स्कीका “पितामह” अर्थात छिरिङ जाङ्बु शेर्पा
सरकारले हालै मात्र सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्यो । सरकारले पहिलो पटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाई नाप्दा ८६ मिटर थपिएर ८,८४८.८६ मिटर पुगेको छ ।
र यही उचाई मापनका पथप्रदर्शक हुन् छिरिङ जाङ्बु शेर्पा । जो,१७ पटक बिनाअक्सिजन हिमाल आरोहण गर्ने साहसी व्यक्ति ।
Advertisement 1
पर्यटन क्षेत्रमा देशलाई अतुलनीय योगदान पु¥याउने उनी नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (नेपाल माउन्टेन एकेडेमी)का प्रशिक्षक हुन् ।
हिमाल र जीवन उस्तै बताउँने उनी हिमाल चढ्ने व्यवहारिक पाटो अर्थात् प्राविधिक क्षेत्रबारे एकेडेमिमा विद्यार्थीलाई पढाउँछन् । किशोरअवस्थादेखि हिमाल चढ्न थालेका उनी अझैँ अथक छन् । उनी भन्छन्, ‘हिमालसँग मेरो विशेष सम्बन्ध छ । हिमालले नै मलाई हिँड्न, डुल्न, पढ्न, लड्न, उठ्न सिकायो । ज्यानमा एक मुठी सास रहन्जेल हिमालसँगै रमाउनेछु ।’
अहिले जाडो मौसम अर्थात् विन्टर सिजन । यो समय उनका लागि व्यस्त बन्ने समय हो । अहिले उनी एकेडेमीमा अध्ययनरत ‘मास्टर्स अफ टुरिज्म’का विद्यार्थीलाई लिएर कास्कीको अन्नपूर्ण हिमालको आसपास पुगेका छन् । विद्यार्थीहरुको टोली लिएर कालिन्चोक त कहिले विभिन्न ठाउँमा उनी पुग्छन् ।
जाडो मौसममा हिमालसम्बन्धि अध्ययन, अनुसन्धानसँगै थप दौडधुप उनको हुन्छ । आखिर किन दौडधुप गर्छन् त उनी ? बिरल्लैलाई थाहा छ– नेपालमा स्की खेलका जन्मदाता हुन् उनी । उनकै पहलमा पहिलोचोटी सन् २०१५ मा नेपालमा स्की खेल भित्रियो र अहिले विभिन्न जिल्लामा उनको टोलीले स्की खेलको सम्भाव्यता पनि अध्ययन गरिरहेको छ ।
२ पुषमा स्कीका लागि कालिन्चोक जान लागेका उनी स्की खेलकै लागि सम्भाव्यता अध्ययन गर्न मेरा पिक पुगेर फर्किए । र, अहिले उनी स्की खेलबारे थप अध्ययन, अनुसन्धान गरिरहेका छन् । नेपालमा स्कीका सम्भावनाहरु कस्तो छ ? आम नेपालीले स्कीलाई कुन दृष्टिले हेर्छन् ? यसै सेरोफेरोमा रहेर उनैको शब्दलाई यहाँ उतारिएको छ ।
के हो स्की ?
प्रायः धेरैलाई थाहा भएको एउटै कुरा हुन सक्छ– स्की भनेको चिप्लेटी खेल हो । हो यो हिउँमा चिप्लेर खेलिने खेल नै हो । तर, यो यत्तिमात्र सीमित छैन । स्की खेल भनेको डान्स हो । अझ भनौँ, लड्न, बग्न सिक्ने एउटा अद्भुत कला हो । यसमा दुवै खुट्टाको पोजिसन एक ठाउँमा ल्याइनुपर्छ र डान्स गर्दै हिँउमा बग्न सक्नुपर्छ ।
Advertisement 2
म्यारापिकमा स्की रिसर्च
कोरोना अवधिमै म्यारापिकमा स्कीसम्बन्धि रिसर्च भयो । त्यसपछि १५ जनाको टोली लिएर पुनः म्यारापिकमा पुगियो । स्की पनि खेलेर शारीरिक स्फुर्ती अनि भरपुर मनोरञ्जन दिलाइयो÷लिइयो । फुर्संद हुनेबित्तिकै स्कीसम्बन्धि नयाँ कुराहरु दिमागमा सोचिरहन्छ ।
अब, स्की नेपालीलाई
सरकारले नेपालमा स्की खेलसम्बन्धि छुट्टै नियमावली तयार गर्नुपर्छ । अहिलेसम्म स्की नेपालमा खेलिन्छ भनेर मात्रै भनिएको छ तर, यससम्बन्धि आवश्यक पहिलो नियमावली बनाइएको छैन । नेपालमा स्की खेलमा विदेशी ल्याएर खेलाउने होइन नेपालीले नै खेल्ने हो । जाडो मौसमलाई स्कीको खेल मौसम बनाएर स्की खेल खेल्न सकिन्छ । स्की खेलमा एकजना वा समूहले खेले पनि त्यसको अहिले एउटै मूल्य छ, एक हजार डलर । हिमाल चढ्दा तिर्नुपर्ने राजस्वभन्दा कम तिर्नुपर्छ स्की खेल खेल्दा ।
स्की खेल्ने उमेर
स्की खेल विशेषगरी २ वर्षदेखि ८० वर्षसम्मको वृद्धवृद्धाले खेल्न सक्नेछन् । स्की खेल्नु भनेको शारीरिक सन्तुलन ‘फिजिकल फिटनेस’ हो । मानिसहरुले दैनिक जुम्बा डान्स, टेबल टेनिस खेल खेलिन्छ । यस्तै, स्की खेल पनि यहिँभित्रको एउटा पाटो हो । र, फिजिकल फिटनेसका लागि स्की एकदमै राम्रो मानिन्छ ।
स्की खेल्ने उचाई ?
छ हजारभन्दा माथि उचाइमा पनि स्की खेल खेल्न सकिन्छ भनेर त्यसबारे थप अध्ययन अनुसन्धान गरिहेका छौँ । जस्तैः सोलुखुम्बमा रहेको म्यारापिक । म्यारापिकमा स्की खेलको अध्ययनसँगै स्की खेल खेल्दा पनि त्यसको राम्रो अध्ययन÷अनुसन्धान नतिजा आएको छ । लकडाउनको अवधिमा म्यारापिक पुगेर स्कीबारे अनुसन्धान गर्दा सोचेभन्दा पनि धेरै राम्रो सम्भावना देखियो ।
म्यारापिकमा तेस्रो तह (लेभल थ्री) सम्म को स्की प्रशिक्षण गर्न सकिन्छ भन्ने अनुसन्धानमा निष्कर्ष निस्केको छ । साथै, हामीले सोचेभन्दा म्यारा पिकमा शरद ऋतुमा स्कीका लागि अझ उपयुक्त देखियो ।
तीन किलोमिटर चौडाइ र तीन किमी लामो दूरीमा स्की गर्न सकिने सम्भाव्यता पनि अध्ययन गरियो । अध्ययन अनुसन्धानका अनुसार अहिलेसम्म डोल्पाको पुथा हिउँचुली स्कीका लागि उत्तम ठाउँ मानिदै आइएको छ । जुन ७ हजार २ सय ४६ मिटर उचाइमा अवस्थित छ । यद्यपि, पछिल्लो अध्ययन तथा अनुसन्धानले पुथा हिउँचुलीपछि म्यारा पिक नै सबैभन्दा उत्तम हिमाल मानिएको छ ।
अब काम गर्ने
स्कीसम्बन्धि अध्ययन तथा अनुसन्धान धेरै गरिएको छ । अब त्यहिँ अध्ययन अनुसन्धानको साथमा कामलाई प्राथमिकता दिने प्रण गरिएको छ । पहिलो तहको (लेभल वान)को स्की खेलसम्बन्धि प्रशिक्षण दोलखाको कालिञ्चोकमा सुचारु हुँदै आएको केही समयअघि नै इन्जिनियर टोली गएर झन्डै एक किलोमिटरको दूरी मापन गरेर फर्किएको छ ।
यसैगरी ‘लेभल टु’ को प्रशिक्षण फ्रान्स र स्विट्जरल्यान्डमा गर्दै आइएएको छ भने लेभल थ्रीका लागि भने अब म्यारा पिकमा गर्नका लागि सम्भाव्यता अध्ययन गरिसकिएको छ । यसको सम्पूर्ण जिम्मेवारी एकेडेमीले लिएको छ ।
कालिन्चोकमा ‘स्की पार्क’
२ पुषमा गएर त्यस वरपरको झारलाई काटिनेछ र त्यो क्षेत्रलाई आगामी दिन स्की क्षेत्र भनेर घोषणा गरिने योजना बनाइएको छ । त्यहाँको गाउँपालिकाको सहकार्यमा कालिन्चोकमा स्की पार्क नै घोषणा गर्ने भनेका छौँ । स्की पार्क बनेपछि त्यहाँ स्कीसम्बन्धि पठनपाठन र खेल खेलाइनेछ ।
Advertisement 3
स्की खेल्ने उमेर
खेल खेलेपछि त्यसको सही प्रचारप्रसार नै खेलको सम्पूर्णता रहेछ । सही प्रचारले त्यसको गरिमा बढ्दोरहेछ । सन् २०१५ देखि नेपालमा स्की खेल्न थालिएपछि अहिलेसम्म थुप्रैले स्की खेलको आनन्द लिइसक्नुभएको छ ।
रक्षा मन्त्रालयबाट स्कीका लागि पत्र
केही दिनअघि नै रक्षा मन्त्रालयले जोमसोममा ३० जना नेपाली सेनालाई स्की प्रशिक्षणका लागि एकेडेमीलाई पत्र आइसकेको छ । प्रशिक्षणका लागि एकेडेमीबाट म आफैँ जानेछु । हिउँ परेको अवस्थामा सकभर पुष १५ देखि नेपाली सेनालाई स्की सिकाइने एकेडेमीले तत्काललाई कार्ययोजना बनाएको छ । तीन महिनाका लागि भनेर प्रशिक्षण दिन भनिएकोमा केही तलमाथि हुनेछ । अहिलेलाई सेनालाई स्कीसम्बन्धि प्रशिक्षण दिएर आगामी वर्षमा उहाँहरुले नै स्कीसम्बन्धि प्रशिक्षण म्यानपावर उत्पादन गर्न सक्नुहनेछ ।
प्रस्तुति :- लोकराज रुम्दाली