अधिकृतको जागिर छाडियो,चुनाव हारियो तर मैदान छाडिन्न

लोकराज रुम्दाली
Advertisement 1
विगत र भविष्यको साँघु हो वर्तमान । दुईटैको लेखाजोखा गरी वर्तमानको पाइला चाल्ने हो । यही पाइला चालिरहेका मलाई चिन्ता छ विगतभन्दा बढी भविष्यको । आफ्नोभन्दा बढी जिल्लाबासीको ।म मुहार फेर्न चाहन्छु मुलुकको । हिजो बन्दुकको नाल बोकेर मुलुक परिवर्तनका लागि लडियो आज जनप्रतिनिधि बनेर परिवर्तनकै लागि लड्न खोजियो । जुन समयको आवश्यकता पनि थियो ।
जनयुद्धदेखि सरकारी अफिसर हुँदासम्म थुप्रै चुनौतीका घुम्ती र पहाडसँग सिंघौरी खेलियो । हार खाइएनन् । देश र जनताको सेवामा तल्लीन भएर खटिरहे । २०४२ साल असोज १९ गते खोटाङको बतासे गाविस–१, दिनुवामा (साविक दिप्लुङ गाउँपालिका) मा जन्मिए । श्री जनता मा.वि. भण्डारी डाँडा, बतासेबाट माध्यमिक एसएलसी (हाल एसईई) छिचोलें । उच्च र स्नातक तहसम्मको अध्ययन सदरमुकाम दिक्तेल पार लगाइयो । अध्ययनसँगै राजनीतिक करिअर पनि अगाडि बढाइरहेकै थिए । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्ष चलाए । २०६१ मा स्ववियुको सचिवमा नियुक्त भए र २०६३ मा सभापति चलाइयो । राजनीतिक पाटो एकातिर थियो तर,मेरा रुची थिए अनेकन् । २०५९ देखि पत्रकारिता लेखनमा होमिए । थुप्रै पत्रिकामा कलम चलाए । ‘भावना’ साप्ताहिक, ‘जनविचार’ साप्ताहिक, रुपाकोट एफएम, ‘सप्तकोशी’ एफएम, ‘राजधानी’ दैनिक पत्रिका र एफएममा काम गर्दा थप परिचय र पहिचान बदलियो । र, २०६५ सालबाट टाढिए पत्रकारिताबाट । तर एकखालको नशा रहेछ लेखन पनि । मेरा लागि पत्रकारिता सोख थियो, साहित्य र संगीत भोक थियो ।
Advertisement 2
सानैदेखि कथा, कविता, गीत र गजल कोर्थे । त्यसो त खोटाङ भन्नेवित्तिकै साहित्य र संगीतको उर्वर भूमीकै रुपमा चिनिन्छ । २०६१ कलेज पढ्दा सहपाठी विजय राई ‘विरही’ सँग मिलेर कविता संग्रह निकाले । २०६३ मा सिक्किमका पूर्वमुख्यमन्त्री, संगीतकार तथा गीतकार पवन चाम्लिङसँग मिलेर गीत रेकर्डिङ गरियो । २०६८ मा साथी नरेन्द्र निर्भिकारसँग मिलेर गीति एल्बम निकालियो । जसमा ‘राइ इज किङ’ राजेशपायल राई, पवन चाम्लिङ, शिशिर योगी, मनिषा पाखरेल र विजय राइले स्वर भरिदिए । साहित्य र संगीतमा लागेर बाँच्न कहाँ सक्नु ? त्यसमाथि परिवारको कान्छो छोरो बुवा आमा पाल्ने अभिभारा आफ्नै काँधमा थियो ! सोचे– ‘जागिर नखाइ भएन ।’ २०६८ सालमा विवाह बन्धनमा बाधिएसँगै लोक सेवा आयोगको तयारीमा लागें । भाग्यले साथ दियो भनौं वा मेहनतले काम ग¥र्यो । पहिलो पटकको प्रयासमै लोक सेवामा नाम निस्कियो र, २०६९ चैत १ देखि लेखा अधिकृत भए । जागिरकै शिलशिलामा पोष्टिङ हुँदै संघीय राजधानी केन्द्र (बबरमहल, काठमाडौं) पुगे । जागिरमा रहँदा पनि कर्मचारीको हकहितका लागि लडिरहे निरन्तर । मेरो सक्रियता देखेरै होला आयल निगममा माओवादीबाट ट्रेड युनियनको अध्यक्ष बनेर काम गरे । सरकारी जागिरमै रहँदा उपन्यास पनि लेखियो – भेटिएको डायरी । जहाँ जनयुद्धमा भोगेका कहालीलाग्दा दृश्यहरुलाई शब्दमा उतारिएको छ । ०६९ चैत्र १ गते इन्धन डिपो धनुषाबाट जागिर सुरु गरेका थिए । सरकारी जागिरमा रहँदा पनि गाउँको सेवामा सदैव सरिक रहे । गाउँ, जिल्ला गइरहन्थे । विश्व समाज चन्द्रमामा पुगिरहेका बेला गाउँको आम जनजीवनबाटै परिवर्तनको खोलो बगाउनुपर्छ भनिठान्थें ।
Advertisement 3
०६९ सालमा खुला प्रतिस्पर्धाबाट शाखा अधिकृत बनेर ९ बर्ष ८ महिना १ दिन सरकारी सेवामा रहेर काम गरियो । जागिरे जीवन सुरु गरेसँगै पेशागत सङ्गठनमा आबद्ध भएको थिए । नेपाल आयल निगम राष्ट्रिय कर्मचारी सङ्गठन ट्रेड युनियनको केन्द्रीय अध्यक्षसमेत सम्हालेर केही समय काम गरे भने माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशको सदस्यको रुपमा कार्यरत रहें । ३० वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा होमिनुभन्दा अघि वा उम्मेद्धार बन्नुअघि धेरैपटक सोचे– ‘उम्मेदवार बनौँ कि नबनौँ ?’ अन्तिममा फैसला गरे– ‘जहाँ गए पनि जनताकै सेवा गर्ने हो, उठ्छु ।’ नभन्दै पार्टीले पनि मेरो क्षमता, योगदान र ऊर्जा देखेर सहजै टिकट दियो । निगममा ९ वर्ष १ महिना ८ दिन काम गरेर २०७९ बैशाख ९ गते राजीनामा दिए र होमिए चुनावी प्रचार प्रसारमा । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि पहिलो पटक २०७४ मा भएको स्थानीय तहको निर्वाचनले त्यस्तो कुनै मुहार फेर्ने चेष्टा गरेन । व्यवस्था फेरियो तर, व्यवस्थापन हुँदै भएन । स्थानीय निर्वाचनको ५ वर्षे अवधिलाई समीक्षा गर्दा कुनै खासै जनताको जीवन फेर्ने परिवर्तन भएको देखिएन र त मैले अठोट लिएको थिँए अब सही भिजन भएको नेतृत्वको खाँचो छ । नत्र सधैँ पछुताउनुभन्दा अरु हुनेवाला केही छैन ।
त्यसैले मनमा ढृढ अठोठ लिए मुलुक परिवर्तनका लागि खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएको थिए । भलै परिणाम मेरो पक्षमा आएन, २ हजार ९३ मत प्राप्त गरेर तेश्रो बनें । मेरो पालिकाबाट नेपाल कम्युनिष्ट पार्टी एमालेका लोकेन्द्र राईले २ हजार ८०३ मत प्राप्त गरी विजयी भएका छन् भने नेपाली काँग्रेसका उम्मेद्धार नइन्द्र राई २१६२ मत प्राप्त गरेर उपविजेता बनेका छन् ।
गरिबी र अभावले जागिरे भएँ, जागिरबाट व्यक्तिमात्रै धनी, समाज भोकै हुँदा रहेछन्, समाज भोको हुँदा म एकजना व्यक्तिमात्र धनी हुन सक्दिनँ र चाहिन पनि । समाज परिवर्तन गर्ने मुख्य बाटोनै राजनीति भएकाले सरकारी जागिर छाडेर गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएको थिए । फुत्तै आएर फुत्तै अस्ताउनु छैन मलाई । किनकी खसेको कुल मत ७१५७ मध्ये मैले पाएको पालिका भरिको २०९३ मतदाताको सरक्षण मात्र होइन । यी मतादाता तथा कार्यकर्ताका रक्षाका निम्ति म उहाँहरुकै घर र दैलोमा रहिरहनेछु । कार्यकर्ता भनेको एउटा बलिरहेको मैनबत्ती रहेछ,जो आफू जलेर पनि सदैव अरुलाई उज्यालो दिइरहन्छ ।
मेरो पालिकामा माओवादीको नाम सुनेका तर गोपालचन्द्र राईका नाम नसुनेका थुप्रै मतदाताहरु थिए । त्यही कारण मेरो पराजयलाई स्वभाविक रुपमा लिएको छु मैले । गोपालचन्द्र राईलाई चिन्नेले पनि माओवादी केन्द्र नचिन्दा सायद संगठन कमजोर रहेछ कि भन्ने मेरो बुझाई रहेको छ । कार्यकर्ता भनेको एउटा बलिरहेको मैनबत्ती रहेछ,जो आफू जलेर पनि सदैव अरुलाई उज्यालो दिइरहन्छ । यस्ता कार्यकर्ताको रक्षाको निम्ति मतदाताहरुकै घर र दैलोमा रहिरहनेछु । भोट नदिने तर यत्तिको बिद्वानले जित्नु पर्छ भन्ने सोच बोकेका दिप्रुङ्बासी महानुभाबहरुको बिश्वास जित्न पनि मैले सकारात्मक तथा रचनात्मक काम गर्नै पर्छ । एउटा अधिकृत स्तरको जागिर खादै ट्रेड युनियनमा काम गरेको सामान्य ठिटोलाई मुलुक परिवर्तन गर्ने गौरवशाली पार्टी माओबादी केन्द्रको तर्फबाट टिकट दिनु नै आफ्नो ठूलो उपलव्धी मानेको छु मैले ।
यस पटकको स्थानीय तहको निर्वाचनमा कम्युटर अपरेटर बाट राजीनामा दिनुभएकी समिता श्रेष्ठले काठमाडौंको शंकरापुर नगरपालिकाको उपमेयरमा निर्वाचित हुनुभयो । अधिकृतबाट राजीनामा दिएर वनेपा नगरपालिकाबाट मेयरमा स्वतन्त्र उम्मेद्धारी दिनुभएका कञ्चनराज गिरी १५८ मत ल्याएर पराजीत हुनुभयो । उहाँले फेरि अधिकृतमै नाम निकालिसक्नुभएछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव विष्णुप्रसाद भुषालले राजीनामा दिनुभएको हल्ला चल्यो । उहाँ नवलपुरको देवचुली नगरपालिकाबाट मेयरमा लड्ने बताउनुभएको थियो तर काँग्रेसले नपत्याएका कारण उहाँ जागिरमै फर्कनुभयो । उहाँले राजीनामा दिनुभएको भनिए पनि सचिव सुरेश अधिकारीसमक्ष राजीनामाको पत्रै पुगेको थिएन ।
अर्का उपसचिव डोलराज पाण्डे पनि जागिरबाट स्वेच्छिक अवकाश लिएर पालिकामा लड्न लाग्नुभएको हल्ला चल्यो तर पार्टीले पत्याएन । पार्टीले पत्याएर टिकट पाए उम्मेद्धार नपाए जागिर भनेर लागेका पनि पनि देखियो कतिपय साथीहरुमा । तर म स्थायी जागिर छोडेर राजनीतिमा होमिएको हुँ । यसरी अधिकृतको जागिर छाडेर राजनीतिमा मोडिँदा कतिपयले अनेकन कुरा काँटे तर मैले सुनिन् दुनिँयाको कुरा,सुने त केवल आफ्नै अन्तरमनको आवाज । हिड्ने मान्छे नै लड्ने हो । नहिड्ने मान्छे कहाँ लड्छ र ? अहिले पराजीत भइयो त के भयो ? निर्वाचनमा लडे पछि जीत हार स्वभाकिब हुन्छ । हामी हारेर के भयो ? हाम्रो एजेण्डा किमार्थ हारेको छैन । हामी हाम्रो एजेण्डालाई सदैव जनताका माझमा लइरहन्छौं । अर्काे स्थानीय तहका निर्वाचनका लागि विजय हुनेगरी आफुनै गाउँ ठाउँमा काम गर्नुछ । हामी चाहन्छौं दुनिँया बदलियोस तर होइन संसार बदल्न त शुरुवात आफैंबाट गर्नुपर्दछ । पहिला आफू बदलिए पो बदल्न सकिन्छ दुनिँया ।