त्रिविको स्नातक प्रथम वर्षको परीक्षा नरोकिने

कोभिड–१९ को संक्रमण र जोखिम कायमै रहेको सन्दर्भमा त्रिभुवन विश्वविद्यालयले स्नातक तह पहिलो वर्षको परीक्षा नरोक्ने भएको छ ।
स्वास्थ्य मापदण्ड पालना गर्दै स्नातक तह पहिलो वर्षको परीक्षा पूरा गर्ने रणनीतिमा विश्वविद्यालय लागेको छ । शनिबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेसँग त्रिभुवन विश्वविद्यालयको परीक्षा के हुने भन्ने अन्योल भइरहेका बेला परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षा नरोकिने स्पष्ट पार्नुभएको हो ।

Advertisement 1

उनका अनुसार भोलिदेखि विज्ञान र शिक्षाशास्त्र संकायको पनि परीक्षा सकिनेछ । अब मानविकी तथा सामाजिक संकायको मात्रै परीक्षा बाँकी रहने छ । उक्त संकायका परीक्षार्थीको संख्या करिब ३२ हजार मात्र रहेकाले पनि परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रक जोशीले बताए ।

यी संकायको परीक्षा पनि आगामी चार दिनमा सकिने भएकाले स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गरेर भएपनि परीक्षा सक्ने उनले बताए । परीक्षा सकेपछि अर्को शैक्षिक सत्रको पढाइ अघि बढाउन विद्यार्थीहरुलाई पनि सहज हुने भएकाले परीक्षा नरोकिने उनले बताए ।

Advertisement 2

उनले भने, ‘यसपछि सञ्चालन हुने परीक्षाको विषयमा त्रिविले छलफल गर्ने भएपनि स्नातक प्रथम वर्षको परीक्षा भने सञ्चालन हुन्छ ।’

कोरोना संक्रमण दर बढेको खण्डमा आगामी भदौमा हुने भनिएका परीक्षा स्थगित गर्न सकिने भएपनि स्नातक प्रथम वर्षको परीक्षा नरोकिने उनले स्पष्ट पारे ।

Advertisement 3

तर राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कक्षा १२ को परीक्षा अर्को सूचना नआउँदा सम्मको लागि स्थगित गरेको छ । कक्षा १२ को परीक्षा स्थगित भएसँगै त्रिविका परीक्षार्थीहरुले आफूहरूको परीक्षा के हुन्छ भनेर अन्योलमा परेका थिए । परीक्षार्थीहरुलाई अन्योलमा नरहन भन्दै परीक्षा नियन्त्रक जोशीले स्नातक प्रथम वर्षको परीक्षा सञ्चालन हुने जानकारी दिए

प्रकाशित :२०७८ श्रावण २३, शनिबार १८:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry