त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सुरु, पहिलो चरणमा ओपिडीबाट उपलब्ध हुने

काठमाडौं। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले केही महिनादेखि स्थगित रहेको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ। अस्पतालले असार १५ गतेदेखि (आज) पहिलो चरणमा बहिरंग सेवा (ओपिडी) मार्फत बिमाअन्तर्गत उपचार सेवा उपलब्ध गराउने जनाएको छ।
Advertisement 1
अस्पतालका कार्यकारी निर्देशक डा. सुभाषप्रसाद आचार्यका अनुसार प्रारम्भमा ओपिडी सेवाबाट कार्यक्रम सञ्चालन गरिनेछ भने आवश्यक तयारी पूरा भएपछि बिस्तारै अन्य सेवामा पनि स्वास्थ्य बिमा सुविधा विस्तार गरिनेछ।
बिमाअन्तर्गत उपचार गरेबापतको भुक्तानी लामो समयसम्म प्राप्त हुन नसकेपछि अस्पतालले गत माघ १ गतेदेखि उक्त सेवा स्थगित गरेको थियो। हाल स्वास्थ्य बिमा बोर्डबाट बाँकी भुक्तानी प्राप्त भएपछि सेवा पुनः सञ्चालन गर्ने निर्णय गरिएको अस्पतालले जनाएको छ।
Advertisement 2
अस्पतालका अनुसार स्वास्थ्य बिमाको टिकट बिहान ७ बजेदेखि ११ बजेसम्म तथा दिउँसो १ बजेदेखि २ः३० बजेसम्म वितरण गरिने व्यवस्था गरिएको छ।
त्रिवि शिक्षण अस्पतालले विसं २०७७ देखि स्वास्थ्य बिमा कार्यक्रममार्फत नियमित रूपमा उपचार सेवा प्रदान गर्दै आएको छ। अब सेवा पुनः सञ्चालनसँगै बिमित नागरिकलाई उपचार सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।








