को हुन् विद्युत प्राधिकरणका निमित्त कार्यकारी प्रमुख कोइराला ?

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाई नियुक्त गरेको छ । ऊर्जा मन्त्रालयले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै कोइरालालाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । विद्युत् प्राधिकरणका यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङको भदौ २८ गते पदावधि सकिएपछि कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको ऊर्जा मन्त्री वर्षमान पुन अनन्तका निजी सचिव कमान थापा मगरले जानकारी दिए ।

Advertisement 1

को हुन् कोइराला ?
विद्युत प्राधिकरणको निमित्त कार्यकारी प्रमुखमा नियुक्त भएका लेखनाथ कोइराला प्राधिकरणका १२ औँ तहमा कार्यरत कर्मचारी हुन् । हाल प्राधिकरणमा कार्यरत कर्मचारीमध्ये कोइराला सबैभन्दा वरिष्ठ हुन् । हितेन्द्रदेव शाक्य कोइरालाभन्दा वरिष्ठ कर्मचारी हुन । तर, अहिले शाक्यको दरबन्दी कम्पनीमा रहेकाले कोइरालालाई निमित्तको जिम्मेवारी दिइएको मन्त्रालयले जानकारी दिएको छ ।

२०४५ सालमा प्राधिकरणमा सेवा शुभारम्भ गरेका कोइराला चार्टर्ड एकाउन्टेन्ट हुन् । उदयपुर निवासी कोइरालाले दिल्लीबाट पढाइ पूरा गरेका हुन् । यसअघि प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ चार वर्षे कार्यकाल पूरा गरेर मंगलबार बिदा भएका हुन् । घिसिङ बिदा भएसँगै खाली रहेको नेपाल विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशक छनोटका लागि खुला प्रतिस्पर्धा गराउने सरकारको तयारी छ ।

Advertisement 2

सरकारले कानुन अनुसार नयाँ कार्यकारी निर्देशक छनोट खुला प्रतिस्पर्धाबाटै गराउन लागेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली खुला प्रतिस्पर्धाबाटै प्रमुख नियुक्त गर्ने पक्षमा रहेका छन् ।

प्रकाशित :२०७७ भाद्र ३१, बुधबार १३:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry