सहारा फुटबल एकेडेमीः विपन्न बालकको सहारा

गण्डकी। खेलको माध्यमबाट समाजका युवालाई कुलतबाट जोगाउन २०५८ सालमा स्थापित पोखराको सहारा क्लबले सञ्चालन गर्दै आएको आहा रारा फुटबल नेपाली फुटबलका क्षेत्रमा आफैँमा एउटा विशिष्ट पहिचानसमेत हो। त्यसो त फुटबल खेलाएरै सहारा फुटबल एकेडेमी सञ्चालन गरिरहेको यो क्लब देशको हिमालदेखि तराई र पूर्वदेखि पश्चिमबाट विभिन्न १६ जिल्लाका ३० असहाय विपन्न वर्गका बालकको दरिलो सहारासमेत बनिरहेको छ।

Advertisement 1

सुरुमा २०५८ सालदेखि घरबाटै आवतजावत गर्ने गरी २० बालकलाई लिएर एकेडेमी सञ्चालनको प्रयास थालिएकामा २०६१ सालदेखि आवशीय रुपमा बालकहरू राखेर एकेडेमी सञ्चालन गरिएको सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए। एकेडेमीमा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थी छन्। पोखरा महानगरपालिका–१७ दोभिल्लास्थित एकेडेमीमा १६ जिल्लाबाट २८ बालक राखेर आवासीय रुपमा एकेडेमी सुरु गरिएको उनले बताए।

“विद्यार्थीलाई गास, बास र कपासका साथै उचित शिक्षाको प्रबन्ध र फुटबल प्रशिक्षण निःशुल्क प्रदान गर्दैआएका छौँ”, अध्यक्ष थापाले भने।

Advertisement 2

एकेडेमीमा आश्रित बालकहरु पोखरा–३३ भरतपोखरीस्थित शिशु कल्याण माध्यमिक विद्यालयमा अध्ययनरत छन्। विसं २०५९ मा पहिलो क्याराभान गोल्ड कप एवं २०६० देखि आहा गोल्डकप सञ्चालनसँगै आवासीय रूपमा एकेडेमी चलाउने सोचले अघि बढेको अध्यक्ष थापाले बताए। आहा गोल्ड कप सञ्चालनको १ दशक पछि आहा रारा गोल्ड कपका रुपमा सञ्चालन भएको उक्त फुटबल प्रतियोगिता पछिल्लो ४ वर्षयता आहा रारा पोखरा गोल्ड कपका रुपमा सञ्चालन भइरहेको छ।

एकेडेमी स्थापनासँगै क्लबबाट राष्ट्रियस्तरका खेलाडी उत्पादन भएपछि सहाराको महत्व र गरिमा अझै चुलिएको छ। एकेडेमीकै उत्पादन राष्ट्रिय खेलाडी अनिल गुरुङ, प्रशिक्षक विष्णु गुरुङलगायतका कारण पनि एकेडेमीको सार्थकतालाई पुष्टि गरेको छ। एकेडेमीकै अवसर पाएका सुशील लामा, अजित भण्डारी र नवीन श्रेष्ठजस्ता खेलाडीका कारण पनि क्लबको उचाइ बढेको छ। त्यस्तै विशाल नेपाली र मुकुन्द निउरे पनि एकेडेमीकै उत्पादन हुन्।

Advertisement 3

एकेडेमीको व्यवस्थित एवम् दीर्घकालीन सञ्चालनको उद्देश्यका साथ २०६३ सालमा पोखरा–१७ दोबिल्लामा रु २८ लाख ५० हजारको लागतमा २६ रोपनी जग्गा खरिद गरिएको थियो। उक्त परिसरमा तीनतले भवन, मिनी प्यारापिटसहितको फुटबल मैदानलगायत संरचना तयार गरिएका छन्।

अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले करिब १२ वर्ष अघि यसका गतिविधिलाई समेटेर तयार पारेको ‘हिमालको देशमा फुटबलभित्र लुकेको कथा’ विषयको वृत्तचित्रले यसको भूमिकालाई अझै स्पष्ट पारेको छ। अध्यक्ष थापाका अनुसार एकेडेमी दीर्घकालीन रुपमा सञ्चालन गर्न स्व सूर्यबहादुर केसीको परिवारले वार्षिक रु १५ लाख उपलब्ध गराउँदै आएको छ। दश वर्षसम्म केसीको पुण्यतिथिका अवसरमा उनको परिवारले क्लबलाई वार्षिक सो रकम दिने गरी सम्झौता गरेकाले एकेडेमीको नामकरण ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ गरिएको छ।

एकेडेमीकै व्यवस्थित एवं दीर्घकालीन सञ्चालनका लागि संस्थाले स्थापना गरेको सहारा फुटबल एकेडेमी अक्षयकोषमा हाल रु ३ करोड ४७ लाख मौज्दात छ। केसी परिवारबाट आउने सहयोगका साथै अक्षयकोषको ब्याज रकमबाट एकेडेमी सञ्चालन हुँदै आएको छ। एकेडेमी सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ क्लबको आयोजनामा यस वर्ष गत कात्तिक १४ गते सहारा च्यारिटी डिनर नाइट आयोजना गरिएको थियो। उक्त कार्यक्रममार्फत रु १७ लाख आम्दानी भएको थियो।

‘खेलकूदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा विकास गरौँ’ नारासहित २०५८ साल यता सञ्चालन भइरहेको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताले सहाराको गरिमा र महत्वलाई अझै उजागर गरिरहेको क्लबका महासचिव गङ्गाराज पौडेल बताउँछन्। उनका अनुसार क्लबले सञ्चालन गर्दै आएको प्रतियोगितामार्फत दर्शकले काटेको टिकटबाट बचेको रकम एकेडेमी सञ्चालनमा उपयोग गर्दै आएको छ। गोल्ड कपको २५औँ संस्करण अर्थात् आहा रारा पोखरा गोल्ड कपको रजत जयन्ती फुटबल प्रतियोगिता सञ्चालन गर्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बाट आगामी माघ २७ गतेदेखि फागुन ९ गतेसम्मको समय तालिका प्राप्त भएको उनले जानकारी दिए। प्रतियोगिताको मुख्य प्रयोजक आहा रारा चाउचाउको उत्पादक हिमश्री फुड्स प्रालि तथा संरक्षक पोखरा महानगरपालिका रहेको छ।

प्रकाशित :२०८२ मंसिर ८, सोमबार १४:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry