काम नगरे पनि ६ करोड तलब बुझ्दै सांसदहरु

सांसदहरूको नाममा झण्डै ६ करोड बढी रकम आज–भोलिमै निकासा हुँदै छ । जेठ ८ को मध्यराति प्रतिनिधिसभा विघटनसँगै २७१ सांसदको पद गुमेको थियो । दोस्रो पटक विघटित प्रतिनिधिसभा ब्युँतिएसँगै सांसद र पिएले २ महिनादेखि रोकिएको तलब एकमुष्ट पाउने भएका छन् । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सदस्य र तिनका पिएलाई जेठ र असारको तलब एकमुष्ट पठाउने अन्तिम तयारी गर्दै छ ।
सर्वाेच्च अदालतले अस्ति २८ गते अपराह्न प्रतिनिधिसभा पुनःस्थापना गरिदिएसँगै अहिले संसद् सचिवालय हिसाब निकाल्न जुटेको छ । एक सांसदलाई मासिक ६४ हजार ७० रूपैयाँ पारिश्रमिक, काठमाडौंमा घर हुनेलाई आवास सुविधाबापत ९ हजार र घर नहुनेका लागि १८ हजारका दरले निकासा हुँदै आएको छ । सांसद सचिवालयले निकालेको हिसाब अनुसार जेठ महिनाको मात्र २ करोड २० लाख रुपैंया सांसदहरुले पाउनेछन् । यस्तै असार महिनाको पनि हिसाब किताब तयार हुँदैछ ।
सांसदहरुले तलबका अलवा संसद् बैठक बसेको दिन बैठक भत्ता र ट्याक्सी भाडा तथा समितिको बैठक बसेको दिन छुट्टै भत्ता हुन्छ । प्रतिनिधिसभा पुनःस्थापना भएसँगै समितिका सभापति, प्रमुख दलका सचेतकहरूले गाडी र इन्धनको सुविधा पनि पाउनेछन् ।
यो हिसाबले सांसदहरूका लागि औसतमा झण्डै २ करोड तलबबापत मात्रै खर्च हुन्छ । यस्तै, उनीहरूका पिएको लागि झण्डै १ करोड ५ लाख हाराहारी रकम निकासा हुने संसद् सचिवालयले जनाएको छ । सांसदका पिएले अधिकृत स्केलको तलब सुविधा पाउँदै आएका छन् । यसरी सांसद तथा पिएका नाममा जेठ र असारको मासिक ३ करोडका दरले दुई महिनाको एकमुष्ट ६ करोड रकम खातामा हालिदिने तयारी छ । पर्सिबाट यो आर्थिक वर्ष समाप्त हुने हुँदा जेठ र असारमा कामै नगरे पनि सांसद तथा पिएले दुई महिनाको तलब एकमुष्ट बुझ्नेछन् ।

प्रकाशित :२०७८ असार ३०, बुधबार १०:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry