कोरोनाको दोश्रो भेरियन्टसँग कसरी लड्दैछ कालिका गाउँपालिका ?

०५९ सालबाट निजामती सेवामा प्रवेश गरेका यादब सापकोटा अहिले रसुवाको कालिका गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन्् । जागिरे जीवनको सिलसिलामा मध्यपश्चिमाञ्चल,प्युठानमा हुँदै काभ्रे जिल्ला, उपत्यकाभित्रै तीन बर्ष हरिहण नगरपालिका,राजविराज नगरपालिका, हरिपुर नगरपालिका,बराहताल गाउँपालिका सुर्खेत, अरुण गाउँपालिका भोजपुर हुँदै हाल रसुवा जिल्लाको कालिका गाउँपालिकामा कार्यरत उनै सापकोटालाई हाम्रो प्रश्न थियो कोरोनाको दोश्रो भेरियन्टसँग कालिका गाउँपालिका कसरी लडिरहेको छ ?
अहिले कोरोनाले विश्व नै त्रसित बनाएको छ । कोरोनाको दोश्रो लहरबाट नेपाल पनि अछुत रहेन । देशभरी महामारी फैलदा रसुवामा पनि कोभिडको दोश्रो भेरियन्ट फैलिरहेको अबस्था छ । अघिल्लो बर्ष रसुवामा अन्तिम अवस्थामा मात्र कोभिड फैलिएको थियो ।
यो बर्ष कोरोना रोकथाम तथा नियन्त्रणका लागि १५ बेडको आइसोलेसन चालु अवस्थामा राखेका थियौं भने ३० बेडको आइसोलेसन केन्द्र । केही संक्रमितलाई यहाँ राखेर उपचार गरायौं,उहाँहरुले कोभिडलाई परास्त गरेर आफ्नै घरमा फर्किसक्नु भएको छ । ३० बेडमध्य १० ओटा बेडमा अक्सिजन समेत जडान गरेका छौं । हाम्रो अक्सिजन संञ्चालन गर्ने क्षमता २० बेडको रहेको छ । यस्तै अक्सिजन सिलिन्डर तयारी अवस्थामा छन् । ८ ओटा अक्सिजन कन्सटेन्टरहरु किनेर तयारी अवस्थामा राखेका छौं ।
पालिकाभित्रका ९१ जनामा मात्र कोरोना भाइरस पोजेटिभ देखिएको छ । हामीले पूर्व तयारीका साथ कालिका विद्यालयमा ५० शैयाको क्वारेन्टाइन निर्माण गरेका छौं । त्यसमा शुरुमा २ जनालाई राखेका थियौं । जिल्ला बाहिरबाट आएकाहरुको सवै परिक्षण गरेरमात्र भित्रन दिएका थियौं । कोभिड संक्रमण देखिएमा वा पृष्टि भएकाहरुलाई हामीले आइसोलेसनमा राख्दै आएका छौं । हालसम्म २५० जना भन्दा बढीको स्वाब परिक्षण गरिसकेका छौं । हामीलाइ अन्य ठाउँ वा स्थानीय तहको जस्तो जनशक्तीको अभाव रहेको छैन् । सुविधासम्पन्न हस्पिटलसम्म लैजाने व्यवस्था गरेका छौं । हामीले संक्रमित व्यक्तिको ओसार पसारका लागि तीन वटा गाडी प्रयोगमा छन् । दिनप्रति दिन कोरोना संक्रमित बढेसँगै हाल पालिका अध्यक्षले चढ्ने गाडी नै संक्रमितको ओसार पसारका लागि प्रयोग भइरहेको छ । अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छौं ।
प्रस्तुति महेश्वर गजुरेल