गृह कप्र महाशाखाको अनेकन गडबडी

सरकार वा मन्त्री परिवर्तन भएपिच्छे कर्मचारी सरुवाको खेलोमेलो चल्नु कुनै नोलौ कुरा रहेन नेपालका लागि ।
अहिले अर्थ,परराष्ट्र लगायतका मन्त्रालयमा कर्मचारी सरुवाको लहरै चलिरहेको छ र यो मामलामा सबैभन्दा अगाडि देखिएको छ गृह मन्त्रालय । गृहमन्त्रीको रुपमा बालकृष्ण खाँण गत असोज १० गतेदेखि त्यहाँ हाजिर भए । यस बीचमा ५१ जना सहसचिव र उपसचिवहरु हेरफेर भए । अधिकांश जिल्लाका सिडिओ फेरिए तर गृह आफैंले बनाएको मापदण्ड लत्याइए ।
पछिल्लो साढे तीन महिनाको अवधिमा सय बढी कर्मचारीको सरुवा गरिसकेको छ गृहले । त्यहाँबाट झन्डै एक दर्जन जिल्लामा सहसचिव दरबन्दी हुने स्थानमा अनुभवी सिडिओलाई हटाएर अनुभव नै नभएका उपसचिवहरूलाई सीडिओको जिम्मेवारी दिएर पठाएको छ कतिपय जिल्लामा ।

Advertisement 1

अझैं दशैंको मुखमा गृहकै कर्मचारी प्रशासनका हाकिम सुनिल खनालले आफ्नो पत्नीलाई गुपचुप काठमाडौंको सहायक सिडिओ बनाएर खटाएका छन् । उनी आश्विन २५ गतेदेखि त्यहाँ हाजिर भइसकेकी छिन् । यस अघि उर्जा मन्त्रालयमा कार्यरत सुप्रभा खनाल ढुंगेललाई त्यहाँबाट गृहमा तानेर रातारात काठमाडौंको सहायक सिडिओ बनाएर खटाएपछि कर्मचारी प्रशासनका प्रमुख खनाल आलोचित बनेका छन् । गोविन्द रिजाल काठमाडौंको प्रमुख जिल्ला अधिकारीको रुपमा खटिएसँगै गृहले कर्मचारी प्रशासनको जिम्मेवारी खनाललाई दिएको थियो । खनाल यही कार्तिक महिनामा ५८ बर्ष उमेर हद लागेर घर जाँदैछन् ।
गृहकै क्याडर दर्जनौ सहसचिव र उपसचिव बरण्डामा सीमित छन् । उनीहरु महिनौंदेखि जिम्मेवारबिहिन अबस्थामा छन् । ती सहसचिव र उपसचिवको दैनिकी नै मन्त्रालय जाने र हाजिर गरी घर फर्कनेमा सीमित छ तर गृहको क्याडर बाहिरको सुप्रभालाई रातारात सहायक सिडिओ बनाएर खटाइएको हो ।
अझैं कतिपय सहसचिवको दरबन्दी भएको जिल्लामा उपसचिवलाई खटाइएको छ । सहसचिवहरुलाई जिम्मेवारबिहिन बनाएर राखिएको छ । जस्तो बारा, बाके,स्याङ्जालगायतका जिल्लामा सहसचिवको दरबन्दी रहे पनि ती जिल्लामा सीडीओका रूपमा उपसचिवलाई खटाइएको छ । जबकि, मन्त्रालयमा झन्डै एक दर्जन सहसचिवलाई दुई महिनादेखि नै जिम्मेवारी नदिएर बरन्डामा थन्काउने काम गरिएको छ । यस्तै, त्यति नै संख्यामा उपसचिवलाई पनि जिम्मेवारी नदिएर बरन्डामा नै थन्काइएको छ । उनीहरु गत भदौं अन्तिममा गृहमा तानेर जिम्मेवारबिहिन बनाएर राखिएको हो जबकी निजामती सेवा ऐन नियमावलीमा कुनै पनि कर्मचारीलाई एक महिनाभन्दा बढी जिम्मेवारी नदिई राख्न पाइँदैन् भन्छ । तर गृहका दुई दर्जन हाराहारी कर्मचारी बरण्डामा सीमित छन् ।

प्रकाशित :२०७८ कार्तिक १६, मंगलवार ०८:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry