अहंकारमुक्त सम्बन्धः प्रेम, मैत्री र समझदारीको आधार

जीवन दर्शन
सम्बन्धहरूको स्थायित्व, गहिराइ र सौन्दर्य केवल बाह्य आदानप्रदानमा होइन, अन्तर्मनको स्वच्छता र विनम्रताको अभ्यासमा आधारित हुन्छ। जब सम्बन्धमा ‘म’ को अहंकार हावी हुन्छ, तब प्रेम आदेशमा बदलिन्छ, मैत्री प्रतिस्पर्धामा, र समझदारी तर्कको युद्धभूमिमा रूपान्तरण हुन्छ। अहंकारले व्यक्तिको चेतनामा ‘मात्र म नै सही’ भन्ने भ्रान्तिको जरा गाड्दछ, जसले भावनात्मक दूरी, अपमान, तिरस्कार र अन्ततः विछोडको बीउ रोप्दछ। तर जहाँ झुक्न सक्ने, बुझ्न सक्ने र माफ गर्न सक्ने साहस हुन्छ, त्यहाँ सम्बन्धहरू आत्मिक बन्धनमा परिणत हुन्छन्।
साँचो प्रेम आत्मदर्पणजस्तै हो—जहाँ आफूभन्दा अर्कोको पीडा, आकांक्षा र आत्मसम्मानलाई बुझ्न सक्ने संवेदनशीलता हुन्छ। अहंकारले भने यो दर्पणमा धूलो पोत्दछ, जसले हामीलाई आफ्नै सीमाहरू नदेख्ने बनाउँछ। त्यसैले प्रेममा अहंकारले विष घोलेझैँ असर गर्छ, मैत्रीलाई खोक्रो बनाउँछ र समझदारीको बाँध चिर्दछ। जब व्यक्ति सम्बन्धमा आफूलाई ‘सर्वश्रेष्ठ’ ठान्न थाल्छ, तब त्यो सम्बन्ध एकतर्फी भार बन्छ। तर जहाँ दुई पक्ष विनम्र भावले एकअर्कालाई बुझ्न चाहन्छन्, त्यहाँ द्वन्द्व होइन, समन्वय जन्मिन्छ।
सम्बन्धलाई दीर्घकालीन र समृद्ध बनाउने मूलमन्त्र हो—आत्मनिरीक्षण, क्षमा र संवाद। अहंकारमुक्त सम्बन्धहरू भावनात्मक खुलापन, परस्पर सम्मान र अव्यक्त समझदारीको जगमा उभिएका हुन्छन्। यस्तो सम्बन्धमा शक्ति होइन, सेवा बोल्दछ; स्वामित्व होइन, समर्पण बोल्दछ। तसर्थ, सम्बन्धलाई केवल आश्रय होइन, आध्यात्मिक अभ्यास मान्न सक्नेहरूका लागि ‘अहंकार’ त्याग्न सक्नु सच्चा प्रेम र मित्रताको प्रवेशद्वार हो। यही प्रवेशद्वारबाट मानव सम्बन्धले पूर्णता र सार्थकता प्राप्त गर्छ।
अहंकार मानव मनको त्यो अदृश्य काया हो, जहाँ ‘म’ को पर्खालले ‘हामी’ को माटोलाई छोपेको हुन्छ। यो ‘म’ केन्द्रित दृष्टिकोणले आफूलाई सबैभन्दा महत्त्वपूर्ण ठान्ने वृत्ति जन्माउँछ, जसले व्यक्तिगत अस्तित्वलाई मात्र मूल्य दिन्छ र अरूलाई उपेक्षित बनाउँछ। जब चेतना आफ्नो असली शुद्धरूपबाट विचलित हुन्छ र ‘म’ को मोहमा फँसिन्छ, तब सम्बन्धहरू द्वन्द्व र वैमनस्यताले ग्रसित हुन्छन्। यो स्थिति ठीक त्यही हो जहाँ ‘म’ हराउँछ र ‘हामी’ फुल्न सक्दैन। किनभने ‘म’ को अत्यधिक अभिमानले समाज र सम्बन्धको मूल आधार—सम्मान, समझदारी र साझा अनुभूति—लाई तोडिदिन्छ। यसले ‘हामी’ को संभावनालाई दफन गर्छ र प्रेम, सहिष्णुता तथा समर्पणजस्ता मौलिक भावनाहरूलाई जन्मनै नदिन्छ।
अहंकारले व्यक्तिगत र सामाजिक चेतनालाई सीमित बनाउँछ भने ‘हामी’ को चेतना त्यो अनन्त विस्तार हो जसले सबैलाई समेट्छ। ‘म’ हराउनु भनेको आफ्नो सीमित स्वार्थ, भावनात्मक क्रोध र आत्मकेंद्रित सोचलाई त्याग्नु हो; र ‘हामी’ फुल्नु भनेको साझा अस्तित्व, सह–अस्तित्व र प्रेमको सशक्त सूत्र बुन्नु हो। यो प्रक्रिया व्यक्तिगत विनम्रता र आत्म–समर्पणबाट सुरु हुन्छ र अन्ततः समष्टिगत सद्भाव र मानवता को उत्कर्षतर्फ उन्मुख हुन्छ।
यसैले भनिन्छ—जहाँ ‘म’ हराउँछ, त्यहाँ ‘हामी’ फुल्छ। यो मात्र एक वाक्यांश होइन, मानव जीवनको एक गहन दर्शन हो जसले हामीलाई सम्झाउँछ कि वास्तविक चेतना र प्रेम तब मात्र सम्भव हुन्छ जब हामी आफ्नै अहंकारलाई त्यागेर सामूहिक चेतनाको उज्यालोमा प्रवेश गर्छौं। यही प्रेमको बगैंचाले मात्र व्यक्तिगत, सामाजिक र आध्यात्मिक स्तरमा पूर्णता र शान्तिको बीजारोपण गर्दछ। मानव चेतनाको यो परिपक्वता नै साँचो मुक्ति र समृद्धिको आधार हो।
अहंकारको उपस्थिति त्यस्तो सूक्ष्म तर प्रचण्ड छ कि यो केवल बाह्य व्यवहारमा मात्र होइन, आन्तरिक चेतनाको रचना प्रणालीमै विकार ल्याउँछ। व्यक्ति जब ’म’ र ’मेरो’को भावनामा जकडिन्छ, तब ऊ आफूलाई संसारको केन्द्र ठान्छ। यही केन्द्रितता उसलाई अरूप्रति असहिष्णु बनाउँछ, आलोचनालाई अपमान ठान्छ र सुधारलाई शत्रु सम्झन्छ। पौराणिक उदाहरणहरू—जस्तै रावणको आत्मविस्मृति, दुर्योधनको पदासक्ति, शिशुपालको अहंकारी वाणी—सबैले यही सन्देश दिन्छन् कि अहंकार क्षणिक गौरव दिन सक्छ, तर दीर्घकालीन पतनको मूल हो।
समाज र शिक्षाको आजको स्वरूपले पनि बाह्य सौन्दर्य, बुद्धि, सम्पत्ति र पदलाई नै सफलताको मापदण्ड मानेको छ। जब शिक्षाले आत्मा होइन, केवल बुद्धि पोषण गर्छ; जब संस्कारले नम्रता होइन, प्रतियोगिताको घमण्ड बढाउँछ; तब चेतना आफ्नै दर्पणमा विस्मृत हुन्छ। यस्ता मूल्यहरूले युवाहरूलाई आत्मचिन्तन होइन, आत्मप्रशंसा सिकाउँछन्। फलतः उनीहरू सफलतासँगै अभिमानका जालोमा फस्न थाल्छन्, जसले अन्ततः सामाजिक ताना–बाना नै कमजोर पार्छ।
अहंकारको संरचना गहिरो, सूक्ष्म र बहुपरतात्मक हुन्छ—जसले व्यक्ति मात्र होइन, संस्था, संस्कृति र शासन पद्धतिलाई समेत दूषित बनाउने क्षमता राख्छ। जब कुनै व्यक्तिले आफ्नो निर्णय, बोली वा व्यवहारमा निरन्तर स्व–महत्त्वको पर्खाल उठाउँछ, त्यतिबेला ऊ सत्यको होइन, आफ्नो बनावटी श्रेष्ठताको अनुयायी बन्छ। यस्ता व्यक्तिहरूको सोच ’म नै सही’, ’म नै श्रेष्ठ’ को भ्रमात्मक वृत्तमा घुमिरहन्छ, जहाँ न आलोचना प्रवेश गर्न सक्छ, न सुधार सम्भव रहन्छ। जब सत्ताको उच्चतम तहमा बसेका व्यक्तिहरू यसै मानसिक संरचनामा बन्दिन्छन्, तब नीति, न्याय र नैतिकता सबै अहंकारको छायामा हराउँछन्।
यो अवस्था केवल बाह्य दमन होइन, अन्तर्मनको सूक्ष्म शोषण हो—जहाँ विवेक मृतप्रायः हुन्छ र निर्णय स्वार्थ, लोभ वा बदला प्रेरित बनिन्छ। यसैले संस्था र राष्ट्रको समृद्धिका लागि नेतृत्वको विनम्रता, आत्म–जाँच र आलोचना–सहनशीलता अत्यावश्यक छ। जब व्यक्तिले आत्मनिरीक्षण गरेर आफ्नो सीमालाई स्वीकार्छ, तब मात्रै उन्नतिको ढोका खुल्छ—नत्र ऊ उपलब्धिका पर्खालमा कैद भएर आत्मसन्तोषको भ्रममा बाँचिरहन्छ।
वास्तविक उन्नति भनेको ’म’ केन्द्रित सोचबाट ’हामी’ केन्द्रित चेतनामा रूपान्तरण हो, जहाँ अरूको अस्तित्वलाई समान मूल्यमा सम्मान गरिन्छ। अहंकारको जरा उखेल्न जीवनका प्रत्येक आयाममा विनम्रता, आत्म–स्वीकृति र संवेदना जस्ता सद्गुणहरूको अभ्यास आवश्यक छ। अन्यथा, ज्ञान, पद, वा शक्ति जति नै प्राप्त गरे पनि त्यो व्यक्तिको मूल्य र चेतनाको परिष्कार नहुन सक्छ। यथार्थमा, जहाँ आत्म–समर्पण हुन्छ, त्यहीँबाट आत्म–बोध सुरु हुन्छ—र यहीँबाट सभ्यता र समरसताको प्रकाश उदाउँछ।
अग्रगमनका लागि समाजमा आत्म–अनुशासन, संयम र विवेक–केन्द्रित शिक्षाको प्रवर्धन आवश्यक छ, जसले विद्यार्थीलाई केवल प्रतिस्पर्धी होइन, सहृदय, सहिष्णु र समर्पित नागरिक बनाओस्। नेतृत्व तहमा रहेका व्यक्तिहरूले नम्रता र आत्मचिन्तनको उदाहरण प्रस्तुत गर्नु आजको आवश्यकता हो। जब आत्मबोध, लोककल्याण र सत्यप्रेम राष्ट्रव्यापी चेतनाको हिस्सा बन्छ, तब मात्र साँचो शान्ति, सामाजिक समरसता र दिगो विकास सम्भव हुन्छ।
अन्ततः, अहंकारको विघटन नै आत्म–विस्तार हो। जहाँ अहंकार झुक्छ, त्यहींबाट प्रेमको अंकुर फुट्छ। र यही प्रेम, सेवा र सहकार्यमा आधारित चेतना नै हामीलाई समुन्नत, समर्पित र सुशोभित राष्ट्र निर्माणतर्फ अग्रसर गराउँछ।
प्रकाशित :२०८२ असार ८, आईतवार ०८:१९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%