डिआइजी बढुवामा दौडधुप तिव्र, कस्ले मार्ला बाजी
नेपाल प्रहरीको रिक्त दुई डिआइजी पदमा दौडधुप सुरु भएको छ । सहकुल थापा एआइजीमा बढुवा भएपछि डिआइजीको एक पद खाली भएको छ । बढुवामा जस्ले बाजी मार्छ ऊ नै २० महिनापछि आइजीपी बन्ने सम्भावना बलियो हुने भएकाले एसएसपीहरुको दौडधुप बढेको हो ।
Advertisement 1
डिआइजी बढुवाको सम्भावितमा दिपक थापा, उमेशराज जोशी र टेकप्रसाद राईको सम्भावना बलियो छ । थापा वर्तमान आइजीपी शैलेश थापा क्षेत्रीसँग नजिक छन् । उनी भक्तपुरका हुन् । गृहसचिव र आइजीपी भक्तपुरका भएकाले पनि दिपक थापालाई नै बढाउन खोजिएको प्रहरीभित्र चर्चा छ ।
उमेशराज जोशी र टेकप्रसाद राईको पनि शक्तिकेन्द्रमा राम्रो पहुँच छ । श्यामलाल ज्ञवाली पूर्वआइजीपी ठाकुरप्रसाद ज्ञवालीका भाई हुन् । काठमाडौं प्रहरी प्रमुख अशोक सिंह र ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्य पनि दौडमा छन् ।
Advertisement 2
डिआइजी बढुवको दौडमा भीमप्रसाद ढकाल, वसन्तबहादुर कुँवर, टेकबहादुर तामाङ, पोषराज पोख्रेल, बुद्धिराज गुरुङ, रामदत्त जोशी, मिरा चौधरी पनि छन् ।
असारभित्रै बढुवा गर्ने गरी तयारी भएको छ । आकांक्षी धेरै भएकाले केही दरबन्दी बढाएर भएपनि बढुवा गर्नेबारे समेत छलफल भएको बुझिएको छ । तर, भावी आइजीपीको दौडमा आफ्नालाई ल्याउन यो बढुवा हुन लागेकाले एक वा दुईजनालाई मात्र डिआइजी बनाएर सुनिश्चित बनाउन खोजिएको छ ।
Advertisement 3
प्रहरीमा आइजीपी शैलेश थापा क्षेत्रीपछि विश्वराज पोखरेल र सहकुल थापामध्ये एकजना आइजीपी बन्ने निश्चितप्रायः छ । त्यसपछि आइजीपी को बन्ने यसपटकको डिआइजी बढुवाबाट तस्बिर प्रष्ट हुनसक्छ । यसैले अबको बढुवामा बाजी मार्न एसएसपीहरु दौडधूप गरिरहेका छन् ।