यस्ता छन् बिहिबारका मन्त्रिपरिषद् बैठकका निर्णयहरु
बिहिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न सकिने प्रावधानसहितको अध्यादेश ल्याउने निर्णय गरेको छ । बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश २०७८ पारित गरेको छ । सो अध्यादेश स्वीकृतिका लागि मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्नेछ ।
केही साताअघि नेपालगन्जमा कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकमाथि आक्रमण भएपछि त्यसको चौतर्फी विरोध भएको थियो भने नेपाल चिकित्सकले अध्यादेशमार्फत कानुन बनाउन माग गर्दै सरकारलाई एक साताको समय दिएको थियो ।
Advertisement 1
यस्तै, मन्त्रिपरिषद बैठकले प्रेस काउन्सिल नेपालको कार्यकारी अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
दोलखा निवासी पत्रकार बस्नेत लामो समय कान्तिपुर दैनिकमा काम गर्नुभयो । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य बस्नेत नेपाल टेलिभिजनको बोर्ड सदस्यमा रहेर पनि काम गर्नुभयो । सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङको प्रस्तावमा बस्नेत चार वर्षका लागि अध्यक्षमा नियुक्त हुनुभएको हो ।