बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल

बागमती। बागमती प्रदेशमा सरकार गठनका लागि दलहरु छलफलमा जुटेका छन्।
Advertisement 1
यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नेपाली कांग्रेसलाई दिएको समर्थन फिर्ता लिएपछि सो प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरु छलफलमा जुटेका हुन्।
बागमती प्रदेशसभामा कुल १०४ सदस्य छन्। नेपाली कांग्रेस ३६, नेपाली कम्युनिष्ट पार्टी २६, नेपाल कम्युनिष्ट पार्टी (एमाले) २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग १२, नेपाल मज्दुर किसान पार्टी (नेमकिपा) सँग ३ र हाम्रो नेपाली पार्टीसँग २ सिट रहेको छ।
Advertisement 2
बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ जना सांसदको समर्थन आवश्यक पर्छ।
नयाँ सरकार गठनका लागि नेकपा (एमाले) र नेकपाबीच सत्ता गठबन्धनको सहमति भए पनि बागमतीमा यी २ दलबाट मात्र सरकार बन्ने अवस्था छैन।
नेकपा (एमाले)ले सरकार गठनका लागि नेकपासहित साझेदारीको सम्भावना रहेका दलसँग निरन्तर छलफल गरिरहेको नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए।
Advertisement 3
प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि छलफल अघि बढाएको नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक पुकार महर्जनले बताए।
कांग्रेसले सरकार गठनका सम्बन्धमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेमकिपा र हाम्रो नेपाली पार्टीसँग छलफल गरिरहेको उनले बताए।








