएको मानिसलाई लामखुट्टेले टोकेर निरोगी मानिसलाई टोक्दा पनि सर्दछ । मुलतः गर्मी एवं वर्षाको समयमा यस्तो लामखुट्टे अधिकरुपमा फैलने भय हुन्छ । त्यसैले डेंगुबाट बच्ने एकमात्र रामवाण उपाय भनेको यस्ता लामखुट्टेको टोकाइबाट बच्नु नै हो । किनभने यसको टोकाइ एवं संक्रमण निकै घातक हुन सक्छ । एडिज लामखुट्टे जमेको पानीमा जन्मने र हुर्कने र आफ्नो शाखा सन्तान फैलाउने गर्छ । जस्तो कि कुवाको पानी, खाल्डा खुल्डीमा जम्मा भएको पानी, नालाको पानी, इनार, खाल्डा खुल्डीमा जमेको पानीका अतिरिक्त झाडी, बुट्यान आदि । त्यसैले घर आसपासमा फ़ोहोर, पानी जम्ने ठाउँ कदापि हुन दिनु हुँदैन ।
३. डेंगु लागेको कसरी थाहा पाउने ?
Advertisement 3
डेंगुको पहिचान गर्नका लागि यसको लक्षण भने तुरुन्तै देखिदैन । खासगरी यो तीन दिनदेखि १४ दिनसम्मको अन्तरमा देखिन्छ । यसको संक्रमण भएमा शरीरमा एकदमै चिसो अनुभव हुने र ज्वरो आउने गर्छ । तर आम ज्वरोभन्दा डेंगुको ज्वरो निकै तिब्र हुन्छ । डेंगुको संक्रमण भएको बिरामीलाई ज्यादै कमजोरी अनुभव हुन्छ साथै थकाइ पनि लाग्छ । कतिपय बिरामीहरु चक्कर लागेर बेहोस समेत हुन्छन् । खानामा जिब्रोको स्वाद बदलिन्छ । भोक कम लाग्छ । पखाला धेरै लाग्छ । टाउको तथा कम्मर दुख्छ । गम्भीर अवस्थामा आँखा, नाक आदिबाट रगत बग्न थाल्छ ।
४. डेंगुका मुख्य १० लक्षणहरु
डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्नलिखित लक्षणहरू पनि देखा पर्दछन् ।
४.१ असाध्यै टाउको दुख्ने ।
४.२ आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ।
४.३ ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने ।
४.४ शरीरमा विमिरा आउने ।
४.५ वाकवाकी लाग्ने ।
४.६ पेट दुख्ने ।
४.७ नाक वा गिजाबाट रगत बग्ने ।
४.८ रक्तश्राव हुने ।
४.९ शरीरमा रगत जमेको दागहरू देखापर्ने ।
४.१० बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छन् ।
५. डेंगु रोगवाट बच्ने उपाय
डेंगुबाट बच्नका लागि घर आसपास एवं टोल छेउछाउ पानी जम्न दिनु हुँदैन । नीमको पात बालेर त्यसको धुँवा घरमा फैलाउँदा लामखुट्टे भाग्न सक्छन् । बाथरुम वा भान्सामा पानी राखिएको भाँडा बर्तन खुला छाड्नु हुँदैन । भान्सा र वाथरुमलाई सुख्खा राख्नुपर्छ । झ्याल ढोकामा जाली लगाउनुपर्छ । शरीर पूरा ढाक्ने गरी लुगा लगाउनुपर्छ । सुतेको समयमा झुल प्रयोग गर्नुपर्छ । घर आसपासमा लामखुट्टे मार्ने औषधी छर्नु पर्छ । यसका अतिरिक्त डेंगुवाट बच्ने निम्नलिखित उपायहरू अपनाउनु पर्दछ :
५.१ डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु पर्छ ।
५.२ पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न नदिने गर्नुपर्छ ।
५.३ पानीको ट्याङ्किलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने गर्नुपर्छ ।
५.४ कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने गर्नुपर्छ ।
५.५ फुलदानिमा रहेको पानी हप्तामा दुई पटक फेर्ने गर्नुपर्छ ।
५.६ यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरिर ढाकिने लुगा लगाउनुपर्छ ।
५.७ सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटिलाई जुनसुकै समयमा पनि झुल भित्र सुताउनु बानी गर्नुपर्दछ ।
५.८ लामखुट्टेको टोकाइबाट बच्न शरीरमा लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ ।
५.९ घरका भेन्टीलेशन, खोपाका प्वाल र झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।
५.१० घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नु पर्छ ।
६. उपचार
अहिलेसम्म डेंगुको औषधी भने बनेको छैन । मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै यसको एकमात्र उपचार हो । त्यसैले माथिका लक्षणहरु देखिनासाथ अस्पताल जानुपर्छ र चिकित्सकको सम्पर्कमा रहनुपर्छ । डेंगु लागेपछि रगतमा प्लेटलेट्सको संख्या तिब्र रुपमा घट्न थाल्छ । यस्तो अवस्थामा अविलम्ब देहाय बमोजिमको उपायहरू अपनाउनु पर्दछ :
६.१ औषधीका साथसाथै खानपान र सही दिनचर्या आवश्यक हुन्छ ।
६.२ सादा भोजन लिनुपर्छ ।
६.३ धेरै नुन भएको खाने कुरा खानुहुँदैन ।
६.४ मसलेदार चटपटे खानेकुरा बन्द गर्नुपर्छ ।
६.५ अनार वा गहुँको जमराको रस पिउनुपर्छ ।
६.६ ताजा मौसमी फलफूल खानुपर्छ ।
६.७ नरिवल पानी वा सफा पानी धेरै मात्रामा पिउनुपर्छ ।
६.८ भिटामिन सी युक्त फल खानुपर्छ ।
६.९ कागती, सुन्तला, अंगुर, जामुन जस्ता चिज पर्याप्त मात्रामा खानुुपर्छ ।
६.१० मेवाको पातको रस बनाएर दिनमा दुई/तीनपटक पिउँदा त्यसले फाइदा गर्छ ।
७. उपसंहार
हिजोआज गाउँ शहर तराई पहाड र हिमाल जहाँकही डेंगुको महामारी फैलाउने लामखुट्टे वा मच्छरको विगविगी रहेको तथ्य दैनिक पत्र पत्रिकामार्फत खबरहरुमा व्याप्त रहेको छ । मौसममा आएको फ़ेरबदल वा जलवायु परिवर्तनको परिणामस्वरूप हिजोआज लामखुट्टेहरुले सबै ठाउँमा आफ्नो अनुकूलन बनाएको अवस्था रहेकोे छ । केहि बर्ष पहिला अत्यधिक गर्मी हुने तराईका भुभागमा मात्र देखिने लामखुट्टे अहिले भने पहाड र हिमाली भुभागमा पनि व्यापकता साथ फ़ैलिरहेको अवस्था छ । डेंगु के हो कसरी सर्छ ? यसका लक्षणहरु, बच्ने उपाय साथै सामान्य प्राथमिक उपचार बारे माथिका अनुच्छेदहरुमा स्पष्टत उल्लेख गरिएको छ । विशेषतः सबै लामखुट्टे वाट भने डेंगु सर्दैन किन्तु यो एक किसिमको एडिज प्रजातिको लामखुट्टे वाट सर्दछ यदि मानिसमा रोगको प्रतिरोधात्मक क्षमता कम हुने हो भने यसले अकालमा ज्यानसम्म लिन पनि सक्ने भएकाले आफ्नो घर, आँगन, बैठक कोठा, भान्सा र सुत्ने ठाउँमा जाली वा झुल “मच्छरदानी” लगाउने व्यवस्था गर्नुपर्छ । भरिसक लामखुट्टेको टोकाइबाट बच्न हरसम्भव प्रयास गर्ने यदि डेंगु भैहालेमा यसको उपचार नभएकाले माथी उल्लेख गरेबमोजिम बच्ने उपाय वा उपचार बिधि अपनाउने गर्नुपर्दछ । सानोतिनो हेलचेक्र्याई वा लापरबाहीले अधिक हैरानी दु:ख कष्ट उठाउनु वा अकालमा ज्यान जान समेत सक्छ तसर्थ रोग लागिसके पछि उपचार गर्नुभन्दा रोग लाग्न नदिने (prevention is better than cure) उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । “होशि सदा सुखी बेहोसी सदा दु:खी” भन्ने बुजुर्गहरुको भनाइलाई व्यवहारमा उतार्न सके मात्र यस्ता बिपत्ति वाट वचन सकिन्छ ।