बालेनले उपलब्ध गराए १९ हजार विद्यार्थीलाई २ अर्ब रुपैयाँ छात्रवृत्ति

काठमाडौं। काठमाडौं महानगरपालिकाले चालू शैक्षिक सत्रमा १९ हजार विद्यार्थीलाई २ अर्ब रुपैयाँभन्दा बढी रकम छात्रवृत्ति उपलब्ध गराएको छ। महानगरपालिकाले निजी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई उक्त रकम बराबरको छात्रवृत्ति उपलब्ध गराएको हो। महानगरका मेयर बालेन शाहले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी गराएका छन्। ‘एउटा कानुन कार्यान्वयनले यो वर्ष १९ हजारभन्दा धेरै विद्यार्थीले स्कोलरसिप पाएका छन्,’ उनले फेसबुकमा लेखेका छन्, ‘यस शैक्षिक सत्र २०८१ मा हिजोसम्म विवरण बुझाउने विद्यालयको संख्या ४७३ पुगेको छ।’
Advertisement 1
उनका अनुसार बुधबारसम्म १ लाख ४९ हजार ९५६ विद्यार्थी भर्ना भएकामध्ये १८ हजार ४२२ जनाले छात्रवृत्ति पाएका छन्। ‘हामीले विद्यमान कानुनको कार्यान्वयन गर्दा मात्रै लक्षित वर्गका विद्यार्थी लाई करिब २ अर्ब बराबरको छात्रवृत्ति उपलब्ध गराउन सफल भयौँ।’ महानगरपालिकालाई निजी विद्यालयहरुले उपलब्ध गराएको विवरणको महानगरपालिकाले अनुगमन पनि गर्ने उनले बताएका छन्।
अनुगमनका क्रममा विद्यालयले उपलब्ध गराएको विवरण फरक पाइएमा कानुन बमोजिम कारबाही गर्ने पनि उनले उल्लेख गरेका छन्। महानगरपालिकाले हालसम्म विवरण नबुझाउने विद्यालयलाई ३ दिनको समय दिई विवरण पेस गर्न सार्वजनिक सूचना जारी गरेको छ। ३ दिनभित्र विवरण पेस नगर्ने विद्यालय बन्द विद्यालयको रुपमा बुझी काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने चेतावनी महानगरपालिकाले दिएको छ।
Advertisement 2
यसअघि गत वर्ष महानगरपालिका क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ विद्यालयले १३ हजारभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति दिएका दिए। ‘विद्यमान कानुनी प्रबन्ध कार्यान्वयन गर्दा गत वर्ष १३ हजार र यस वर्ष करिब १९ हजार विद्यार्थीले छात्रवृत्ति पाएका छन्,’ बालेनले भनेका छन्, ‘कानुन निर्माणको महत्त्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ। त्यसैले, हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौं।’