कर्मचारीलाई दलाली गर्नबाट राेक्ने कस्ले ?

छेपारोले झैँ रङ फेर्ने, आवश्यकताअनुसार कुरा र भनाई फेर्ने भनेझैं कुनै क्षेत्रका सरकारी जागिरेलाई नसोचेको मोज छ । उनीहरुलाई परीक्षामा नाम निस्के एजेण्ट बन्ने, चुनाव जिते जनप्रतिनिधि बन्ने वा चिठ्ठा परे अमेरिका भासिने र ननिस्किए आनन्दको जागिर सुरक्षित छँदैछ ।

Advertisement 1

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नवलपरासीको देवचुली नगरपालिकाको मेयरमा आफुले प्रतिस्पर्धा गर्न लागेको भन्दै सामान्य प्रशासन मन्त्रालयमा जगेडामा थन्काइएका उपसचिव विष्णुप्रसाद भुसालले हल्ला फिँजाए । उनले सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीलाई राजीनामा पत्र बुझाइसकेको पनि बताए । तर भुसाललाई काँग्रेसले पत्याएन त्यसैले टिकट पाएनन् ।

तर उनको जागिर सुरक्षित रह्यो किनभने उनले सचिवसमक्ष राजीनामा पत्र बुझाएको भनेर दुनियाँलाई उल्लु बनाएका रहेछन् । वास्तविक रुपमा उनले सचिवसमक्ष राजीनामापत्र बुझाएकै थिएनन् ।

Advertisement 2

ठीक त्यहि प्रवृत्ति अहिले भन्सार एजेण्टको परीक्षामा समेत देखिएको छ । लामो समयदेखि एक सय ७० जना भन्सार एजेण्टको भरमा मुलुकको झण्डै २० खर्बको व्यापार जाँचपासको काम हुँदै आएको छ । त्यसैले भन्सार विभागले जनशक्ति बढाउने भनेर हालै छ सय ६० एजेन्टका लागि विज्ञापन खोल्यो । जहाँ मागभन्दा झण्डै १४ गुणा बढी अर्थात् नौ हजारभन्दा बढीले आवेदन दिए ।

यसबाट पनि भन्सार एजेण्ट पदमा रहँदा राम्रै खेलोफड्को हुने गरेको हल्लाको पुष्टि भएको बताइन्छ । तीमध्येबाट लिखित परीक्षामा सम्मिलित पाँच हजार छ सय १५ मध्ये अन्र्तवार्ताका लागि आठ सय ६० जना छानिएका छन् । उनीहरुको अन्तर्वार्ताको मिति आगामी आइतबारदेखि असार १३ गतेसम्म तोकिएको छ ।

Advertisement 3

अन्तर्वार्ताका लागि छनौट भएकामध्ये एक सय हाराहारी बहालवाला खरिदार, नासुदेखि अधिकृत तहसम्मका कर्मचारी रहेको बताइन्छ । भन्सारको कर्मचारीबाट भन्सारको दलाल (एजेण्ट) बन्नकै लागि बहालवाला कर्मचारीहरुको लर्को लाग्न थालेपछि त्यसलाई नियन्त्रण गर्न नियमावली नै परिवर्तन गर्न खोजिएको छ । अघिल्लो सातामात्र भन्सार विभागले यसोको निम्ति अर्थ मन्त्रालयसँग राय मागेकोमा अर्थहुँदै सोपत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेको छ ।तर भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्गाले भने आफूलाई यो बिषयमा केही जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

 

भन्सार एजेण्ट कतिसम्म बलिया हुन्छन् भन्ने प्रमाण उनीहरुकै कारण थप एजेण्ट नियुक्त हुनै नदिने । जुन दुई दशकसम्म नयाँ एजेन्ट नियुक्ति प्रक्रिया अघि बढ्नै नपाएकोले पनि पुष्टि गर्छ । त्यही कारण अहिले १७० जना एजेण्टको भरमा वार्षिक २० खर्ब रुपैयाँ हाराहारीको आयात÷निर्यातको काम हुँदै आएको छ ।

सोही संख्या बढाउन खोज्दा २०६९ सालदेखि नै भन्सार एजेन्टहरुले भाँड्दै आएको अहिलेका परीक्षार्थीहरुको आरोप छ । कारण अहिलेको हाम्रो आयातरनिर्यात अनुसार, एक जना भन्सार एजेण्टको भागमा झण्डै नौ अर्बको व्यापार पर्दछ । त्यसमा अरु एजेण्ट थपिँदा व्यापारको हिस्सा खोसिने भएकाले उनीहरुले लबिङमा त्यसो गरेका हुन् । सोही कारण भन्सार एजेण्टकै जोडबलमा हालसम्म परीक्षा रोकिँदै आए पनि अब छिट्टै छ सय ६० जना एजेण्ट थपिँदैछन् ।

भन्सार ऐन २०६४ ले कुनै आयातरनिर्यात हुने मालवस्तु भन्सार कार्यालयबाट वा भन्सार कार्यालयसँग सम्बन्धित कामका लागि सम्बन्धित आयात÷निर्यातकर्ताको प्रतिनिधि राख्ने व्यवस्था गरेको छ । एजेन्टले सामान आयात तथा निर्यात गर्दा एउटा सवारी साधनको काम गरेवापत कम्तिमा दुई हजारदेखि २० हजार रुपैयाँसम्म कमिसन लिने गर्छन् । यसका अतिरिक्त कमाइ भनेको सवारी साधनमा आयात तथा निर्यात भइरहेको वस्तुको परिमाण घोषणा गर्दा धेरै सामानलाई कम देखाएर कुस्त आर्जन गर्न सकिने गतिलो माध्यम त्यहिँभित्र छ ।त्यस्तो कुस्त आर्जन सरकारी जागिरबाट नहुने हुँदा कार्यालय सहयोगीदेखि अधिकृत तहसम्मका बहालवाला कर्मचारी नै एजेण्टका लागि मरिहत्ते गरिरहेका अर्थका अधिकारीहरु सुनाउँछन् । तर यसरी हाकाहाकी दलाल बन्नका लागि सरकारी कर्मचारीले आवेदन दिनुलाई सुशासनका जानकारहरु सिधै ‘डकैत’ को संज्ञा दिन्छन् ।

उनीहरुका अनुसार कुनै कर्मचारीले डिभी भरेको चाल पाएमा जसरी उ विरुद्ध प्रशासनिक ‘एक्सन’ लिइन्छ ठीक उही ढंगले भन्सार एजेण्ट बन्नका लागि कोही बहालवाला कर्मचारीले फर्म भर्दछ भने उमाथि पनि कारवाही हुनुपर्ने पूर्व प्रशासकहरु बताउँछन् ।

‘कोही बहालवाला कर्मचारीले म अब दलालको काम गर्दछु भन्छ भने सबैभन्दा पहिले उसले जागिर छाड्नु पर्ने कि नपर्ने ? होइन भने सरकारी जागिर खाँदै भन्सारको एजेण्ट पनि गर्न पाइने हो ? जसरी अहिले अधिकांश सरकारी कर्मचारी कार्यालय समयमा पनि शेयर कारोबार गरेर बसिरहेका हुन्छन् ,’ एक जना प्रशासकले भने ।

सरकारी कर्मचारीले कार्यालय समयमा जनता वा सेवाग्राहीको काम गर्ने हो वा यस्तै शेयर दलाली, भन्सार एजेण्ट गर्ने हो ? सरकारी सेवामा यस्तै एजेण्टहरुको बिगबिगी हुँदै जाने हो भने निजामती सेवा कहाँ पुग्ला ? विगतका एकाध एक्सनवाला मन्त्रीझै अहिले कोही पनि देखिएका छैनन् । अर्थ मन्त्रालयकै एक जना सहसचिवले भने, ‘यस्ता गलत प्रवृत्तिमा लगाम लगाउने कसले ? हेर्नुपर्ने निकाय सामान्य प्रशासन मन्त्रालयका मन्त्री र सचिवले यस्तो प्रवृत्तिमा आँखा चिम्लेपछि कर्मचारीलाई दलाली गर्नबाट रोक्ने कसले, अनि छेक्ने कसले ?’

प्रकाशित :२०७९ असार ३, शुक्रबार ११:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry