सकारात्मक कार्यसंस्कृतिः गतिशील संगठनको आधार

संस्कृति मानवीय जीवन पद्धति हो। यो लामो समयदेखि चल्दै आएको चलन, रितिरिवाज, मानसिक विकास, परम्परा हो । संस्कृति एकअर्कामा बाँडिन्छ, समुदायमा अवलम्बन गरिन्छ।संस्कृति एकीकृत अर्थात् एकअर्कामा अन्तरनिर्भर र अन्तरसहयोगी हुने गर्दछ। संस्कृति गतिशील हुन्छ। संस्कृति लामो समयदेखि चलिआएको धारणा, व्यवहार, प्रकृति, विश्वास, मूल्यमान्यता हो।यो व्यक्ति वा समूहलाई एक अर्काबाट फरक दर्शाउने गरी विकसित भएको स्थिति हो।
Advertisement 1
संगठन बहुसंस्कृतिको असल संगम हो ।संगठनात्मक संस्कृतिमा नै संगठनको प्रभावकारिता र सक्षमता निर्भर गर्दछ। व्यवस्थापनका सिद्धान्तहरुले पद्धति र प्रक्रियालाई बढि जोड दिने गरेको पाइएता पनि पछिल्लो समयमा संगठनात्मक संस्कृति र त्यसले संस्थाको कार्यसम्पादन र प्रतिष्ठामा पार्ने प्रभावलाई बढी महत्वका साथ हेर्ने गरेको पाईन्छ। संगठनात्मक संस्कृति एउटा अमूल्य सम्पति हो। लामो समय व्यतित गरेका सबै प्रकारका संगठनहरुमा आफ्नै पहिचान झल्कने किसिमको संगठनात्मक संस्कृति विकास हुँदै गएको हुन्छ।
संगठनात्मक संस्कृति र संरचना सधै स्थिर हुँदैन । यो समय र वातावरणअनुरूप परिवर्तन हुँदै जान्छ। समाजमा राजनीतिक शासन प्रणाली, आर्थिक विकास नीति, सामाजिक रहनसहन,मुल्य मान्यता, प्रविधि विकास, नागरिकको चेतना र माग निरन्तर परिवर्तन भइरहेको छ। संगठनात्मक गतिशीलताले कुनै पनि संस्थाले परिवर्तनको सामना गर्दै आफ्ना उद्देश्यहरू प्राप्त गर्न सक्ने क्षमता जनाउँछ। यसका लागि प्रभावकारी संगठनात्मक कार्यसंस्कृति अत्यन्तै आवश्यक हुन्छ। कार्यसंस्कृति संस्थाभित्रको मूल्य, विश्वास, आचरण र व्यवहारहरूको समुच्चय हो जसले कर्मचारीहरूको सोच, कार्यशैली र अन्तर्क्रियामा प्रभाव पार्छ।
Advertisement 2
प्रशिक्षण, मूल्य आधारित नेतृत्व, पारदर्शिता, कर्मचारी सहभागिता, र प्रेरक मूल्यांकन प्रणालीमार्फत मात्र सकारात्मक संस्कृतिको विकास सम्भव हुन्छ। जब कर्मचारीहरू आफ्नो काममा मूल्यवान, सम्मानित र सुरक्षित महसुस गर्छन्, तब उनीहरूको सृजनात्मकता, प्रतिबद्धता, र मनोबल उच्च हुन्छ। यस्तो वातावरणमा कर्मचारीहरूले जोखिम लिन, नवीन आइडिया प्रस्तुत गर्न, र चुनौतीपूर्ण परिस्थितिलाई अवसरमा रूपान्तरण गर्न सक्ने क्षमता विकास गर्छन्।
गतिशील संगठन निर्माणको अर्थ द्रुत निर्णय लिन वा प्रक्रियागत सुधार मात्र होइन, समग्र संगठनलाई लचकदार, प्रतिस्पर्धात्मक र दीर्घकालीन स्थायित्वतर्फ अग्रसर बनाउनु हो। यदि संगठनले संरचना, नीति वा प्रविधिमा ध्यान केन्द्रित गर्यो भने, मानव स्रोत र कार्यसंस्कृतिको कमजोरीले नवप्रवर्तन र दीर्घकालीन सफलतालाई बाधित गर्न सक्छ। सकारात्मक कार्यसंस्कृति नै संगठनलाई चुनौतीपूर्ण परिस्थितिमा पनि गतिशील, सशक्त र स्थिर बनाउने मूल आधार हो। यसले कर्मचारी र संगठन दुवैलाई एकसाथ अघि बढ्न प्रेरित गर्छ, जसले दीर्घकालीन प्रतिस्पर्धात्मक लाभ र स्थायी सफलता सुनिश्चित गर्दछ।
Advertisement 3
आजको द्रुत परिवर्तनशील विश्वमा संगठनहरू संरचना र प्रक्रियामा निर्भर रहन सक्दैनन्। संगठनको सफलता र दिगोपनमा कार्यसंस्कृति अत्यन्त महत्वपूर्ण भूमिका खेल्दछ। कार्यसंस्कृति भनेको कुनै संस्था वा संगठनमा रहेका साझा मूल्य, विश्वास, आचार(व्यवहार, र काम गर्ने तरिका हो। यो नियम वा निर्देशिका मात्र नभई, कर्मचारीहरूको व्यवहार, सोचाइ र संगठनप्रति प्रतिबद्धताको आधार पनि हो। विशेष गरी गतिशील संगठन निर्माणको सन्दर्भमा, सकारात्मक कार्यसंस्कृति संगठनलाई निरन्तर नवप्रवर्तन, प्रतिस्पर्धात्मक लाभ, र दीर्घकालीन सफलता तर्फ उन्मुख गराउन महत्वपूर्ण हुन्छ।
सकारात्मक कार्यसंस्कृति भएको संगठनमा कर्मचारीहरू आत्मविश्वासी, रचनात्मक र उत्तरदायी हुन्छन्। यस्तो वातावरणमा कर्मचारीहरू आफ्नो विचार खुला रूपमा साझा गर्न सक्षम हुन्छन् र गल्तीलाई सीखको अवसरको रूपमा लिन्छन्। उदाहरणका लागि, यदि संगठनमा गल्तीलाई दोष लगाउनेभन्दा सिक्ने दृष्टिकोण अपनाइन्छ भने कर्मचारीहरू जोखिम लिने र नवीनता सिर्जना गर्ने कुरामा नडराउँछन्। यसले संगठनलाई प्रतिस्पर्धामा अघि बढ्न, बजारको नयाँ मागहरू सम्हाल्न, र अनिश्चित परिस्थितिमा छिटो निर्णय लिन सक्षम बनाउँछ।
सकारात्मक कार्यसंस्कृतिले टीम भावना र सहयोगलाई प्रोत्साहित गर्छ। संगठनभित्र आपसी सम्मान, सहयोग र पारस्परिक समझदारी बढ्दा काम गर्ने वातावरण सहज र प्रेरक बनाउँछ। जब कर्मचारीहरू आपसमा खुला संवाद र सहयोगी व्यवहार अनुभव गर्छन्, तब उनीहरूको कार्यसमर्पण र उत्पादकत्व स्वाभाविक रूपमा बढ्छ। यसले संगठनलाई मात्र होइन, व्यक्तिगत कर्मचारीको विकास र मनोबलमा पनि सकारात्मक प्रभाव पार्छ।
कार्यसंस्कृति संगठनको नेतृत्व शैलीसँग गहिरो सम्बन्धित हुन्छ। खुला, सहभागी र प्रेरक नेतृत्वले कर्मचारीहरूलाई सकारात्मक संस्कृतिमा सहभागी गराउँछ। उदाहरणका लागि, यदि व्यवस्थापनले कर्मचारीहरूको विचारलाई सम्मान दिन्छ, निर्णय प्रक्रियामा उनीहरूलाई सहभागी गराउँछ, र उपलब्धिहरूको मान्यता दिन्छ भने कर्मचारीहरू आफ्नो जिम्मेवारीलाई उच्च प्राथमिकतासँग ग्रहण गर्छन्। यसले संगठनमा विश्वास र प्रतिबद्धताको भावना बढाउँछ, जुन गतिशील संगठनको आवश्यक आधार हो।
सकारात्मक कार्यसंस्कृतिले नवप्रवर्तन र रचनात्मकतालाई प्रवर्द्धन गर्दछ। गतिशील संगठनलाई नयाँ प्रविधि, प्रक्रियागत सुधार र बजार रणनीतिमा लचकता आवश्यक पर्छ। जब कर्मचारीहरू सुरक्षित, सम्मानित र मूल्यवान महसुस गर्छन्, तब उनीहरू नयां आइडिया प्रस्तुत गर्न र समस्याको सृजनात्मक समाधान खोज्न उत्साहित हुन्छन्। यस प्रकारको वातावरणमा संगठनको प्रतिस्पर्धात्मक लाभ बढ्छ र दीर्घकालीन स्थायित्व सुनिश्चित हुन्छ।
त्यसैगरी, सकारात्मक कार्यसंस्कृतिले संगठनमा परिवर्तनको अनुकूलन क्षमता बढाउँछ। बदलिंदो बजार, प्रविधि र सामाजिक परिस्थिति अनुसार संगठनले छिटो र प्रभावकारी प्रतिक्रिया दिन सक्षम हुनुपर्छ। जब संगठनको संस्कृति लचकदार र समावेशी हुन्छ, कर्मचारीहरू परिवर्तनलाई चुनौती होइन, अवसरको रूपमा हेर्छन्। यसले संगठनलाई संकट वा चुनौतीको समयमा पनि स्थिर र गतिशील बनाउँछ।
सकारात्मक कार्यसंस्कृतिले कर्मचारीहरूमा प्रेरणा, उत्तरदायित्व, र टीमवर्क बढाउँछ, जसले संस्था लचिलो, नवप्रवर्तनशील र दीर्घकालीन रुपमा सक्षम बनाउँछ। खुला संचार, पारदर्शिता, सम्मानजनक व्यवहार र नवीनताको प्रोत्साहनजस्ता मूल्यहरूले संगठनलाई द्रुत परिवर्तनसँग समायोजन गर्न सजिलो बनाउँछ। यदि कार्यसंस्कृति रुढीवादी, डरमा आधारित वा परिवर्तनप्रति असहिष्णु छ भने, त्यो गतिशीलताको बाधक बन्छ। त्यसैले नेतृत्वले सकारात्मक संस्कृति निर्माण गर्दै सबै तहका कर्मचारीहरूलाई सहभागी गराउनु अत्यावश्यक छ।
संगठनात्मक संस्कृति संगठनात्मक व्यवहारमा प्रदर्शित हुनाले यसले कर्मचारीको व्यवहारलाई मार्गनिर्देशन गर्दछ। संगठनात्मक व्यवहार कर्मचारीको मनोवैज्ञानिक बुझाइ र काम गराइ हो। संगठनात्मक संस्कृतिले नागरिक र सेवाग्राहीको समाजमा संगठनलाई चिनाउँछ। कर्मचारीलाई संगठनको हितानुकूल बोल्ने, काम गर्ने र जिम्मेवारी लिने बनाउँछ। संगठनका कर्मचारीहरूलाई ज्ञानार्जन, क्षमता विकास र सोको कार्यसम्पादनमा उपयोग गर्न सघाउँछ, उत्प्रेरण दिन्छ। परिणामतः उनीहरू संगठनमा टिकिरहन्छन्।
संगठनका व्यक्तिहरूले साझा रूपमा अवलम्बन गरेका व्यवहार, प्रवृत्ति, मूल्यमान्यता,धारणा, आस्था विश्वासलाई संगठनको संस्कृति भनिन्छ। व्यक्तिको पहिचान उसको व्यक्तित्व हो भने संगठनको पहिचान संगठनात्मक संस्कृति हो । संगठनात्मक संस्कृति कर्मचारीले बुझेको, विश्वास गरेको र अपनाएको साझा पद्धति हो। कुनैपनि व्यक्ति, समूह तथा संगठनले कस्तो सोच लिन्छ रु सोहि सोच अनुसार उसले व्यवहार देखाउँछ। त्यहि व्यवहार पटक पटक गरिरहँदा बानीमा परिणत हुन्छ । सधैं प्रयोगमा उसको त्यो बानी अन्तमा संस्कारमा रुपान्तरण बन्न पुग्दछ। त्यही संस्कार एकबाट अर्को व्यक्ति परिवार, पुस्ता, वर्ग, समुहमा सर्दै जान्छ। त्यसैले संस्कार र संस्कृति कस्तो बनाउने भन्दा पनि सोच कस्तो लिने भन्ने महत्वपूर्ण विषय हो।
संगठनात्मक संस्कृतिले पूरा संगठनलाई लक्ष्य हासिल गर्नका लागि संगठनमा भएको सम्पूर्ण जनशक्तिलाई टिममा रूपान्तरण गर्दछ भने कर्मचारीको कार्यसम्पादन स्तर बढाइ संगठनलाई परिणाम प्राप्त गर्न क्रियाशील पनि बनाउँछ । संगठनात्मक संस्कृति एउटा यस्तो क्रियाशिल तत्व हो, जूनसुक्ष्म तवरबाट एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जान्छ ।संगठनात्मक संस्कृतिले संगठनको मान्यता, मूल्य, प्रथा, अभ्यास, मनोवृत्ति र अनुभवहरू समावेश गर्दछ।
संगठनात्मक संस्कृतिले पूरा संगठनलाई लक्ष्य हासिल गर्नका लागि संगठनभित्रको सम्पूर्ण जनशक्तिलाई प्रभावकारी टिममा रूपान्तरण गर्छ। यसले कर्मचारीबीच सहयोग, समन्वय, र आपसी विश्वासको भावना विकास गर्दछ, जसले कार्यसम्पादन स्तरमा सुधार ल्याउँछ र संगठनलाई परिणाममुखी बनाउँछ। संगठनात्मक संस्कृति एउटा सूक्ष्म तरिकाले पुस्ताबाट पुस्तामा सर्ने क्रियाशील तत्व हो, जसले संस्थामा निरन्तरता, स्थायित्व, र पहिचान प्रदान गर्छ। यसले संस्थाका अनुभव, मूल्य, मान्यता, व्यवहार, र परम्परालाई संरक्षित गर्दै संगठनलाई आफ्नो विशिष्टता दिन्छ।
सकारात्मक कार्यसंस्कृतिले नवप्रवर्तन, आत्म(प्रेरणा, र पारदर्शिता प्रवर्द्धन गर्छ। यस्तो वातावरणमा कर्मचारीहरू सुरक्षित महसुस गर्छन्, आफ्ना विचारहरू खुला रूपमा प्रस्तुत गर्न सक्षम हुन्छन्, र नेतृत्वको दिशामा सक्रियतापूर्वक काम गर्न प्रेरित हुन्छन्। यसले केवल संगठनलाई मात्र होइन, कर्मचारीहरूको व्यक्तिगत विकासमा पनि महत्वपूर्ण योगदान पुर्याउँछ। त्यसैले, प्रभावकारी संगठनात्मक संस्कृति विकास गर्नु संगठनात्मक गतिशीलता र दीर्घकालीन सफलता हासिल गर्नको लागि आधारशिला सावित हुन्छ।
संगठनात्मक संस्कृति आन्तरिक र बाह्य तत्वहरुद्वारा विकास हुन्छ। आन्तरिक तत्वको रूपमा संगठनका सदस्यहरूको भाषा, सोच, व्यवहार, कार्यस्थान, कर्मचारीबीचको सम्बन्ध र समन्वय, सूचना प्रणालीको उपयोग, कार्यालयको समय व्यवस्थापन, र सरोकारवालाप्रति व्यवहार जस्ता पक्षहरू पर्दछन्।
गतिशील संगठनले परिवर्तनशील समय, प्रविधि र आवश्यकतासँग सँगै अघि बढ्न सक्ने क्षमतायुक्त संस्था जनाउँछ। यस्ता संस्थाको निर्माणमा कार्यसंस्कृतिको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ। कार्यसंस्कृति भनेको संगठनभित्र व्याप्त साझा मान्यता, मूल्य, व्यवहार, आस्था र परम्पराहरूको समुच्चय हो, जसले संस्थाका सदस्यहरूको सोच, कार्यशैली र निर्णयप्रक्रियामा सकारात्मक प्रभाव पार्दछ। सकारात्मक कार्यसंस्कृतिले कर्मचारीहरूमा प्रेरणा, जिम्मेवारीबोध,समुह भावना र नवप्रवर्तनशीलता विकास गर्छ, जसले संगठनलाई नयाँ चुनौतीहरूसँग जुध्न सक्षम बनाउँछ। कार्यस्थलमा पारदर्शिता, विश्वास, खुला संवाद र समान अवसरको वातावरणले कर्मचारीलाई आत्मीयता र जिम्मेवारीका साथ काम गर्न उत्प्रेरित गर्छ।
संगठनात्मक संस्कृति परिवर्तनका लागि कर्मचारीको सोच र व्यवहार बदल्नु आवश्यक रहेको छ ।संगठनात्मक संस्कृति परिवर्तनको लागि निजामती कर्मचारी भएकोमा आफुलाई गर्व गर्ने भावनाको सिर्जना गर्ने, निजामती सेवा अन्य सबै सार्वजनिक निजी सेवाहरूका लागि उदाहरण बन्ने मूल्य निर्धारण गर्नु उचित देखिन्छ ।समय र प्रशासकीय वातावरणले नागरिकहरू सार्वजनिक संगठनहरूलाई प्रभावकारी रूपमा सेवाप्रवाह गरेको देख्न चाहेका हुन्छन्। सार्वजनिक प्रशासन सर्वप्रथम अधिकारको तथा स्रोतसाधनको प्रयोगप्रति उत्तरदायी हुनुपर्दछ। निजामती सेवाले जनताको पक्षमा उत्कृष्ट कार्य गर्न अनिवार्य संस्कृतिको विकास गर्नु पर्दछ। साथै, संगठनात्मक संस्कृतिलाई संगठनको जिम्मेवारी र उत्तरदायित्वसँग तथा नतिजा प्राप्त गर्ने ब्रान्ड मूल्यसँग लगेर आबद्ध गर्नुपर्दछ। कार्यसंस्कृति समयानुकूल परिवर्तन हुन नसकेमा त्यो संगठनको गतिशीलताका लागि बाधक बन्छ। त्यसैले नेतृत्वले खुलापन, समावेशिता र निरन्तर सुधारलाई प्राथमिकता दिनु आवश्यक हुन्छ। एक सक्षम र दीगो संगठन निर्माण गर्न सकारात्मक, लचिलो र व्यवहारिक कार्यसंस्कृति आवश्यक हुन्छ। कार्यसंस्कृति परिवर्तनको आधार हो, जसले संस्थालाई भविष्यतर्फ अघि बढाउँछ। सार्वजनिक संगठनका अगाडि नयाँ जिम्मेवारी नयाँ चुनौतीहरू आइरहने भएकाले संगठनात्मक संस्कृतिलाई पनि गतिशील र समय र परिस्थितअनुरूप अनुकूलन हँदै जाने बनाउनु आवश्यक छ।
संगठनमा सकारात्मक कार्यसंस्कृति सिर्जना गर्न निरन्तर प्रयास आवश्यक हुन्छ। यसको लागि प्रशिक्षण, मूल्य आधारित नेतृत्व, पारदर्शिता, कर्मचारी सहभागिता, र प्रेरक मूल्यांकन प्रणालीको विकास गर्नुपर्छ। कर्मचारीहरूको सृजनात्मकता, प्रतिबद्धता, र मनोबललाई उच्च प्राथमिकतामा राख्ने संस्कृतिले संगठनलाई काम गर्ने स्थल मात्र नभई, नवप्रवर्तन र उत्कृष्टता प्राप्त गर्ने केन्द्र बनाउँछ।
निष्कर्षतः, गतिशील संगठन निर्माणमा सकारात्मक कार्यसंस्कृतिको भूमिका अपरिहार्य छ। यो संगठनलाई नवप्रवर्तनशील, प्रतिस्पर्धात्मक, लचकदार, र दीर्घकालीन सफल बनाउने आधार हो। संरचना, नीति वा प्रविधिमा ध्यान केन्द्रित गर्नु पर्याप्त छैनस संगठनको वास्तविक शक्ति यसको मानव स्रोत र कार्यसंस्कृतिमा निहित हुन्छ। सकारात्मक कार्यसंस्कृति नै संगठनलाई चुनौतीपूर्ण परिस्थितिमा पनि गतिशील, सशक्त र स्थिर बनाउने मुख्य उपकरण हो।