मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

म्याग्दी। मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा सडक स्तरोन्नति भएको छ।
मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडकको बाबियाचौर–दरबाङ खण्डको वैकल्पिक मानिएको पोक–सेराफाँट–पीपलबोट–छिसवाङ–खोप्टी–छ्यारछ्यारे–दरबाङअन्तर्गत छिसवाङ खण्डमा स्तरोन्नति भएको हो।
सङ्घीय सरकारले चालु आर्थिक वर्षमा रु ३ करोड बजेट विनियोजन गरेको योजना निर्माणका लागि सडक डिभिजन कार्यालय बागलुङसँग ठेक्का सम्झौता गरेको आचार्य–पदमदीप जेभीले लक्ष्यअघि नै काम सम्पन्न गरेको छ।
निर्माण कम्पनीका प्रतिनिधि महेन्द्र आचार्यले गत माघ महिनादेखि सुरु भएको सडक स्तरोन्नति योजनाको म्याद आगामी असारसम्म भए पनि ३ महिनाअघि नै सम्पन्न गरेको बताए। रु २ करोड ५ लाख ५५ हजारमा ठेक्का सम्झौता भएको थियो। खहरेदेखि छिसवाङ हँुदै ओखोलासम्म १ किलोमिटर ५०० मिटर सडकलाई पक्की नालासहित नौ मिटर फराकिलो बनाएर ग्राभेल गरिएको छ।
विसं २०६७ मा मार्ग खुलेको सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज भएको छिसवाङका दुर्गाबहादुर खत्रीले बताए। मार्ग खुलेदेखि हालसम्म सामान्य मर्मतको भरमा ३ देखि ४ मिटर फराकिलो सडकमा एकतर्फी मात्र गाडी चल्ने गरेका थिए। सडक फराकिलो पार्न स्थानीयवासीले स्वःफूर्त रुपमा जग्गामा संरचना बनाउन दिएर सहयोग गरेका छन्।
यो सडकबाट मङ्गलाको वडा नं ५ का साथै मालिकाको १ र २ का बासिन्दा लाभान्वित हुनुका साथै बेनी–दरबाङ सडकको बाबियाचौर–दरवाङ खण्डमा पहिरो लगायतका कारणले अवरुद्ध हुँदा वैकल्पिक रुपमा प्रयोग गर्न सकिने भएकाले रणनीतिक महत्व रहेको छ।
यसअघिका २ आर्थिक वर्षमा मङ्गला गाउँपालिकाले सेराफाँट क्षेत्रमा, गण्डकी प्रदेश सरकारले पीपलबोट खण्डमा र सङ्घीय सरकारले हिलवाङ–खहरेखोला क्षेत्रमा स्तरोन्नति गरेका छन्। जिल्लाको रणनीतिक महत्वको सडकको विकल्प भएकाले यो सडकलाई महत्व र प्राथमिकता दिइएको छ।
हिलवाङ, ओखोला र अर्मनखोलामा मोटरेबल पुल निर्माण गरेमा यो सडकमा बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न सकिने छिसवाङका बासिन्दा किशोर मल्लले बताउनुभयो। यसअघि सङ्घीय सरकारले खहरेखोलामा ‘कल्भर्ट’ बनाएको छ।
प्रकाशित :२०८३ बैशाख २७, आईतवार ११:४७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%









