“जीवनको अन्तिम लक्ष्य गुमेको राजतन्त्र र हिन्दूराष्ट्र फिर्ता गर्ने हो”
नेपालमा एक सय चार वर्ष शासन सम्हालेको राणा खान्दानका औंलामा गन्न सकिने सन्तान मात्र सक्रिय राजनीतिमा होमिएका छन्, तिनैमध्येका हुन् धवलसमशेर राणा । देशैभरका स्थानीय तहमा नील हुनबाट उनैले राप्रपाको नाक जोगाइदिएपछि नेपाली राजनीतिमा धवल ब्राण्ड जबर्जस्त स्थापित भएको छ । राप्रपाको युवक संघ हुँदै राजनीतिमा प्रवेश गरेका उनलाई बीचमा पार्टीले निश्कासन ग¥यो र एमाले प्रवेश गरी ०५४ मा मेयर मात्र भएनन्, नेपालगञ्जको मुहारसमेत बदले । २०६१ सालमा पुरानै घर फर्किए र २ कार्यकाल बाँके जिल्ला अध्यक्ष, २ कार्यकाल केन्द्रीय उपाध्यक्ष र २ कार्यकाल केन्द्रीय महामन्त्रीको भूमिका निर्वाह गरे । उनी यस्ता मेयर हुन्, जसले तलबभत्ता लिन्नन् । भन्छन्– होटल बाटिका, बर्दियाको एडभेञ्चर रिसोर्ट र मोडर्न पब्लिक स्कुल तथा नेपालकै पहिलो कृषि इञ्जिनियर पिताले स्थापना गरेको फार्मबाटै आफूलाई चाहिनेजति पैसा कमाइरहेकै छु ।
० राजावादीको यो गतिविधि कतिसम्म अगाडि बढ्ला ?
– हाम्रो चाहना अनिवार्य हिन्दूराष्ट्र र राजसंस्था चाहिन्छ भन्ने हो । सरकारको अकर्मण्यता, निजी स्वार्थमा लिप्त, भ्रष्टाचारले चरम सीमा नाघेपछि र प्रमुख प्रतिपक्षी आफ्नै समस्यामा रुमल्लिरहेको देखेपछि आजित भएर ८ सय राजारानीभन्दा एउटै राजा ठीक थियो भन्नेमा पुगिएको हो । १७ जना मान्छे मर्नेबित्तिकै राजाले गद्धी त्यागे । उसले के बिगारेको थियो र ? भन्नेमा जनता पुग्दैछन् । जतिखेर मुलुक धर्मनिरपेक्ष बन्यो, त्यो माओवादी रवाफको बेला थियो । तिनको खिलाफमा बोले मारिहाल्लान् कि भन्ने डर थियो । अहिलेको व्यवस्था नेपालको लागि राम्रो भएन । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता चलेन । यसले नेपालको प्रगति भएन भन्ने कुरा नेपाली जनताले बल्ल महसुस गर्दैछन् । हामीले उग्र भएर होइन, शान्तिपूर्ण आन्दोलन गरेर प्रजातान्त्रिक प्रणालीबाटै यो व्यवस्थालाई परिवर्तन गर्छौं ।
० तपाईंहरूको गतिविधिसँगै नेपाली कांग्रेसले पनि देशव्यापी आन्दोलन चलायो । कतिपयको आरोप छ– देशमा अस्थिरता चाहने, विदेशीले उचालेका कारण यो आन्दोलन चलिरहेछ । वास्तविकता के हो ?
– को विदेशीले हामीलाई उचाल्लान् ? विदेशीले त पाए बरु थचार्लान् । हिन्दूराज्यको विषयमा विश्वका हिन्दूहरूको पनि सफ्ट कर्नर अझै होला । भारतमा मोदी सरकारको सफ्ट कर्नर हुनुपर्ने हो तर यथार्थमा विपरीत भइरहेको छ । एक मात्र हिन्दूराष्ट्रको बारेमा अहिले बिजेपी चुप लागेर बसिरहेको छ । उता पश्चिमा राष्ट्रहरूकै जोडबलमा नेपाललाई धर्मनिरपेक्ष बनाइएको हो । उनीहरू यो आन्दोलनसँग के खुशी हुने ?
० यो मुभमेन्ट चलाउनका लागि पैसाको जरुरत पर्छ नै, जोहो कसरी गर्नुहुन्छ ?
– यो आन्दोलनको नाइके म होइन । देशभर आन्दोलन भइरहेको छ भने देशकै एक मात्र राप्रपाले जितेको नगरमा खाली राख्दा खल्लो होला भनेर गरेको हो । नेपालगञ्जमा राप्रपा, शिवसेना र राजावादीहरू को–को छन् ? आन्दोलनमा आऊ भनेर तीन वटा मिटिङ ग¥यौं । दशौं हजार मान्छे आए । हामीले झण्डाबाहेक केही पनि दिएका छैनौं । म त्यहाँको मेयर, एक रुपैयाँ कसैलाई दिएको छैन । अहिलेलाई कुनै फण्डिङ छैन ।
० राजसंस्था आर्यघाटमा लगेर अस्ताइसकिएको हुँदा अब ब्युँतेर किमार्थ आउनै सक्दैन भनी ठोकुवा गर्नेहरू प्रशस्त छन् । तिनलाई के भन्नुहुन्छ ?
– हामीभन्दा धेरै विकसित मुलुकमा समेत राजसंस्था गएर पनि फर्किएको छ । जनताले खोज्यो भने व्यवस्था परिवर्तन हुन्छ । जनताले चाहेन भने केही हुन्न । कुरा ब्यालेटमै गएर ठोक्किने हो । पहिले २५ सिट दिए । हाम्रो क्रियाकलाप जनतालाई ठीक लागेन, एक सिटमा झारिदिए । फेरि हामी जनतामाझ दुई तिहाइ मत दिनुहोस्, राजसंस्था र हिन्दूराष्ट्र फर्काउँछौं भन्ने एजेण्डा लिएर जान्छौं । जनताले पत्याएर मत दिए भने फर्काएर देखाउँछौं पनि । तर, पत्याएनन् भने त के लाग्छ र !
० यो निर्वाचन प्रणाली नै सही छैन भन्न खोज्नुभा हो ?
– दुई÷चार ठाउँमा बदमासी गर्लान् । २० हजार मत फर्जी आउला । तर, मास मेन्टालिटी बन्छ । त्यसविरुद्ध धाँधलीको पनि केही चल्दैन । एक समय थियो कांग्रेसले लठ्ठी उचाले पनि जित्ने । गत निर्वाचनमा एमाले–माओवादी मिल्दा सबैलाई लाग्यो– गयो अब । निले कम्युनिष्टहरूले । जनता त्यसरी जागेपछि कसैको केही लाग्दैन ।
० नेपालगञ्जबाट राजधानी आउनुभएको छ । बिहेबारीको सिलसिलामा मात्र हो वा राजासँग भेटघाट पनि ?
– यो विषयमा बोल्न चाहन्न । हामीले मान्ने संस्था हो । हाम्रो इच्छा, आस्था बोकेको । उहाँले चाहेको खण्डमा भेटिन्छ । नचाहे भेटिन्न । पार्टीका साथी, कार्यकर्तासँग भेट त पक्कै हुन्छ ।
० २० वर्षअघि एमालेबाट मेयर बन्नुभयो । अहिले त्यही ठाउँमा राप्रपाबाट मेयर हुनुहुन्छ । दुईथरी भएर काम गर्दा के–कस्ता अप्ठ्यारा छन् ?
– मेरो राजनीतिक करियर राप्रपाको युवक संगठनबाट भएको हो । ईष्र्या गरेर पार्टीबाट निकालेपछि एमालेमा गएको । १३ वर्ष त्यहाँ रहँदा राम्रै गरियो । सबै चिज बनाइयो । मैले छोड्दा विध्वंश मच्चाएर, पार्टीलाई घाटा गराएर छाडेको होइन । अहिले एमालेका नेताहरूसँग राम्रै सम्बन्ध छ । आफ्नो आस्था, मन, विश्वास त राप्रपाबाटै शुरु भएको, यहीं आइयो । अहिले राम्रै छ । इमान्दार भएर काम गरे दुःख पाइन्न । राप्रपाले देशको एक मात्र मेयर र २३ वटा वडामध्ये ३ वटा मात्र जितेको छ । सबै पार्टीका बराबर छौं । उपमेयर कांग्रेसको । सबै मिलेर यति राम्रोसँग चलाएका छौं कि अब गर्ने विकासको काम नै बाँकी छैन । अबको मेयरलाई खोज्नुपर्छ काम । आउने एक वर्ष सौन्दर्यकरण मात्र गर्ने हो ।
० उसोभए, जनताले पार्टी होइन व्यक्तिलाई हेर्दा रहेछन् ?
– देशैभरमा एक जना मात्र मैले जितें त के भनौं ? यसले पहिला पनि हाम्रो नगरपालिका बनाइदिएको हो, अहिले पनि बनाइदिन्छ, घुस खाँदैन भनेर भोट हालेका हुन् । विपक्षीले सात करोड हाराहारी खर्च गरे । एउटै वडामा साथीहरूले ७० लाखसम्म खर्च गरेका छन् । मैले मागेर २१ लाख खर्च गरेको हुँ । खर्च नगरेपछि उठाउन पनि परेन । लामो हात गर्नै परेन । चुनावमा दुई÷चार करोड खर्चिएको भए त घोचिरहन्थ्यो ।
० तलब–भत्तासमेत नलिई काम गरिरहनुभएको छ । कसरी चल्छ घरपरिवार ?
– राजनीतिभन्दा पहिला बिजनेस गर्थें । अहिले पनि एउटा स्कुल, होटल, रिसोर्ट, फार्म छ । सबै अरुले चलाइरहेका छन् । फार्ममा १० हजारबढी आँपका बिरुवा छन् । त्यहाँबाट आउने पैसाले जीवन चल्छ । मैले भ्रष्टाचार गर्नुपर्ने कारण छैन र गर्दिनँ पनि । अरूभन्दा भिन्नै भएर केही काम गरी देखाउँछुु भनेरै राजनीतिमा लागेको हो ।
० राणा खलकले १०४ वर्ष राजकाज चलाए । तपाई त्यही खानदानको प्रतिनिधित्व गर्ने व्यक्ति । राजनीतिक यात्रा अब कसरी अघि बढ्छ ? कहाँसम्म जान्छ ?
– अब प्रतिनिधि सभामा लड्ने हो । जीवनको अन्तिम लक्ष्य गुमेको हिन्दूराष्ट्र फिर्ता गर्ने हो ।
० तपाईंलाई राप्रपा एकीकरणको ग्लु पनि भनिन्छ । यो एकीकरण कति अघिसम्म जाला ?
– आदरणीय नेताहरूले गीता छोएरै कसम खानुभएको छ हामी फुट्दैनौं भनेर । कथं पार्टी फोडेर हिँडे पनि कार्यकर्ता पछि लाग्नेवाला छैनन् । सक्रिय सदस्यमार्फत हरेक तहमा निर्वाचन गरेर पार्टीका पदाधिकारी चयन गर्ने भनेका छौं ।
० नेतृत्व सच्चिने सम्भावना कत्तिको छ ?
– हण्डर खाइसकें । अब योभन्दा कति खाने ? गीता छोएर कसम खाइसकें ।
० लामो समयले नेपालको नेतृत्व सूर्यबहादुर थापा, पशुपति समशेर राणा, लोकेन्द्रबहादुर चन्दलगायत सम्हाले । अघिल्लो निर्वाचनमा प्रतिनिधिसभामा राजेन्द्र लिङ्देन र स्थानीय तहमा तपाईंले राप्रपाको नाक जोगाइदिनुपर्ने स्थिति आयो । यस्तो अवस्थामा किन पुग्यो ?
– नेताहरूको कमजोरी । जनताको भावना र आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि नउठेरै हो । जनताले त हामीलाई एक पटक २४ सिट दिएर तेस्रो पार्टी बनाएकै हुन् । सही बाटोमा हिँडेको र नेतृत्वले मेरो सुझाव मानेको भए हामी देशको ठूलो पार्टी हुन्थ्यौं । ७५३ स्थानीय तहमध्ये दुई वटा गाउँपालिका, एक वटा मेयर जित्यौं । त्यो त जनताले दण्डित गरेका हुन् ।
० के थियो तपाईंको सुझाव ? जुन नेतृत्वले सुनेन ।
– सरकार र पटक–पटक पदमा जान नहुने थियो । यो संविधान जसले हामीलाई विस्थापित ग¥यो त्यसमा दस्तखत गर्न हुन्नथ्यो । यो संविधानलाई संसारकै उत्कृष्ट भन्न हुन्नथ्यो । जनताले हरेक कुरा हेरिरहेका थिए । परिणाम निर्वाचनमा देखाइहाले । हामी सबैले यो कुरा बुझेर जनतासँग क्षमायाचना गर्नुपरेको छ । हाम्रो मुद्दा प्रष्ट छ, राजासहितको प्रजातन्त्र र सनातन, धर्मसापेक्ष हिन्दूराष्ट्र ।
० जीवनको झण्डै १३ वर्ष व्यतित गरेको कम्युनिष्ट पार्टी अहिले कस्तो पाउनुहुन्छ ?
– क्षतिग्रस्त । छताछुल्ल छ । माओवादीसँग मिल्नै नहुने । क्षणिक लाभको लागि मिले, लाभ पनि प्राप्त भयो तर पार्टीभित्र, नेतृत्वभित्रै ठूलो द्वन्द्व छ । यिनको क्रियाकलापका कारण जनताले कम्युनिष्ट पार्टीलाई नै नपत्याउने भइसकें । त्यो बेलाको एमाले एकदमै सक्रिय र राम्रो थियो । एक दुईवटा गल्ती भएको हो त्यो बेला । सोलोडोलोमा भन्दा राम्रो थियो ।
० त्यो समयको पार्टी यसरी बिग्रनुको कारक केलाई ठान्नुहुन्छ ?
– नेताको लोभ, कुर्सीको मोह, भ्रष्टाचारीसँग पर बस्न नसक्नु । मै खाऊँ, मै लाऊँ, मोजमस्ती मै गरुँ भन्ने भाव । अरूलाई उल्लु बनाउने बानी ।
० एमालेसँग के कारणले मोहभंग भयो ?
– भ्रष्टाचारकै मुद्दामा चित्त नबुझेर हो । एक समय आयो, एक जना ठूलै नेतालाई यो देशको सबैभन्दा ठूलो भ्रष्टाचारी भनेर हामीलाई टुँडिखेलमा ताली बजाउन लगाइयो । ६ महिनापछि यो तेरो ठूलो नेता हो, लालसलाम गर् भनेर पार्टीले हुकुम दियो । हामी पढेलेख्या मान्छे, जनावर त होइनौं । राजसंस्थालाई स्विकारेर अघि बढेको थियो एमाले । राजसंस्थालाई देशबाट हटाउने र राजालाई गाली गर्न थालेपछि म यहाँ बस्न उचित हुन्न । मेरो यस्तो काममा सहयोग हुनुहुन्न भनेर निस्किया हुँ ।
० पूर्वराजासँग भेटघाट सम्पर्क कत्तिको हुन्छ ?
– भइरहन्छ ।
० उहाँको चिन्ता र चासो के पाउनुहुन्छ ?
– देशको चिन्ता । कहिल्यै पनि आफूलाई सेन्टर गरेर राख्नुहुन्न । जनताले आन्दोलन गरे, मैले छोडिदिएँ तर देश राम्रोसँग चलेको छैन । जनताले फेरि आएर नेतृत्व लिनुप¥यो भन्छन् भने म पछि हट्दिनँ । बाँकी हानथाप गरेर जाने होइन भन्नुहुन्छ ।