सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता, अनलाइन प्रणाली र डिजिटाइजेसनको कार्यलाई तीव्र अघि बढाउनुपर्नेमा जोड दिदैं: मुख्यसचिव अर्याल

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले गरेको नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारीका लागि आयोजना गरेको सेक्रेटरी कोलोक्वियमः इन्हान्सिङ डेभलपमेन्ट परफर्मेन्स एन्ड गभर्नमेन्ट एफिसिएन्सी कार्यक्रममा बोल्दै मुख्य सचिव एकनारायण अर्यालले कार्यसम्पादनमा ढिलाइ, निर्णय नगर्ने प्रवृत्ति र सेवा प्रवाहमा असमानताका कारण जनमानसमा सरकारप्रति नकारात्मकता बढिरहेको बताए। ‘सरकारले गरेका राम्रा कामलाई पनि बुझाउने गरी सम्प्रेषण गर्न नसक्दा नकारात्मकता हावी भएको छ,’ उनले भने।

Advertisement 1

मुख्यसचिव अर्यालले विकास र सुशासनलाई नङ र मासुको सम्बन्ध भएको उल्लेख गर्दै समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न सुशासन अपरिहार्य भएको बताए। उनले कर्मचारीतन्त्रलाई नीति तथा कानून कार्यान्वयनमा प्रतिवद्ध र नतिजामुखी बन्न आग्रह तथा निर्देशन दिएका छन्। अर्यालले भ्रष्टाचारप्रति शून्य सहनशीलताको पक्षमा दृढ प्रतिबद्धता व्यक्त गर्दै भने, ‘सूचना प्रविधि र सामाजिक सञ्जालले अनियमितता उजागर गर्ने अवस्था आएकोले साना गल्ती गर्न पनि छुट छैन।’

अर्यालले सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता, सेवा प्रवाहमा सहजता, अनलाइन प्रणाली, एकद्वार सेवा र डिजिटाइजेसनको कार्यलाई तीव्र गतिमा अघि बढाउनुपर्ने बताए। उनले ‘अनावश्यक संस्थाहरूको खारेजी, कानुनी जटिलताको अन्त्य र अस्थायी तथा दोहोरिएका संरचनाहरूको समायोजन गरी साधन स्रोतको सदुपयोग गर्नुपर्छ,’ भन्नेमा विषेश जोड दिएका छन्। कार्यक्रममा उनले पछिल्लो समय राजनीतिक नेतृत्व र कर्मचारीबीचको विश्वास संकटले सेवा प्रवाह र विकासमा नकारात्मक असर परेको भन्दै विश्वासको वातावरण बनाउन आग्रह गरेका छन्।

Advertisement 2

उनले ‘काम गर्ने र नगर्ने कर्मचारीबीच भिन्नता देखिने नीति ल्याई उत्कृष्टलाई प्रोत्साहन र कामचोरलाई दण्डित गर्नुपर्छ,’ भन्दै कर्मचारीतन्त्रको उच्च मनोबल र जवाफदेही संयन्त्र खडा गर्ने खाँचो भएको बताएका छन्। ‘हामी धेरै कानुन, निर्देशिका र प्रक्रियाको जन्जालमा परेका छौं, जसले शीघ्र कार्यान्वयनमा बाधा पुर्‍याएको छ,’ उनले भने, ‘यस्ता वाधक प्रावधान संशोधन वा खारेज गरिनुपर्छ।’ सार्वजनिक खरिद, सेवा प्रवाहको प्रभावकारिता र अन्तरतह समन्वयका विषयमा आएका सुझावलाई समेटेर स्टाफ कलेजले प्रतिवेदन तयार गर्ने जानकारी दिँदै उनले शासकीय सुधार आयोगमा त्यसलाई छलफलको विषय बनाउनुपर्ने बताए।

कार्यक्रममा सचिवहरू र विषयगत विज्ञहरूले सार्वजनिक खरिद र सेवा प्रवाह सुधारबारे आ–आफ्ना सुझाव राखेका थिए। कार्यक्रमबाट संकलित सुझाव र प्रतिवेदनलाई शासकीय सुधार आयोगले सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्ने बताइएको छ। विकासको प्रभावकारिताका लागि सार्वजनिक खरिद प्रणालीमा सुधार एवं शासकीय व्यवस्थामा कुशलता अभिवृद्धि विषयमा भएको लामो छलफलका क्रममा २ वटा कार्यपत्र प्रस्तुत गरिएका थिए। जसमा प्रशासकद्वय राजन खनालले गभरमेन्ट इफिसेन्सी र मणिराम गेलालले प्रोक्योरमेन्ट इफिसेन्सी विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।

Advertisement 3

पछिल्लो समय मुख्यसचिवलगायत केही सचिवहरू सार्वजनिक सेवा सुधारका लागि नागरिकलाई अनुभूत हुने गरी सेवा प्रवाह गर्नेतर्फ केन्द्रित देखिएका छन्। निजामतीमा हावी कामचोर प्रवृत्तिलाई निरुत्साहित गर्दै विकास निर्माण र सेवा प्रवाहका क्रममा कर्मचारीबाट कुनै पनि खालको ढिलासुस्ती र सम्झौता गर्न नहुने भन्दै मुख्यसचिवको नेतृत्वमा शासकीय सुधारलाई अभियानकै रूपमा अगाढी बढाउनु पर्ने धारणा व्यक्त गरेका छन्।

प्रकाशित :२०८२ श्रावण १, बुधबार ०९:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry