कृषि पेशा प्रति युवाहरूमा देखिएको नैराश्यता

नेपाल कृषि प्रधान देश हो।अन्य पेशा ब्यबसाय उन्नत हुन नसकेको कारण लामो समय देखि कृषि नै नेपालको अर्थतन्त्रको मेरूदण्डको रूपमा रहदै आएको छ। कृषि भन्नाले अन्नबाली, फलफूल खेती, पशु पंक्षीपालन , मत्स्य पालन, माहुरीपालन र विभिन्न नगदे बालीलाई लिन सकिन्छ।तर आजभोली यो पेशा तर्फको आकर्षण क्रमश: घट्दै गएको पाईएको छ। खासगरी श्रम बजारमाआउने युवाहरूलाई यो क्षेत्रले आकर्षण गर्ने खास नीति नहुदा यस तर्फको विकर्षण बढ्दै गएको हो। यसरी कृषि पेशा तर्फ आकर्षण कम हुनाका कारणहरू धेरै हुन सक्छन् ती मध्ये प्रमुख कारणहरूलाई यस आलेखमा समेट्ने प्रयास गरिएको छ।
Advertisement 1
हाम्रो देशको खेती प्रणाली निर्वाहमुखी रहेको छ।वर्ष भरी लगाएको खेतीले मुस्किलले आधावर्षलाई मात्र पुग्छ। जब सम्म यसलाई ब्यबसाय मुखी बनाउन सकिदैन तब सम्म यो पेशा आकर्षक हुन्छ भन्न सकिदैन। हाम्रा खेत बारीका आकार साना साना छन्।यस्ता साना आकारका जमीनमा आधुनिक मेशिनरी प्रयोग गरेर खेती गर्न सकिदैन।फेरि हामी संग आधुनिक प्रविधि पनि प्रयोग हुन सकेको छैन।
त्यसै गरी हाम्रो खेतीयोग्य भूमि अंशबण्डाका कारण टुक्रा टुक्रा भएको छ जसले हाम्रो खेती योग्य जमीनको आकार झन् झन् सानो हुदै गएको छ।एक त अधिकांश पहाडी भू-भागका जमीन यसै सांघुरा हुन्छन् त्यसै माथि अंशबण्डाका नाममा हुने विभाजनले हाम्रा खेतबारी झनै साना र सांघुरा हुदै गएका छन्। यस्ता साना टुक्राहरूमा खेती गरेर यसलाई ब्यबसायीक बनाउन सकिदैन।
Advertisement 2
हामी संग पर्याप्त सिचाईको ब्यबस्था छैन। त्यस अर्थमा हामीले अधिकांश जमीनमा आकाशे पानीका भरमा भल छोपेर सिचाई गर्नु पर्ने अबस्था छ जुन खेतीका लागि त्यति पर्याप्त हुदैन। बिना सिचाई गरिने खेतीको उत्पादन स्वभाविक रूपमा कम हुन जान्छ।
त्यस्तै हामी संग खेतीपातीलाई आवश्यक पर्ने कम्पोष्ट मलको पनि अभाव हुदै गएको छ। किनभने हामी पशुपालन ब्यबसायलाई क्रमश: छाड्दै गएका छौ र रासायनिक मल तर्फ आकर्षण बढाउदै छौ। यसो हुदा हाम्रो माटोको गुणस्तरमा ह्रास आई उत्पादन कम भएको अबस्था एकातिर छ भने अर्को तर्फ हामी रासायनिक मलको आयातमा भर पर्नु पर्छ जुन भनेको बेलामा प्रयोग गर्न पाईदैन।
हाम्रो कृषि क्षेत्रमा देखिएको अर्को समस्या भनेको कृषि बजारको समस्या हो। सीमित रूपमा उत्पादित कृषि उत्पादनले समेत उचीत र उपयुक्त बजारको अभाव खेपी रहेको पाईन्छ। कृषक स्वयंले विक्री गर्न जादा सो किसान हेला र हासोको पात्र बन्न जान्छ, एउटा विपन्न पात्रको प्रतीक हुन पुग्छ किसान, भने उसको मनोबल बढ्ने ब्यबहार उपभोक्ताबाट पाउदैन र दोश्रो पटक कृषि उपज लिएर बजार जाने हिम्मत गर्दैन। खासगरी यस्तो प्रवृत्ति युवाहरूमा देखा पर्छ। कृषि उपज बजार सम्म पुर्याउन सहज नेट वर्किंग छैन, यस्तो प्रवृत्तिले कृषि बजारमा विना मेहनत र लगानीमा बिचौलियाको प्रवेश हुन्छ जसको परिणाम किसानले उचित मूल्य नपाउने खतरा त हुन्छ नै,त्यस माथि पनि उपभोक्ताहरूलाई सो उत्पादन महंगोमा किन्नु पर्ने हुन आउछ।
Advertisement 3
त्यसै गरी कृषि क्षेत्रमा देखिएको अर्को समस्या हो शीत भण्डारणको अभाव। किसानले गरेको उत्पादन लामो समय सम्म ताजा र सुरक्षित राख्न शीत भण्डारको आबश्यकता हुन्छ, जसको निर्माण खर्चिलो हुने र यसको लागि नियमित रूपमा विद्युत आपूर्ति समेत हुनु पर्ने हुदा किसान एक्लैबाट यो सम्भव हुदैन। यसको निम्ति सहकारी वा स्थानीय निकायको सहयोग आवश्यकता हुन्छ जुन त्यति सहज भै सकेको छैन।
यसका अतिरिक्त बेलाबेलामा आउने मौसमी बिचलन तथा प्राकृतिक प्रकोपको कथा ब्यथा त छुट्टै समस्याको रूपमा देखिने गर्छन् जसले यो पेशालाई बचाउन गार्हो हुने गर्छ।
यस्ता बिभिन्न समस्या संग झेल्दै हिडेको यो पेशाको अर्को समस्या भनेको खेतबारीहरू क्रमश: बांझो हुदै जानु हो। गाऊका युवाहरू विदेशिएर मलामी समेत नपाईने स्थिति बन्दैछ। गाऊका घरहरू खण्डहर हुन थालेका छन्। ती खण्डहर भित्र पाका उमेरका ब्यक्तिहरू बसेका हुन्छन्। शरीरमा असक्तताले गुण बनाएका ती पाका नागरिकबाट खेती योग्य जग्गाहरूमा आमोद कमोद गर्ने शक्ति हुदैन। त्यसैले नेपालका अधिकांश खेती योग्य जमीनहरू बांझो भएर घारीमा बदलिदै छन्। यस्तो अवस्था छ कृषि योग्य जमीनको।
यस किसिमको डरलाग्दो तस्वीर छ नेपालको कृषि क्षेत्रको। यो चित्रलाई हेरेर सरकारले कृषि नीति नबनाउने हो भने हाम्रो प्रमुख पेशाको रूपमा रहेको कृषि नै लोप हुने खतरामा देखिन्छ।हुन त नेपालका वर्तमान राजनीतिक दल र यिनीहरूबाट बनेको सरकारको अनुहार टीठ लाग्दो छ, जस्तो चित्र हाम्रो कृषि क्षेत्रको हुदै गएको छ त्यो भन्दा पनि कुरूप हुदै छ सरकारको अनुहार तर पनि एउटा समन्वयकर्ताको नाताले सरकार संग नै आशा गर्नु पर्ने हन्छ।
नेपालका युवाहरूलाई नेपालमै ब्यस्त गराउनका लागि नेपाल भित्रै पर्याप्त रोजगारीका अवसर उपलब्ध गराउनु पर्छ तर यसरी पर्याप्त अवसरहरू उपलब्ध गराउन सरकार सक्षम छैन भन्ने तीतो यथार्थबाट यूवाहरू अनविज्ञ पनि छैनन्। दलालको पछि लागेर खाडी राष्ट्रको प्रचण्ड तापक्रममा पसीना बगाउन भन्दा यहीको कृषि पेशा अगालेर आफ्ना परिवार , बृद्ध आमाबाबु संग स्वदेशमै बसेर जीवीका गर्न चाहन्छन् युवाहरू। तर कृषि क्षेत्रमा देखिएका समस्याहरू समाधान गरेर यो पेशालाई ब्यबसायमुखी बनाउन सरकारले सहजकर्ताको भूमिका खेल्नु पर्छ। यसको निम्ति कृषिलाई आधुनिकीकरण गरी यसलाई उद्यमको रूपमा लैजाने नीति अख्तियार गर्न सरकार अगाडि बढ्नु पर्ने देखिन्छ।