सूचना हकलाई खेलाँची ठान्दा :- तीन बैंकका सीइओ कारवाहीमा
तीन वटा चर्चित बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)माथि कारवाहीको डण्डा बर्सिएको छ ।
सूचनाको हक अनुसार नागरिकलाई प्रदान गर्नुपर्ने सूचना प्रदान नगरेको भन्दै तीन बैंकको सीइओउपर राष्ट्रिय सूचना आयोगले कारवाही गरेको हो ।
जुम्लाका नागरिक अंगराज भारतीले ती बैंकहरुसँग सार्वजनिक महत्वको सूचना माग गरेका थिए ।
उनले माग गरे अनुसारको सूचना नदिएको भन्दै उनी ती बैंकहरुविरुद्ध सूचना आयोगमा पुगी निवेदन दर्ज गराएका थिए ।
उनको निवेदनको आधारमा सूचना आयोगले ती बैंकलाई अंगराज भारतीले माग गरे बमोजिम सूचना दिन पत्राचार गरेको थियो ।
तर सूचना आयोगको पत्राचारलाई समेत वेवस्ता गर्दै सूचना दिन आनाकानी गरेपछि सूचना आयोगले प्राइम, लक्ष्मी र बैंक अफ काडमाण्डुका सीइओलाई कारवाही गरेको हो ।
निवेदक भारतीको निवेदनको सुनुवाई गर्दै प्रमुख सूचना आयुक्त महेन्द्र मान गुरुङ्ग, सूचना आयुक्त कमला ओली थापा र सूचना आयुक्त रत्नप्रसाद मैनालीको गत २५ मंसिर र ३ पुस ३ मा संयुक्त इजलासले प्राइम बैंकका सीइओ नारायणदास मानन्धर,बैंक अफ काठमाडौंको सीइओ शोधनदेव पन्त र लक्ष्मी बैंकको सीइओ अजयविक्रम शाहलाई कारवाही गर्दै जनही दश दश हजारका दरले जरिवाना गरेको हो ।
आयोगले कारवाहीमा परेका सीइओहरुबाट उल्लेख गरिएको जरिवाना रकम असुल गरी आयोगलाई जानकारी दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्राचार गरेको छ ।
सूचना आयोगका अनुसार,आयोगले सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३२ को उपदफा १ बमोजिम जनही दश हजार रुपैंयाँका दरले जरिवाना तिर्नु पर्ने ठहर गरेको हो ।
आयोगले निवेदकले मागेको सूचना उपलब्ध गराई दिन नेपाल राष्ट्र बैंकलाई पनि समेत आदेश दिएको छ । आदेशमा भनिएको छ ‘बैंकसँग भएको सूचना पुनरावेदकलाई उपलब्ध गराइ दिन र यस आयोगलाई समेत जानकारी दिन नेपाल राष्ट्र बैंकलाई लेखी पठाउनु’ आदेशमा भनिएको छ।
Advertisement 1
यदि सूचना नदिएमा सूचना दिनमा जति दिन ढिलाई भएको हो , त्यति दिन नै प्रति दिन २ सयको दरले कारवाही हुने चेतावनी दिएको छ ।