शिक्षा के का लागि? (जीवन वा जीविका)

जीवन के हो र यसलाई कसरी पाउने? यसलाई पहिला बुझौ। गीतामा भनिएको छ– जीवन भनेको जन्म र मृत्यु बीचको समय मात्र हैन, यो आत्माको यात्रा पनि हो र यो न जन्मिन्छ न मर्छ। शरीर नाशवान् छ तर आत्मा अमर छ। गीताको दृष्टिमा जीवनको अर्थ कर्तब्य पालना गर्नु, निष्काम कर्म गर्नु, आत्मिक विकास गर्नु, समत्व भाव राख्नु, मोक्षको यात्रा गर्नु हो। यसैले हाम्रो शिक्षाले जीवनका यी पक्षलाई समेत सम्बोधन गर्न सक्नु पर्ने हुन्छ।
Advertisement 1
त्यसै गरी जीविका पक्षलाई हेरौ– जीविका भन्नाले जीवनको निरन्तरताका लागि गरिने कार्य हो जसले जीवनलाई समृद्ध बनाउन मद्दत गर्छ। यसलाई अर्को अर्थमा रोजगारी भनिन्छ। रोजगारी बिना जीवन चल्न सक्दैन। वर्तमान समयमा दिईने शिक्षाको ध्येय नै रोजगारीमा आधारित भएको पाईन्छ। हो, अवश्य पनि बेरोजगारी बढी भएमा समाजमा विभिन्न अपराध–जन्य कृयाकलाप हुन्छन् र यूवाहरू त्यस्तै गतिविधि तिर लाग्न सक्ने र देशको विकास समेत पछाडि पर्ने हुन्छ, त्यसैले जीविकालाई बल पुग्ने शिक्षा पनि चाहिन्छ। यसको अर्थ फेरि पनि के हैन भने जीवनलाई पन्छाएर जीविकालाई मात्र आधार मानेर दिईने शिक्षाले मानिस आफ्नो कर्तब्य, आत्म अनुशासन, सामाजिक मूल्य मान्यताबाट टाढिन पुग्छ भन्ने कुरा बिर्सन मिल्दैन।
अहिलेका यूवालाई राज्यले जीवन तिर भन्दा जीविका तिर जोड लगाएको पाईन्छ। एक त वालकले प्रारम्भिक जीवन विताउने परिवार र समाज समेत जीवनको शिक्षाबाट क्रमशः टाढिदै गएको पाईन्छ भने यूवा अवस्थामा राज्यले दिने शिक्षा पनि जीविकोपार्जन (ब्यबसाय मुखी) तर्फ उन्मुख भएको हुदा हाम्रा यूवाहरू जीवन संग टाढिदै गएको बुझ्न कठिन छैन। यसको परिणाम के देखिदै छ भने हाम्रा संस्कारहरू क्रमशः धुमिल हुदै छन्, हाम्रा परम्पराहरू हराउदै छन्, यूवाहरू आफ्नो कर्तब्यबाट बिमुख हुदै छन्, सामाजिक मूल्य र मान्यताहरू लोप हुदै छन्, मानिसहरू मेशिन जस्ता हुन थालेका छन्, जीवनको प्राणको रूपमा रहेको आत्म करीव मरे तुल्य हुदै छ।
Advertisement 2
गीताले भनेको छ– कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन। अर्थात फलको आशा राखेर कर्म नगर, केही पाउने ईच्छा राखेर गरिएका कामलाई निष्काम भनिदैन।
अहिलेका यूवाहरू भौतिक प्राप्तिलाई मात्र उपलब्धी मान्छन्। आत्मिक उपलब्धी जुन सारमा देखिदैन, त्यसलाई प्राप्ति मान्न हाम्रा यूवाहरू तयार हुदैनन्। जब प्राप्तिलाई भौतिक रूपमा मापन गरिन्छ त्यो शिक्षा जीविकाको रूपमा लिईने शिक्षा हो भने आत्मिक उपलब्धीको रूपमा मापन गरिने शिक्षा जीवन पद्दतिको शिक्षा हो। अहिले ठूलाबडाको सम्मान गर्ने विषय, आफ्ना अग्रजलाई सम्मान गर्ने विषय क्रमशः ओझेलमा पर्दै जानु भनेको जीवन पद्दति तर्फको शिक्षामा ह्रास आउनु हो। यस्तो प्रवृत्तिले हाम्रो समाज क्रमशः रूखो र जर्जर हुदै गएको अनुभूति हुदैछ।
हाम्रो समाजले आंखाले देखेको र हातले छुन सक्ने चिजलाई मात्र वास्तविक ठान्छ तर भावनात्मक रूपले स्वाकार्नु पर्ने कुरालाई स्वीकार गर्न सक्दैन। हामीले स्पष्ट बुझ्न जरूरी छ कि हामीले जीवनमा भौतिकतालाई मात्र स्वीकार्छौ भने हामी पूर्णतालाई आधा मात्र स्वीकार गरी रहेका हुन्छौ, यसो गर्दा हामी आधा अस्तित्वमा मात्र बांचेका हुन्छौ।
Advertisement 3
वर्तमान यूग नक्कली वौद्धिकता ( Artificial Intelligence) को यूगमा परिणत भएको छ। यसका कतिपय सकारात्मक पक्ष हुदाहुदै पनि यसले रोजगारीको क्षेत्रमा प्रवेश गर्ने मानवीय श्रोतलाई सीमित गरिदिएको छ। अर्ध दक्ष वा दक्ष जनशक्ति क्रमशः विस्थापित हुने परिस्थिति बन्दै छ। यसले जीविकाको शिक्षालाई समेत सीमित गर्दैछ। यस्तो परिस्थितिमा हामी संग न त जीवनको शिक्षा न त जीविकाको शिक्षा दुवैको अवसर कम हुदै जाने निश्चित छ।
हामीले जीवनको शिक्षालाई बिर्सदा हाम्रो जीवनमा पर्दै गएको मरूभूमिकरणलाई पूनः सिंचित गर्दै विज्ञानको वर्तमान प्रगतिलाई मानवको नियन्त्रणमा रहने गरी विज्ञानको सदुपयोग गर्न सक्नु पर्छ। जीवनको शिक्षा र विज्ञानलाई केवल मानवीय हितमा प्रयोग गर्न सके मात्र हाम्रो अस्तित्व कायम राख्न सकिन्छ अन्यथा न रहे बांस, न बजे बांसुरी भन्ने उखान चरीतार्थ हुन पुग्ने छ।








