थापा एआईजीमा सिफारिस

गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुल थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्न सिफारिस गरेको छ ।

Advertisement 1

गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले सोमबार डीआईजी थापालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । सिफारिसबारे थप निर्णय मन्त्रिपरिषद् बैठकले गर्नेछ । मन्त्रिपरिषद्को गत साता बसेको बैठकले प्रहरीमा साधारण (प्रशासन) सेवातर्फ एआईजीको एउटा दरबन्दी थपेको थियो । त्यही थप भएको दरबन्दीमा थापाको बढुवा भएको हो । हाल प्रहरीमा कार्य तथा अपराध अनुसन्धान, प्रशासन तथा मानव स्रोत विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र महानगरीय प्रहरी कार्यालयमा एआईजीको दरबन्दी छ । २०४९ चैत ११ मा सेवा प्रवेश गरेका थापा गत वर्ष डीआईजीमा बढुवा भएका थिए ।

हालका महानिरीक्षक शैलेश थापा क्षत्रीसहित २०४९ वैशाख १९ मा सेवा प्रवेश गरेका अधिकृतले अबको १० महिनापछि ३० वर्षे सेवा हदका कारण अवकाश पाउने छन् । त्यसपछि २०४९ चैत ११ मा सेवा प्रवेश गरेकामध्येबाट प्रहरीले नेतृत्व पाउनेछ । यही ब्याचका विश्वराज पोखरेल गत मंसिर २५ मा डीआईजीबाट एआईजीमा बढुवा भइसकेका छन् । आईजीपी थापाको अवकाशपछि वरिष्ठताका आधारमा पोखरेल नेतृत्वका दाबेदार हुन् । पोखरेलकै ब्याचका डीआईजी थापा ७ महिनापछि एआईजीमा सिफारिस भएका हुन् ।

प्रकाशित :२०७८ असार १५, मंगलवार १३:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry