नरैनापुरमा सुरक्षित मातृत्वतर्फ ठूलो फड्को, एक वर्षमै १,१५१ महिलाले लिए संस्थागत प्रसूति सेवा

बाँके। कुनै समय प्रसूति व्यथा लागेपछि परिवारका सदस्यको सबैभन्दा ठूलो चिन्ता हुन्थ्यो। आमालाई समयमै अस्पताल कसरी पु¥याउने? सडकको अभाव, एम्बुलेन्स नहुनु, स्वास्थ्य संस्था टाढा हुनु र घरमै सुत्केरी गराउने परम्पराका कारण धेरै आमा र नवजात शिशुले अनावश्यक जोखिम बेहोर्नुपथ्र्यो। तर अहिले बाँकेको दुर्गम नरैनापुर गाउँपालिकाको अवस्था उल्लेखनीय रूपमा फेरिएको छ।
Advertisement 1
घरमै सुत्केरी गराउने पुरानो अभ्यास क्रमशः घट्दै गएको छ भने गाउँपालिकाका वडा–वडामा सञ्चालनमा रहेका वर्थिङ सेन्टरहरू सुरक्षित मातृत्वका भरपर्दा केन्द्रका रूपमा स्थापित भएका छन्। स्थानीय सरकारको लगानी, स्वास्थ्य सेवाको पहुँच विस्तार र समुदायमा बढेको जनचेतनाले संस्थागत सुत्केरीप्रति विश्वास बढाएको स्वास्थ्यकर्मीहरू बताउँछन्।
गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा नरैनापुरका विभिन्न वर्थिङ सेन्टरबाट १ हजार १५१ जना महिलाले सुरक्षित प्रसूति सेवा लिएका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यो संख्या १ हजार १२३ रहेको थियो। तथ्याङ्कले संस्थागत सुत्केरीको दर निरन्तर बढिरहेको देखाएको छ, जसलाई सुरक्षित मातृत्व अभियानको सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ।
Advertisement 2
नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहका अनुसार केही वर्षअघिसम्म प्रसूति सेवाका लागि नेपालगञ्ज वा भारतका सीमावर्ती अस्पतालसम्म पुग्नुपर्ने बाध्यता थियो। अहिले भने गाउँमै गुणस्तरीय प्रसूति सेवा उपलब्ध हुनु स्थानीयवासीका लागि ठूलो उपलब्धि भएको उनको भनाइ छ।

Advertisement 3
उनले गणतन्त्रपछि सडक, विद्युत्, स्वास्थ्य संस्था र स्वास्थ्य जनशक्तिको विस्तारसँगै नरैनापुरको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन आएको उल्लेख गरे। वडा–वडामा सञ्चालन भएका वर्थिङ सेन्टरले दुर्गम बस्तीका महिलालाई घर नजिकै सुरक्षित प्रसूति सेवा उपलब्ध गराएको उनले बताए।
स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाहका अनुसार पहिले घरमै सुत्केरी गराउने वा अन्तिम अवस्थासम्म स्वास्थ्य संस्थामा नआउने महिलासमेत अहिले नियमित गर्भ परीक्षणदेखि सुत्केरीसम्म वर्थिङ सेन्टरमै आउने गरेका छन्। गाउँपालिकाका वडा नम्बर १ देखि ६ सम्म चौबीसै घण्टा तालिमप्राप्त स्वास्थ्यकर्मीबाट प्रसूति सेवा सञ्चालन भइरहेको उनले जानकारी दिए।
गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म सहज रूपमा ल्याउन निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएकाले दुर्गम बस्तीका महिलाले समेत समयमै सेवा लिन थालेका छन्। जटिल अवस्था देखिएमा तत्काल भेरी अस्पतालमा निःशुल्क रेफर गर्ने तथा ल्याउने–लैजाने व्यवस्था पनि गाउँपालिकाले मिलाएको अध्यक्ष शाहले बताए।
स्वास्थ्य शाखाका अनुसार चालु आर्थिक वर्षमा वडा नम्बर १ मा १८६, वडा नम्बर २ मा १७४, वडा नम्बर ३ मा १०१, वडा नम्बर ४ मा २५४, वडा नम्बर ५ मा २८६ र वडा नम्बर ६ मा १५३ जना महिलाले सुरक्षित प्रसूति सेवा लिएका छन्।
वडा नम्बर १ स्थित कटकुइया स्वास्थ्य चौकीमा कार्यरत अनमी सामना गुरुङका अनुसार पछिल्ला वर्षहरूमा सबैभन्दा ठूलो परिवर्तन महिलाको सोचमा आएको छ।
उनका अनुसार पहिले धेरैजसो गर्भवती महिलाले घरमै सुत्केरी गराउने योजना बनाउने, अस्पताल आउन डराउने र खर्च धेरै लाग्ने सोच राख्ने गर्थे। अहिले भने गर्भ रहेदेखि नै नियमित स्वास्थ्य परीक्षण गर्ने, सुत्केरी हुने समय नजिकिँदै जाँदा आफैँ वर्थिङ सेन्टरसँग सम्पर्क गर्ने र स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति गराउने चलन उल्लेखनीय रूपमा बढेको छ।
गाउँ–गाउँमा पुगेर गरिएको स्वास्थ्य परामर्श, महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियता, परिवारको बढ्दो सहयोग र गाउँपालिकाले उपलब्ध गराएको निःशुल्क एम्बुलेन्स सेवाले समुदायको सोच परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।
अनमी गुरुङका अनुसार सुत्केरी सामान्य प्रक्रिया भए पनि कुनै पनि बेला जटिल अवस्था आउन सक्ने भएकाले प्रशिक्षित स्वास्थ्यकर्मीको निगरानीमा हुने प्रसूति नै आमा र नवजात शिशु दुवैका लागि सुरक्षित हुन्छ। अहिले धेरै महिलाले आफन्त र छिमेकीलाई समेत घरमा नभई स्वास्थ्य संस्थामै सुत्केरी गराउन प्रेरित गर्न थालेको उनले बताए।
उनले अझै पनि केही दुर्गम बस्तीमा पुराना मान्यता बाँकी रहे पनि संस्थागत प्रसूति नै आमा र शिशुको जीवन सुरक्षित राख्ने सबैभन्दा प्रभावकारी उपाय भएकाले सबै गर्भवती महिलालाई स्वास्थ्य संस्थामै सुत्केरी गराउन आग्रह गरे।
एक समय आधारभूत स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको नरैनापुर अहिले सुरक्षित मातृत्वको क्षेत्रमा सकारात्मक उदाहरण बन्दै गएको छ। स्थानीय सरकारको प्रतिबद्धता, स्वास्थ्यकर्मीको समर्पण र समुदायमा बढ्दो जनचेतनाका कारण जोखिमपूर्ण घरायसी सुत्केरीको अभ्यास घट्दै गएको छ भने संस्थागत प्रसूति गाउँपालिकाको नयाँ सामाजिक संस्कारका रूपमा स्थापित हुँदै गएको देखिन्छ।








