एनएमबि बैंकले ल्यायो लुप क्रेडिट र इएमआई सेवा

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सहज डिजिटल कर्जा तथा किस्ताबन्दी भुक्तानी सुविधा उपलब्ध गराउने उद्देश्यले सिटीटेक ग्रुप र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग सहकार्य गरेको छ।
Advertisement 1
बैंकले लुप (LOOP) नेटवर्कमा ‘इसुअर बैंक’ का रूपमा आबद्ध हुन दुवै संस्थासँग त्रिपक्षीय सम्झौता गरेको हो। यस सहकार्यसँगै बैंकका ग्राहकले डिजिटल माध्यमबाट तत्काल खरिद कर्जा (लुप क्रेडिट) तथा मासिक किस्ताबन्दी (लुप इएमआई) सुविधा प्राप्त गर्न सक्नेछन्।
सम्झौताअनुसार एनएमबि बैंकका ग्राहकले लुप नेटवर्कमा आबद्ध विभिन्न पसल तथा व्यावसायिक संस्थाबाट सामान खरिद गर्दा तत्काल पर्चेज क्रेडिट सुविधा लिन सक्नेछन्। यसले ग्राहकलाई आवश्यक सामग्री खरिदका लागि सहज रूपमा वित्तीय पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको छ।
Advertisement 2
त्यसैगरी, ग्राहकले आफ्नो एनएमबि डेबिट कार्ड वा क्यूआर (QR) मार्फत गरेको भुक्तानीलाई पनि लुप इएमआई सुविधामार्फत मासिक किस्तामा रूपान्तरण गर्न सक्नेछन्। यसबाट एकैपटक ठूलो रकम भुक्तानी गर्नुपर्ने दबाब कम हुनुका साथै खर्च व्यवस्थापन र भुक्तानी प्रक्रियालाई सहज बनाउन सहयोग पुग्ने बैंकको विश्वास छ।
डिजिटल प्रविधिमा आधारित यस सेवाले ग्राहकलाई आवश्यक वस्तु तथा सेवा खरिद गर्न थप लचकता प्रदान गर्नुका साथै भुक्तानी प्रणालीलाई सरल र सुविधाजनक बनाउने अपेक्षा गरिएको छ।
Advertisement 3
यस सहकार्यबाट डिजिटल बैंकिङ सेवाको विस्तार, ग्राहकको वित्तीय पहुँच अभिवृद्धि तथा प्रविधिमा आधारित भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्ने दिशामा सहयोग पुग्ने देखिन्छ।













