प्रधानसेनापतिको जिम्मेवारी प्रभुराम शर्मालाई, को हुन् उनी ?

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ ।

Advertisement 1

शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् । अवकाशको एक महीना अघि विदा बस्ने परम्परा अनुरुप उनले २४ साउनबाट विदा बस्ने तयारी गरेका छन् । थापा विदा बसेबाट लागू हुने गरी शर्मालाई कामु सेनापतिको जिम्मेवारी दिन सिफारिस गरिएको स्रोतको भनाइ छ ।

थापाको औपचारिक विदाइ भने २५ भदौमा हुनेछ ।
को हुन् प्रभुराम शर्मा ?

Advertisement 2

नेपाली सेनाको ४४ औं प्रधानसेनापतिका रुपमा रथी प्रभुराम शर्माले नेतृत्व लिँदैछन् । युद्ध कार्य महानिर्देशकको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका शर्मा सेनाभित्र ‘मिलनसार’ अधिकारीको रुपमा चिनिन्छन् । शर्माले बलाध्यक्ष र बलाधिकृत दुवै रथीको जिम्मेवारी सम्हालेका छन् । शर्माको जन्म सन् १९६४ जनवरी ५ मा काठमाडौँमा भएको हो । मिलिटरी एकेडेमीबाट ग्राजुएट भएपछि उनी पुरानो गोर्खा बटालियनमा कार्यरत भएका थिए । त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका शर्माले भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेका छन् । भारत र अमेरिकामा उच्चशिक्षा एवं सैन्य कला हासिल गरेका शर्मा सेनाभित्र मिलनसार मात्रै नभई ‘एक्सन म्यान’का रुपमा पनि परिचित छन् । उनी सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित भइसकेका छन् ।

४३ औं प्रधानसेनापति पूर्णचन्द्र थापाले जेठ २३ मै पत्रकारहरुलाई साक्षी राखेर नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु भएको घोषणा गरेका थिए । त्यसको करिब दुई महिनापछि अर्थात् साउन २४ बाट उनी बिदामा बस्दैछन् । ​अवकाश प्राप्त हुनु एक महिनाअघि बिदामा बस्ने प्रचलन अनुसार उनी बिदामा बस्न लागेका हुन् । उनी बिदामा बसेपछिका लागि सरकारले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्रकाशित :२०७८ श्रावण १२, मंगलवार १८:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry