न्यौपानेको एक्सनपछि हुलाक सेवामा व्यापक सुधार

अञ्जानकुमार।
जिल्ला हुलाक कार्यालय लमजुङको कार्यालय प्रमुखका रूपमा गत २०८२ साल पुस १६ गते हाजिर भएका हुलाक अधिकृत श्याम विक्रम न्यौपानेले छोटो अवधिमा नै लमजुङको हुलाक सेवा सुधारमा महत्तवपूर्ण प्रयास गरेका छन् । सुरुवाती दिनमा कर्मचारीको नियमितता, निष्पक्षता, उत्तरदायित्व र प्रभावकारिता लगायतका विषयमा र आचारसंहितामा कडाई गरेका उनले पछिल्लो समय कार्यालयको संरचनागत र सङ्गठनात्मक प्रभावकारिता अभिवृद्धिमा प्रयास गरेको देखिन्छ । ५ महिनाको छोटो समयमा नै उनले बेसीशहर नगरपालिकामा हुलाक काउन्टर स्थापना गर्ने देखि स्थानीय हुलाक कार्यालयमा दरबन्दी अनुसार कार्यालय प्रमुखहरू तोक्ने र जिम्मेवारी दिने काम सम्पन्न गरेका हुन् ।

Advertisement 1

स्थानीय हुलाक कार्यालयहरूको कार्यालय प्रमुखको रूपमा नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह रा.प.अन द्वितीय श्रेणीका खरिदारहरूको दरबन्दी रहने भए पनि लामो समयदेखि सो दरबन्दी पूर्ति हुन नसकेको र उक्त कारणले सेवा प्रवाहमा गुनासो बढेको देखेपछि उपलब्ध कर्मचारीहरूलाई आवश्यकताअनुसार स्थानीय हुलाक कार्यालयमा खटाउने र जिम्मेवारी तोक्ने काम गरेको हुलाक अधिकृत न्यौपानेले बताए । उनले २०८३ असार १ गतेपछि क्व्होलासोथार र दूधपोखरी गा.पा बाहेकका पालिका हुलाक कार्यालयहरूमा पालिका हुलाक कार्यालयका प्रमुखका रूपमा कर्मचारीहरू दरबन्दी अनुसार खटिने व्यवस्था मिलाएको जानकारी दिएका छन् । त्यस्तै उनले रिक्त दरबन्दीमा लोकसेवा आयोगसँग कर्मचारी माग गरिसकेको बताउँदै लोकसेवा आयोगबाट कर्मचारी प्राप्त हुनासाथ ती कार्यालयहरूमा समेत कर्मचारी पूर्ति गरिने र त्यसो नहुँदा सम्मका लागि जिल्ला हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरूलाई उल्लिखित पालिका हुलाक कार्यालयसँग निरन्तर समन्वय र सहजीकरण गर्दै नेतृत्व लिने गरी थप जिम्मेवारी तोकिएको समेत उनले बताएका छन् ।

Advertisement 2

जिल्ला हुलाक कार्यालय लमजुङको २०८१ सालमा स्वीकृत पछिल्लो सङ्गठन संरचना अनुसार एक पालिका एक हुलाक गरी ७ स्थानीय तहमा पालिका हुलाक कार्यालय र बेसीशहर नगरपालिकामा एउटा हुलाक काउन्टर रहने व्यवस्था भए पनि बेसीशहर नगरपालिका अन्तर्गत हालसम्म पनि हुलाक काउन्टर स्थापना हुन सकेको थिएन । यस्तो अवस्थामा उनले बेसीशहर नगरपालिका वडा नं. ११ मा रहेको जिल्ला हुलाक कार्यालय लमजुङको साविक फलियासाँघु हुलाक कार्यालयको जीर्ण भवनलाई मर्मत सम्भार गरी आफ्नै जमिन र भवनमा हुलाक काउन्टर स्थापना गरी सञ्चालनमा ल्याएका हुन् । उक्त कार्य सम्पादनका लागि सहयोग गर्ने सो क्षेत्रका स्थानीय बासिन्दा, बेसीशहर नगरपालिकाका वडा नं. ११ का वडाध्यक्ष शिवप्रसाद जोशी र मातहतका कर्मचारीहरूको सहयोगी भूमिका स्मरणीय रहको पनि उनले बताएका छन् । वि.सं. २०८३ साल जेठ २९ गते हुलाक सेवा विभागकी महानिर्देशक मनमाया पङ्गेनी भट्टाराईले उक्त हुलाक काउन्टरको उद्घाटन गरेसँगै उक्त कार्यालय सञ्चालनमा आएको छ ।

हुलाक अधिकृत न्यौपानेका अनुसार उक्त हुलाक काउन्टरको स्थापनाले सार्वजनिक सम्पत्तिको संरक्षण र स्वीकृत सङ्गठन संरचना अनुसारको व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्नुका अतिरिक्त उक्त क्षेत्रका नागरिकको हुलाक सेवामा सहज पहुँचलाई पनि स्थापित गरेको छ । उनले हाललाई बेसीशहर नगरपालिका अन्तर्गतका केही वडाहरूले उक्त कार्यालयबाट सेवा पाउने देखिए पनि भविष्यमा दोर्दी गाउँपालिकाका र सुन्दरबजार नगरपालिकाका केही वडाहरूको कार्यक्षेत्र समेत हेरफेर गरी उक्त कार्यालय मार्फत सेवा प्रवाह गर्दा सेवाप्रवाह सहज र सरल हुन सक्ने तर्फ समेत आफूले अध्ययन गरिरहेको बताए ।

Advertisement 3

नेपाल सरकार मन्त्रीपरिषद्को २०८२ चैत १३ गतेको बैठकको निर्णयबाट हुलाक सेवाको आधुनिकीकरण गरी सरकारी कुरियर सेवाको रूपमा विकास गर्ने र राहदानी, सवारी चालक अनुमतिपत्र, नागरिकताको प्रतिलिपि लगायतका सरकारी कागजातहरू व्यक्तिको घरसम्म नै ढुवानी गर्ने नीति लिए अनुसार राहदानी ढुवानीको काम सुचारु गरिसकेको लमजुङ हुलाकले निकट भविष्यमा नै सवारी चालक अनुमतिपत्र लागयतका अन्य सरकारी कागजातसमेत सेवाग्राहीको घरसम्मनै ढुवानी गर्ने गरी योजना रहेको बताएको छ ।

प्रकाशित :२०८३ असार ४, बिहीबार १७:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry