जासुसको नयाँ हाकिम बन्न अहिलेदेखि दौडधुप

एमसीसीले मुलुक गर्माइरहेको बेला गुप्तचरी निकाय (राष्ट्रिय अनुसन्धान विभाग) प्रमुख यदुलाल खरेल सुटुक्क दिल्ली पुगेर फर्किनु र उताबाट आएका ‘रअ’ का ४ जनामध्ये २ जना मिसन पूरा गरेर शनिवार बैंककतिर उड्नु सँगसँगै जसो भएको छ ।

Advertisement 1

२ महिनाअघि जासुस प्रमुखमा नियुक्त भएका खरेल सूचना संकलन हेर्ने एसएसपी नवीन अधिकारीसँगै तीन दिन दिल्लीमा बिताएर फर्किएका हुन् । अघिल्लो आइतबार उता गएका उनी बुधबार स्वदेश फर्किएको स्रोतले जनाएको छ । खरेलले अबको सात महिना जासुसी निकाय सञ्चालन गरी भदौमा उमेर हद लागेर घर फर्किनेछन् ।

अहिले त्यहाँको प्रशासन हेर्ने एआइजी यादव रेग्मी वैशाखमा घर फर्किने भएका कारण टेकेन्द्र कार्की, सुमन वैद्य, ओम जोशी, हुतराज थापा, कुलदेव थापाबीच प्रतिस्पर्धा हुने देखिँदै छ ।

Advertisement 2

जासुसी संयन्त्र सीधै प्रधानमन्त्री कार्यालयमातहत हुँदा सुदूरपश्चिमको नातासहित ओम जोशी दौडमा अगाडि देखिएका छन् । नेपाली काँग्रेसनिकट भनेर चिनिएका टेकेन्द्र कार्कीलाई कर्णाली प्रदेशका कांग्रेस सभापति ललितजंग शाही र केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काको साथ रहेको बताइन्छ । नाताले कार्की ललितजंगका फुपूको छोरा हुन् ।

सुमन वैद्य काठमाडौंकै रैथाने नेवार, त्यो समुदायबाट अहिलेसम्म कोही पनि जासुसी संयन्त्रको प्रमुख बनेको रेकर्ड छैन भन्दै प्रकाशमान सिंहको दैलो धाइरहेका छन् । माओवादी निकट भनेर हुतराज थापा चिनिन्छन् भने कुलदेव उमेर हद लागेर असारमा घर फर्कनेछन् ।

Advertisement 3

यिनीहरूमध्ये वैशाखमा जो अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा हुन्छ उसैले भदौदेखि गुप्तचर विभाग चलाउने अवसर पाउँछ भनिन्छ । विभागसँगै अहिले देशभित्र र बाहिर गरी २३ सय कर्मचारी छन् ।

उता, अघिल्लो आइतबार भैरहवा नाका हुँदै काठमाडौं छिरेका ‘रअ’ को दोस्रो वरियताका हाकिम चन्दर शर्मासहित चार जनाको टोली एक साता नेपालमा बिताएर अस्ति शनिवार फर्किएको छ ।

नेपालमा रहँदा उनीहरूले सबै जसो दलका शीर्षनेता, व्यापारी र ३ जना पत्रकारलाई भेटेको र नेपाल एयरलायन्सको जहाजबाट दुई जनाचाहिँ बैंककतिर लागेको बताइन्छ ।

प्रकाशित :२०७८ फाल्गुन २१, शनिबार १८:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry