ताराध्वजको जिम्मा अशोकलाई
नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएका छन् ।
Advertisement 1
जन्ममिति विवादमा परेपछि उनले पदबाट राजीनामा दिएका हुन् । बिहीबार नै उनले प्रधानसेनापति प्रभुराम शर्मासमक्ष राजीनामा बुझाएका हुन्।
उपरथी पाण्डेले राजीनामा दिएसँगै उनको ठाउँमा दुईतारे जर्नेल अशोक सिग्देललाई लगिने भएको छ । दुई तारे जर्नेल सिग्देल तीन तारेमा बढुवा हुने निश्चित भएको छ । आज बेलुकासम्ममा पाण्डेको राजीनामा स्वीकृत हुने र सिग्देलले निमित्त बलाध्यक्षको जिम्मेवारी लिने बुझिएको छ ।
Advertisement 2
बलाध्यक्ष रथी सरोजप्रताप राणा कात्तिक दोस्रो साता अवकाशमा गएसँगै एक वर्षपछि सेनामा नयाँ प्रधानसेनापति को बन्ने भन्ने टुंगो लागिसकेको छैन । सैनिक ऐनअनुसार वरिष्ठ उपरथीलाई रथीमा सिफारिस गरिन्छ । सोहीअनुसार वरिष्ठ उपरथी पाण्डेको बढुवाको प्रक्रियामा सैनिक मुख्यालयले प्रक्रिया थालेको थियो।
पाण्डेको उमेरमा विवाद उत्पन्न भएपछि प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा मुख्यालयभित्रै बलाधिकृत रथी सीताराम खड्काको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको थियो ।सैनिक सेवा नियमावलीअनुसार जंगी अड्डाले पाण्डेविरुद्ध सातदिने उजुरी पनि आह्वान गरेको थियो । पाण्डेको जन्ममिति फरकफरक भएको नागरिकता र शैक्षिक प्रमाणपत्रसहितको फोटोकपी रक्षा मन्त्रालय र अन्य निकायमा पुगेको थियो । उनको जन्ममिति २०२१ र २०२३ साल उल्लेख गरिएका दस्ताबेजबाहिर आएका छन् ।सैनिक स्रोतका अनुसार आफूमाथि उठेका प्रश्नलाई लिएर पाण्डेले सेनाभित्र आफ्नो दस्ताबेजमा २०२३ सालकै जन्म रहेको र सबै दस्ताबेजमा एउटा उमेर रहेको दाबी गरेका थिए । बाहिरको दस्ताबेज र उपरथी पाण्डेको भनाइ बाझिएपछि सेनाले छानबिन सुरु गरेको थियो ।
Advertisement 3
उपरथी पाण्डे बढुवा नभएको अवस्थामा मंसिरको दोस्रो साता अनिवार्य अवकाशमा जाँदै थिए ।प्रधानसेनापति प्रभुराम शर्माको ३ वर्षे कार्यकाल अर्को वर्षको भदौ २४ मा सकिँदै छ । त्यसपछि वरिष्ठताका आधारमा पाण्डे प्रधानसेनापति बन्ने लाइनमा थिए ।