धन कमाउने तर दान दिन नसक्नेहरु मानसिक रोगी हुन्ः भीम उपाध्याय
तपाईलाई समाजले पुज्ने वा मान्ने, सम्मान गर्ने वा आदरगर्ने भनेको तपाईले समाज वा अरूलाई के दिनुहुन्छ त्यस कुराले मात्र हो । अरूबाट लिने र आफै मात्र कुम्लाएर बस्ने प्रवृत्ति कतैँ बनेको त छैन भन्दै निरन्तर आफूभित्र नियालिरहनु पर्छ। अधिकाँश मान्छे अरूबाट लिने रोग पालिरहेका हुन्छन्, त्यसबाट मजा लिइरहेका हुन्छन् । अरूलाई दिनुपर्यो भने कडा कब्जियत हुने रोग प्रदर्शन गर्छन्। यो कडा आध्यात्मिक बिकृति हो, मानसिक रोग पनि हो । अरूबाट लिने प्रवृति बस्दै जादा मानिसलाई जति धन कमाए पनि, जति ठूलो पद पाए पनि, जति धेरै पढे पनि भित्रभित्रै खोक्रो र समाजको नजरमा बेकम्मा बनाउदै लगेको हुन्छ ।
Advertisement 1
मैले अधिकाँश कर्मचारी र नेताहरू यस्तै आफूले मात्र खाने, अरूलाई सुको दिन नसक्ने, कुनै बेला दिनु परे असाध्यै कन्न पर्ने मानसिकताका छिछलो जीवन बॉचिरहेको देख्ने गरेको छु । अवकाशपछि अधिकाँश त्यस्ता कर्मचारी र नेताहरू विगतमा जति शिक्षित, ठाटबाटमा रहेका वा पावरफूल र उच्च पदीय भए पनि समाजमा निरन्तर औचित्यहिन, निकम्मा र उपयोगहीन बन्दै गएको देख्न सकिन्छ । पदको ताप र राप हटेपछि तिनका अनुहारमा प्रष्ट पिडाबोध देख्न सकिन्छ । जो मानिसले समाज वा अरूलाई दिने संस्कार बेलैमा पाएको वा सिकेको वा बिकसित गरेको हुँदैन तिनका उत्तरार्द्ध जीवन खोक्रो र निरस हुदै गएको हुन्छ ।
धन कमाउन सजिलो छैन । कमाएको धन दान दिनु त झन् सबैभन्दा गाह्रो काम हो । धन हुनेको मन भयो भने त्यस्ता धनी मानिसहरू समाजमा सबैका प्रिय बन्छन्् । धनको औचित्य परिवारका साथै समाजका लागि केही गर्नका लागि हो । खुशी जीवन बिताउन दान गर्नुपर्छ भन्ने हाम्रो शास्त्रीय मान्यता छ, यसको पुनर्स्थापना गर्नु पर्छ । नेपालीहरू स्वाभावले दानी दयालू छन््, तर मगज भने कालान्तरमा गलत संगति र स्वार्थी वृत्तिका कारण प्रदूषित हुदै गएको देखिदै छ ।
Advertisement 2
मानिसका ४ पुरूषार्थ मध्ये एक हो धनार्जन ।
ती ४ पुरुषार्थ यी हुन्– धर्म, अर्थ, काम र मोक्ष ।
धर्मयुक्त धनार्जन वा अर्थार्जन, उक्त अर्थले पारिवारिक र ब्यक्तिगत आवश्यकताको पूर्ति, त्यसपछि समाज र सृष्टिसंग सहज एकाकार हुने साधनामा लाग्नु हो । धनबिना आवश्यकता पूर्ति हुदैन, दानबिना धनको समाजमा कुनै अर्थ रहदैन ।
Advertisement 3
दान आध्यात्मिक प्रवृत्ति पनि हो, त्यसैले सबै धर्म र पन्थमा दानलाई जिवनको महत्वपूर्ण संस्कृति मानिएको छ । बिकसित देशका लाखौँ लाख राष्ट्रिय वा अन्तर्राष्ट्रिय संस्थाहरू, फाउण्डेशन, मठमन्दिर चर्च, मस्जिद, रिसर्च संस्था, उच्चअध्ययनका फेलोशिप, शैक्षिक संस्था र पुरस्कारहरू समेत जनताको दानबाटै चल्छन्। त्यस्ता दानहरू करमुक्त हुन्छन् । सबै भन्दा सम्मानित वर्षेनि ५ विधामा दिईने दशौँ लाख डलर बराबरका नोबेल पुरस्कारहरू डा अल्फ्रेड नोबेलको सम्पत्ति दानबाट चलेको छ । विश्वका सबै ठूला पुरस्कार दानबाट संचालित छन् ।
नेपालमा पनि दान दिईन्छ, भागवत पुराण सप्ताहमा मन्दिरहरूमा भेटी चढाईन्छ। करोडौँ रकम संकलन हुने गर्छ । तर बिज्ञान, समाज विकास वा अन्य क्षेत्रमा दान दिने परम्परा अझै सुरू भएको देखिदैन । धर्म भनेको कर्तब्य र सही मार्गमा हिड्नु ब्यवहार गर्नु हो । नागरिकले आफूले कमाएको सानो अँश अर्थपूर्ण लागेको क्षेत्रमा दान दिने हाम्रो संस्कारको पुनर्जागरण गर्नुपर्छ। धन जति भए पनि थोरै हुन्छ, धनीलाई धनकै माया बढी हुन थाल्छ । त्यस्तै अपुतालीलाई झन् धेरै माया लाग्छ, बॉड्दैनन् भन्ने नेपाली कथन छ ।
विश्वका धनाढ्यहरू सबैले ठूलो रकम दान दिने गर्छन् । बिल गेट्स, मार्क जुकरबर्ग, वारेन बफेट, भारता नं १ दानी अजिम प्रेमजी विश्वकै ठूला दानी हुन् । म्यान्मारका जनता सबैभन्दा दानी मानिन्छ। बुद्धिष्ट र ईस्लाम धर्मवालम्बीहरू बढी दानीमा गनिन्छन् । नेपालीमा औपचारिक दान दिने र त्यसलाई करमुक्त पार्ने परम्परा सुरू गर्नुपर्छ ताकि धन हुनको मन फेरियोस् । मन फेरिए पछि समाज सही मार्गमा बदलिन सहज हुन्छ ।
(लेखक उपाध्याय नेपाल सरकारका अवकाश प्राप्त सचिव हुन् ।)