जैविक विविधता जोगाउन प्यारा तालको संरक्षण गरिँदै

कैलाली। कैलालीसँगै सिमाना जोडिएको कञ्चनपुरको पुर्नर्वास नगरपालिका–८ र वडा नं ९ मा अवस्थित ‘प्यारा’ ताल प्राकृतिक सौन्दर्यताले हराभरा र भरिपूर्ण छ। जैविक विविधताको दृष्टिकोणले पनि तालको छुट्टै महत्व छ।
Advertisement 1
सदावहार जलाशययुक्त तालको ६ किलोमिटर लम्बाइ, सरदर ७० मिटर चौडाइ र १५ फिट गहिराइ रहेको छ। तालमा विश्वमै दुर्लभ मानिएको जलचर प्राणी ओद (मांशाहारी प्राणी), दक्षिण एसियामै दुलर्भ मानिएको पहेंलोधुरे प्रजातिको कछुवा, गोही, जलकपुरसँगै ३५ प्रजातिका माछा रहेका छन्।
योसँगै खोज र अनुसन्धान हुन नसकेका थुप्रै यस्ता संरक्षण गर्नुपर्ने जलचर र उभयचर प्राणीको बासस्थान यो तालमा छ। राज्यका सरोकारवाला निकायको पहुँचभन्दा टाढा रहेका कारणले ओझेलमा परेको तालको संरक्षण तथा सम्वद्र्धनका लागि सुरुमा नागरिकस्तरबाट नै केही गर्न सकिन्छ भन्ने उद्देश्यले ताल संरक्षणको अभियानमा जुटेको प्याराताल पर्यटन प्रवद्र्धन तथा संरक्षण समितिका अध्यक्ष दिपेन्द्र बस्नेतले जानकारी दिए।
Advertisement 2
तालको प्रचारप्रसार नभएको र महत्वकाबारेमा जानकारी नपाएकैले स्थानीयबाट यो तालको अतिक्रमण भइरहेको अध्यक्ष बस्नेतले बताए। मानवको बढी चहलपहललगायत विभिन्न कारणले गर्दा जलचर प्राणीको अस्तित्व सङ्कटमा पर्ने अवस्थालाई मध्यनजर गर्दै पर्यटन प्रवद्र्धनका माध्यमबाट तालको संरक्षणमा एउटा राज्यको ध्यान केन्द्रित गर्ने अभिप्रायले २०८० असार २० गतेदेखि ताल संरक्षणको अभियानमा जुटेको उनले बताए।
यसरी अभियान सुरु भएसँगै सुरुआती चरणमा ताल क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने हेतुले स्वस्फूर्त रुपमा नागरिकस्तरबाट आर्थिक सहयोग जुटेको थियो। सोही अभियानस्वरुप ताल परिसरमा अहिले विभिन्न दुलर्भ जलचर प्राणीहरु ओद, पहेंलोधुरे कछुवा, जलकपुर माछाका साथै जरायो र गोहीका प्रतिमा निर्माण गरिएका छन्। त्यस्तै मयँुर, पाठेबाघ र सिम कुखुराको प्रतिमा निर्माणको काम पनि अगाडि बढेको अध्यक्ष बस्नेतले बताए।
Advertisement 3
तालको संरक्षण तथा प्रवद्र्धनका लागि भनेर गत आव २०८१÷८२ मा सङ्घीय सरकारको रु ९० लाख रकम विनियोजन गरिएको थियो। उक्त रकम पुर्नर्वास नगरपालिकामार्फत बोलपत्र आह्वान गर्दा रु ७३ लाखमा टेन्डर भई तटबन्धको निर्माण सुरु गरिएको उनले जानकारी दिए।
उनका अनुसार ११० मिटर लम्बाइ तटबन्ध निर्माणको काम सुरु भएसँगै ८५ मिटर तटबन्धको काम भइसकेको छ। करिब २५ मिटर तटबन्ध निर्माणको काम बन्न बाँकी छ। ताल परिसरमा माटो फिलिङ गर्नुका साथै एउटा सभाहलसमेत निर्माण गरिएको छ।
ताललाई पर्यटनको केन्द्रका रुपमा विकास गर्न नगरपालिकाले तालको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको बताइएको छ। जैविक हिसाबले महत्वपूर्ण मानिएको प्यारा तालको संरक्षण तथा प्रवद्र्धन, यसको प्रचारप्रसारका साथै आन्तरिक पर्यटकलाई आकर्षक हुनेखालको संरचना निर्माण गर्नसके सुदूरपश्चिममै एउटा पर्यटकीयस्थलको रुपमा विकास गर्न सकिने अपेक्षा गरिएको छ।
छिमेकी मुलुक भारतसँग भूभाग जोडिएको उक्त तालको राज्यस्तरबाट समयमै संरक्षण तथा सम्वद्र्धन गर्नमा ध्यान गएन भने ताल संरक्षणमा असर पर्नसक्ने सोही क्षेत्रका स्थानीय जानकारहरुको भनाइ छ।