परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद

काठमाडौं। नेपालस्थित संयुक्त अरब इमिरेट्स (युएई) को राजदूतावास र अन्तरराष्ट्रिय जल व्यवस्थापन संस्था (इमी) ले आज परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद गरिएको छ।
‘परिवर्तनशील हिमालयमा जल सुरक्षाः आर्थिक वृद्धि, खाद्य सुरक्षा र समावेशिताका लागि विपद् उत्थानशीलता र रूपान्तरणको सम्भावना उजागर’ विषयमा आज यहाँ आयोजित संवादमा हिमालय क्षेत्रमा जल सुरक्षाका विषयमा छलफल भएको हो।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव डा जगदीश्वर कर्माचार्य, इमीका महानिर्देशक डा मार्क स्मिथ, यहाँस्थित बेलायती दूतावासका वरिष्ठ विकास परामर्शदाता एलेक्स लाउ र राष्ट्रिय योजना आयोगका सदस्य डा देवेन्द्र गौचनले जलवायुका असर र बच्ने उपायबारे धारणा व्यक्त गर्दै हिमनदीको पग्लिने क्रम, अनियमित मनसुन र हिमताल विस्फोट भई हुने बाढीका घटना अब अनुमान सीमित नरहेका बताए।
हिमालयले करिब २ अर्ब मानिसको जीवन धान्ने नदीहरूलाई पानी प्रदान गरेको उल्लेख गर्दै उनीहरूले यसको संरक्षणमा जोड दिए। नेपालका लागि युएईका राजदूत अब्दुल्ला सइद मुबारक जरवान अल शम्सीले युएईले जल कूटनीतिलाई रणनीतिक आवश्यकताका रूपमा लिएको बताउँदै नेपालसँग समुद्री पानी प्रशोधन तथा एकीकृत जल व्यवस्थापनमा आफ्नो अनुभव साझा गर्न तयार रहेको बताए।
युएई र सेनेगलले सन् २०२६ को संयुक्त राष्ट्रसङ्घीय जल सम्मेलन २०२६ डिसेम्बर ८ देखि १० तरिखसम्म अबुधाबीमा आयोजना गर्दैछन्।
प्रकाशित :२०८३ आश्विन १५, बिहीबार १६:०९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%







