संरक्षण पर्खाइमा ताप्लेजुङ सुरुम्खिमस्थित चमेरे गुफा

ताप्लेजुङ। ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिमस्थित चमेरे गुफा संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। हजारौँको सङ्ख्यामा चमेराको वासस्थान रहेको गुफा पर्यटकीय सम्भावना प्रशस्त भए पनि संरक्षण र प्रचारप्रसारको अभावमा गुमनाम छ।

Advertisement 1

सुरुम्खिमको अमटार बस्ती नजिकै रहेको गुफामा वर्षौंदेखि चमेरा बस्दैआएको स्थानीय श्याम तामाङले बताए। उनका अनुसार, २ दशकअघि जति सङ्ख्यामा चमेरा देखिन्थे, अहिले पनि उही सङ्ख्यामा रहेको पाइन्छ। त्यस गुफाको प्रचारप्रसारसँगै संरक्षण हुनसके त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुग्ने स्थानीयको भनाइछ।

स्थानीय तिलबहादुर तामाङका अनुसार केही वर्षअघिसम्म आन्तरिक पर्यटक गुफा अवलोकन गर्न पुग्थे। पछिल्लो समय गुफासम्म पुग्ने सहज बाटो नहुँुदा त्यहाँ हेर्न जाने आन्तरिक पर्यटकको सङ्ख्या घटेको छ।

Advertisement 2

चमेरा पाइने गुफा नेपालमा सीमित भएकाले त्यस गुफाको संरक्षण गर्दै त्यस क्षेत्रमा पर्यटकको सुविधाका लागि सडक, होटललगायतका आवश्यक पूर्वाधार निर्माण गर्न आवश्यक रहेको स्थानीयको भनाइ छ।

वडाध्यक्ष लक्ष्मण तामाङले गुणस्तरीय सडकको पहुँच र अन्य पूर्वाधार निर्माणका लागि बजेट अभाव रहेकाले त्यसका लागि प्रदेश सरकारसँग छलफल भइरहेको बताए।

Advertisement 3

विज्ञका अनुसार स्तनधारी जीव चमेरो जैविक विविधता संरक्षण, परागसेचन तथा कीरा नियन्त्रणका दृष्टिले महत्वपूर्ण प्रजातिका रुपमा लिने गरिएको छ। चमेरोको प्राकृतिक वासस्थानको संरक्षण वातावरणीय सन्तुलनका लागि पनि आवश्यक मानिएको छ।

प्रकाशित :२०८३ असार ३०, मंगलवार १४:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry