स्थानीय तहमा खाद्य निरीक्षक राख्न संघीय सरकारको निर्देशन, खाद्य बजारको अनुगमन अब स्थानीय तहबाटै

काठमाडौं। संघीय सरकारले स्थानीय तहलाई खाद्य स्वच्छता तथा गुणस्तरको प्रभावकारी नियमनका लागि खाद्य निरीक्षकको व्यवस्था गर्न निर्देशन दिएको छ। ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ ले गरेको व्यवस्थाअनुसार स्थानीय तहमा खाद्य निरीक्षक नियुक्त गरी खाद्य बजारको नियमित अनुगमन, निरीक्षण र नियमन गर्नुपर्ने भएकाले संघीय सरकारले त्यसको कार्यान्वयनमा जोड दिएको हो।
Advertisement 1
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ऐनमा भएको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै स्थानीय तहमा आवश्यक पहल गर्न अनुरोध गरेपछि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार देशभरका सबै स्थानीय तहलाई परिपत्र गरेको छ।
परिपत्रमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र खाद्य निरीक्षकको व्यवस्था गरी खाद्य व्यवसाय, उत्पादन, बिक्री–वितरण तथा उपभोगसँग सम्बन्धित गतिविधिको नियमित अनुगमन र नियमन गर्नुपर्ने उल्लेख गरिएको छ।
Advertisement 2
सरकारको अपेक्षाअनुसार स्थानीय तहमा खाद्य निरीक्षकको व्यवस्था भएपछि बजारमा बिक्री हुने खाद्यवस्तुको गुणस्तर परीक्षण, स्वच्छताको मापदण्ड कार्यान्वयन, उपभोक्ता हित संरक्षण तथा खाद्यजन्य जोखिम न्यूनीकरणमा स्थानीय सरकारको भूमिका थप प्रभावकारी हुने विश्वास गरिएको छ।
हालसम्म अधिकांश स्थानीय तहमा खाद्य निरीक्षणका लागि छुट्टै जनशक्ति नहुँदा खाद्य बजारको नियमित अनुगमनमा चुनौती देखिँदै आएको थियो। नयाँ कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयनसँगै स्थानीय सरकारले खाद्य सुरक्षासम्बन्धी जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेछ।
Advertisement 3
संघीय सरकारले परिपत्रमार्फत ऐनले दिएको जिम्मेवारीअनुसार आवश्यक प्रशासनिक तथा जनशक्ति व्यवस्थापन गरी खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी प्रावधान कार्यान्वयनमा सक्रिय हुन सबै स्थानीय तहलाई आग्रह गरेको छ।








