भानु नगरपालिकाबाट जग्गा प्रशासन सेवा सुरु

तनहुँ। तनहुँको भानु नगरपालिकाले जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह सुरु गरेको छ।
Advertisement 1
भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आवश्यक स्वीकृति प्राप्त भएपछि नगरपालिकाले सोमबारदेखि स्थानीय तहमै जग्गा प्रशासन सेवा सुरु गरेको हो। भूमि प्रशासन सेवा स्थानीय तहमै उपलब्ध हुन थालेपछि भानु नगरपालिकाका सेवाग्राहीलाई जग्गासम्बन्धी कामका लागि सदरमुकाम दमौली धाउनुपर्ने बाध्यता हटेको छ। सेवा सुरु भएसँगै नगरपालिकाले जग्गा प्रशासनको कामलाई स्थानीय तहबाटै सहज, छिटो र प्रभावकारी रूपमा उपलब्ध गराइने जनाएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भर्चुअल माध्यमबाट सेवा प्रवाहको शुभारम्भ गर्दै स्थानीय तहबाटै भूमि प्रशासन सेवा उपलब्ध गराउने कार्यले नागरिकलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो। सेवा शुभारम्भसँगै नगरपालिकाले पहिलो सेवाग्राहीका रूपमा भानु नगरपालिका–२ निवासी तोरणबहादुर अधिकारीलाई जग्गाधनी प्रमाणपत्र र जग्गाको नक्सा प्रदान गरेको छ।
Advertisement 2
भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले भूमिसम्बन्धी सम्पूर्ण सेवा नगरपालिकाबाटै उपलब्ध हुन थालेपछि नगरवासीलाई ठूलो सुविधा पुगेको बताए। उनका अनुसार स्थानीय तहबाटै सेवा उपलब्ध हुने भएपछि सेवाग्राहीको समय, खर्च र झन्झट बचत हुनेछ। नगरपालिकाले जग्गा प्रशासनसम्बन्धी सेवा सञ्चालनका लागि छुट्टै भूमि व्यवस्थापन शाखा गठन गरेको छ। उक्त शाखाअन्तर्गत विभिन्न प्रकृतिका कामलाई व्यवस्थित गर्न भूसेवा केन्द्र तथा कागजात परीक्षण फाँट, लिखित रजिष्ट्रेशन तथा जग्गा प्रशासन फाँट, नक्सा अद्यावधिक फाँट र तामेली फाँट स्थापना गरिएको नगरप्रमुख त्रिपाठीले जानकारी दिए।
स्थानीय तहबाटै जग्गा प्रशासनसम्बन्धी सेवा उपलब्ध हुन थालेपछि सरकारी सेवा नागरिकको घरदैलो नजिक पु¥याउने उद्देश्यलाई समेत सहयोग पुग्ने सेवाग्राही तोरणबहादुर अधिकारीले बताए। उपप्रमुख उमा गोतामले नगरपालिकाले सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन आवश्यक जनशक्ति, अभिलेख व्यवस्थापन तथा प्राविधिक पूर्वाधारलाई थप व्यवस्थित बनाइने जानकारी दिए।








