उद्योग विभागका महानिर्देशकसहित ७ सहसचिवको सरुवा

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री अनिलकुमार सिन्हा आएको १ महिनामा नायब सुब्बादेखि लिएर उपसचिवसम्म करिब १४२ हाराहारी कर्मचारी सरुवा भए। त्यसपछि विभिन्न मितिमा थुप्रै कर्मचारीहरू व्यवस्थापन गरिए। जसलाई संस्थागत आवश्यकता र विज्ञताभन्दा अनुकूलता तथा सोर्स–फोर्सका आधारमा गरिएको मन्त्रालय स्रोत बताउँछ ।
Advertisement 1
पौस १४ गते मात्रै मन्त्री सिन्हाले उद्योग विभागका महानिर्देशकसहित ७ जना सहसचिवको सरुवा गरेका छन् । विभागीय प्रमुखको सरुवा अवधि पूरा भइसकेको र नयाँ महानिर्देशकका रूपमा पठाइएका सहसचिव सिनियर तथा योग्य मानिएकाले त्यस निर्णयलाई स्वाभाविक रूपमा लिइएको छ । सरुवा भएर आएका कर्मचारीलाई पदस्थापन गर्नु सामान्य प्रशासनिक प्रक्रिया भए पनि आन्तरिक जिम्मेवारी बाँडफाँटको विषयमा भने मन्त्रालयभित्र असन्तुष्टि देखिएको छ ।
उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीलाई मन्त्रालय तानेर द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाको प्रमुख बनाइएको छ। ज्ञवालीको स्थानमा मन्त्रालयकै सहसचिव जितेन्द्र बस्नेतलाई उद्योग विभाग पठाइएको छ।
यस्तै, मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाबाट बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखामा सहसचिव हुमकला पाण्डेको सरुवा गरिएको छ। करिब डेढ वर्षअघि मन्त्रालय भित्रिएकी उनले यो अवधिमा औद्योगिक पूर्वाधार, योजना, प्रशासन हुँदै चौथो महाशाखासम्म पुगिसकेकी छन्। कर्मचारीका लागि यो महाशाखा अत्यन्तै महत्त्वपूर्ण मानिन्छ ।
सरुवासँगै अन्य सहसचिवहरूको पनि जिम्मेवारी तोकिएको छ । सहसचिव कल्पना श्रेष्ठलाई औद्योगिक तथा लगानी प्रवद्र्धन महाशाखाको जिम्मा दिइएको छ । ‘जहाँ उपयुक्त ठान्नुहुन्छ, त्यही राखे हुन्छ’ भन्ने उनको भनाइ मन्त्रालयभित्र अलग शैलीका रूपमा चर्चा भइरहेको छ । त्यस्तै रामबन्धु सुवेदीलाई औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखा, नेत्रप्रसाद सुवेदीलाई योजना, अनुगमन तथा मूल्यांकन महाशाखा र नारायणप्रसाद अर्याललाई प्रशासन तथा संस्थान महाशाखाको जिम्मेवारी दिइएको छ ।
Advertisement 2














