चितवन राष्ट्रिय निकुञ्जले उच्च सतर्कता बढायो

चितवन। प्रतिनिधिसभा निर्वाचन २०८२ को मिति नजिकिँदै जाँदा चितवन राष्ट्रिय निकुञ्जभित्र चोरी सिकारी हुनसक्ने जनाउँदै उच्च सतर्कता बढाएको छ। निर्वाचनका समयमा नयाँ मानिसहरूको आवतजावत बढ्ने र चोरी सिकारी हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको हो।

Advertisement 1

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अहिले स्थानीय, सरोकारवाला निकायहरूसँगको सहकार्यमा सुरक्षा व्यवस्था मिलाइएको छ। निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना, निकुञ्ज प्रशासनले आन्तरिक तथा बाह्य सुरक्षाको व्यवस्था गरेको छ। निर्वाचन लागेपछि चोरी सिकारीको खतरा बढ्ने भएकाले निकुञ्जले त्यहीअनुसार व्यवस्थापन गरेको उनले बताए। निकुञ्ज क्षेत्रको कोर इलाकाभित्र र मध्यवर्ती एवं आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था बलियो बनाइएको छ।

उनका अनुसार चोरी सिकारी नियन्त्रण युवा जागरण अभियान, मध्यवर्ती सामुदायिक वनका पदाधिकारी तथा कर्मचारी र स्थानीयलाई निर्वाचनको समयमा सजग हुन आग्रह गरिएको छ। उनले भने, “प्रतिनिधिसभा निर्वाचनको समयमा निकुञ्ज सुरक्षाका लागि हामी तयार छौँ।” निकुञ्जभित्र र आसपासका क्षेत्रमा गस्ती बढाउने, एम्बुसिङ, स्विमिङलगायत कामलाई निरन्तर कायम राखिने छ। ९५२.६३ वर्ग किलोमिटरमा फैलिएको निकुञ्जमा २२ वटा मध्यवर्ती उपभोक्ता समिति छन्। निकुञ्जभित्र स्थायी ५७ वटा र अस्थायी तीनवटा पोष्ट छन्। उनले भने, “सबै पोष्टलाई उच्च सतर्कमा रहन भनिएको छ। कर्मचारी पनि सोहीअनुसार परिचालन गरिएको छ।”

Advertisement 2

पटिहानी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष साजनकुमार महतो निर्वाचन नजिकिएसँगै उपभोक्ता समितिले पनि उच्च सतर्कता अपनाएको बताउँछन्। निर्वाचनको समयमा नकारात्मक सोच राखेका व्यक्ति सलवलाउन सक्ने भएकाले सबै उपभोक्तासहितले आ–आफ्नो ठाउँबाट चनाखो भएर काम गरेको उनले बताए। उनले भने, “चोरी सिकारी हुनसक्छ कि भनेर निगरानी बढाइएको छ। चनाखो रहन सबै उपभोक्तालाई आग्रह गरिएको छ।” उपभोक्ता समितिहरू वन्यजन्तु संरक्षणका लागि सधैँ एक भएर काम गर्दै आएको उनको भनाइ छ।

अहिले निकुञ्ज क्षेत्रमा रहेका मध्यवर्ती उपभोक्ता समितिहरूको निर्वाचन पनि भइराखेकाले केही बढी सक्रियता बढेको छभने संरक्षण शिक्षाका बारेमा पनि ज्ञान दिइँदै आएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्त निर्वाचनको समयमा सबैको ध्यान निर्बाचनतर्फ केन्द्रित हुँदा चोरी सिकार हुनसक्ने भएकाले पूर्वतयारीस्वरुप कडाइका साथ काम गरिएको बताउँछन्। उनले भने, “हामी सधैँ चनाखो अवस्थामा रहन्छौँ, यतिबेला थप चनाखो बनेका छाँै।”

प्रकाशित :२०८२ माघ ६, मंगलवार ११:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry