सीप सिकेर उद्यममा जोडिँदै महिला

काठमाडौं। टेम्केमैयुङ गाउँपालिकाका महिला उद्यमशीलतमा जोडिन थालेका छन्। गृहिणी भएर घरमा समय बिताउँदै आएका महिलाहरु सीपमूलक तालिम पाएसँगै उद्यममा जोडिन थालेका हुन्। गाउँपालिकाले यहाँ विभिन्न खालका सीपमूलक तालिम सञ्चालनमा पहल थालेपछि महिलालाई उद्यममा जोडिन सहजता भएको छ। वडा नं ६ कोटमा ढाका बुनाइसम्बन्धी दुई तहको तालिम प्रदान गरेपछि महिला उद्यममा जोडिएका हुन्। तालिममा सिकेको सीपको सदुपयोग गर्दै उनीहरुले अहिले घरमा ढाकाका कपडा बुन्दै आएका छन्।

Advertisement 1

तालिममा सिकेको कुरालाई व्यावहारिकता दिन अहिले घरमा नै तान राखेर ढाकाबाट कपडा बुन्दै आएको स्थानीय शान्ता श्रेष्ठले बताए। आफ्नै ठाउँमा सीप लिएर स्वरोजगार बन्न पाउँदा खुसी लागेको उनको भनाइ छ। ढाका बुनाइ व्यवसायबाट घर खर्चको जोहो गर्न सहजता भएको उनले बताए। ‘वडामा नै ढाका बुनाइ सीप पाएपछि कपडा बुन्दै आएकी छु,’ उनले भनिन्, ‘चुलोचौका र मेलापात गरेर नै दिन बित्थ्यो, सीप पाएपछि काम गर्न सहजता भएको छ, यहाँबाट आएको पैसाले घर खर्चमा पुगेको छ।’

आफ्नै ठाउँमा सीप लिएर ढाका बुनाइको काम गर्न पाउँदा खुसी लागेको स्थानीय लीला विश्वकर्माले बताइन्। सीपले मानिसलाई जीवन निर्वाहको आधार खडा गर्ने उनले बताइन्। सीप पाएपछि जस्तो परिस्थितिको पनि सामना गर्ने आँट आएको उनको भनाइ छ। सीपले आत्मनिर्भर बन्न सहजता थपेको उनले बताइन्। ‘सीपले जीवन गुजारा गर्न सहजता हुने रहेछ,’ उनले भनिन्, ‘सिकेको सीपको सदुपयोग गरेर अहिले घरमा नै ढाका कपडा बुन्दै आएकी छु, दुई चरणको तालिम पाएपछि काम गर्न थप सहज बनेको छ।’

Advertisement 2

ढाका कपडाको बजारमा राम्रो माग रहेको विश्वकर्माले बताइन्। ढाकाको हातले बुनेको चोलो १ हजार ५ सय रुपैयाँ, सल १ हजार २ सय रुपैयाँमा बिक्री गर्दै आएको उनले बताइन्। ५ महिनासम्म सञ्चालन भएको तालिमबाट चोलो, शर्ट, कुर्थासुरुवाल, सल, खादालगायत कपडा बुन्न सीप लिएको उनले बताइन्।

स्थानीय सरकारले विभिन्न खालका महिलालाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरेपछि थप हौसला मिलेको अर्की महिला कोपिला प्रधानले बताइन्। सीप नहुँदा व्यवसाय गर्न नसकिरहेको अवस्थामा तालिम पाएपछि व्यावसायिक बन्न सहज भएको उनको भनाइ छ।

प्रकाशित :२०८१ श्रावण २८, सोमबार १३:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry