मतदान केन्द्रदेखि मतगणनास्थलसम्म अनुगमन

भक्तपुर। आज हुने प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै यहाँ जिल्ला सुरक्षा परिषद्सहितको टोलीले बुधबार जिल्लाका मतदान केन्द्रदेखि मतगणना स्थलसम्मको अनुगमन सम्पन्न गरेको छ।

Advertisement 1

मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख तथा सञ्चारकर्मी सम्मिलित टोलीले मतदानस्थलको अवलोकन गरेको हो। त्यसै क्रममा क्षेत्र नं १ को मतगणना हुने स्थान विद्युत् प्राधिकरणको तालिम केन्द्र खरिपाटी र क्षेत्र नं २ को मतगणना हुने बोडेस्थित कृषि विकास बैङ्कको तालिम केन्द्रको अवलोकन गरिएको छ।

बोडेमा मतगणनाका लागि तारजाली, सिसी क्यामेरासहितको सुरक्षित स्थान निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए। उनका अनुसार यस स्थानमा एकै पटक ४ स्थानमा मतगणना गर्नेगरी तयारी गरिएको र खरिपाटीमा पनि ४ स्थानमै गणना गर्ने तयारी पूरा गरेको जानकारी दिए।

Advertisement 2

जिल्लाका सबै केन्द्रमा मतदान अधिकृतसहितको टोली सम्पूर्ण सामग्रीसहित यसअघि नै पुगेर सर्वदलीय र सर्वपक्षीय बैठक सम्पन्न गरी मतदानस्थलको तयारी पूरा गरेका छन्।

प्रत्येक निर्वाचन केन्द्रमा ६ जना कर्मचारी र ३ जना स्वयंसेवक खटाइएको छ। मतदान सम्पन्न गर्न जिल्लामा १ हजार ४०० कर्मचारी र ७०० स्वयंसेवक खटाइएको प्रजिअ ढकालले जानकारी दिए।

Advertisement 3

भक्तपुरमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न गर्न निर्वाचन प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीन हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिँदै उनले अधिकांश मतदान केन्द्रमा सुरक्षालाई मध्यनजर गर्दै सिसी क्यामेराको व्यवस्था गरिएको, ५० बढी सुरक्षाकर्मीको मोबाइल टोलीका गाडी खटाइएको, कुनै घटना भएर ५ मिनेटभित्र थप सुरक्षा फौज पुग्न सक्ने गरी तयारी गरिएको उनले जानकारी दिए।

मुख्य निर्वाचन अधिकृत नवराज दाहाल, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, २ नं क्षेत्रकी निर्वाचन अधिकृत राधिका सुवाल, प्रमुख सेनानी निरज प्रताप जबरा, प्रहरी उपरीक्षक सूर्यबहादुर खड्का, सशस्त्र प्रहरी उपरीक्षक वासुदेव महत, उपअनुसन्धान निर्देशक हेमन्त कार्की, सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्य, जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख प्रकाश मगरलगायतको टोलीले अनुगमन गरेको थियो।

२ निर्वाचन क्षेत्र रहेको भक्तपुरको क्षेत्र नं १ र २ मा गरी कुल ७६ वटा मतदानस्थलमा २३३ मतदान केन्द्र निर्धारित गरिएका छन्। भक्तपुर क्षेत्र नं १ मा ३७ मतदानस्थलमा ११९ मतदान केन्द्र तथा क्षेत्र नं २ मा ३९ मतदानस्थल र ११४ मतदान केन्द्र निर्धारण गरिएको छ।

बोडे मतदान केन्द्रमा महिला कर्मचारी
निर्वाचनका लागि मध्यपुरथिमि बोडेस्थित कृषि विकास बैङ्कको तालिम केन्द्र मतदान केन्द्रको सम्पूर्ण जिम्मेवारी महिला कर्मचारीले निर्वाह गर्ने भएका छन्।

निर्वाचन क्षेत्र नं २ की मतदान अधिकृत राधिका सुवालले यस केन्द्रमा निर्वाचन सम्पन्न गराउने सम्पूर्ण जिम्मेवारी महिला कर्मचारीले लिएको जानकारी दिँदै सुरक्षाकर्मीसमेत महिला मात्रै खटिएको बताए।

४ वटा बुथ रहेको यस केन्द्रमा एउटा बुथमा मतदान अधिकृतको नेतृत्वमा ९ जनाको टोली रहेकामा ४ मतदान अधिकृतसहित ३६ महिलाको टोली खटिएका र महिला प्रहरीको नेतृत्वमा २ दर्जन सुरक्षाकर्मी खटिने सुवालले जानकारी दिए।

प्रकाशित :२०८२ फाल्गुन २१, बिहीबार ०९:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry