शहीदको अपमान गरिरहने हो?

शहीद यो गह्रौं शब्द, देश र जनताको पक्षमा लाग्दा तत्कालीन राज्य पक्षले मृत्युवरण गर्न वाध्य पारिएकाहरूलाई संवोधन गरिने ओजस्वी शब्द हो शहीद। नेपालमा राणा शासनको क्रुरताको विरोधमा जीवन गुमाउन पुगेका धर्मभक्त, दशरथ, शुक्रराज,गंगालाल हाम्रा प्रातः स्मरणीय शहीद हुन्। यी ४ जना शहीदको नामले हरेक नेपालीलाई शिर निहुराउन वाध्य पार्छ। यी शहीदहरू उपर हार्दिक श्रद्धान्जली। यसरी मन मस्तिष्कमा गहिरो छाप छोडेका वीर शहीदको लाममा हाम्रा पछिल्ला नेता भनाउदाले कतिलाई मिसाएर शहीदको महत्व र गरीमालाई पर्दा लगाईदिने काम गरेका छन्। हालसालै नेपालको १० वर्षे आतंकका नाईकेले सार्वजनिक स्थानमा बोलेको कुरा उल्लेख गर्न उपयुक्त लाग्यो।
शहीद प्रतिष्ठान नामको संस्थाले आयोजना गरेको भनिएको कार्यक्रममा उक्त १० वर्षे अवधिमा मरेका सबै ३००० तीन हजार कार्यकर्तालाई वकाईदा शुक्रराज, धर्मभक्त, गंगालाल र दशरथको लाईनमा राख्ने रे। उनी प्रधामन्त्री भएको यी र यस्तै कार्यकर्तालाई शहीद घोषणा गर्नका निम्ति हो, उनको कार्यकाल भरी यिनले सबैलाई शहीद बनाउने हुन् रे, बरु तपाईले चिने जानेको कोही छ भने ती नामहरू ल्याउनुस् भनेर सो कार्यक्रममा भन्न भ्याएछन्। यसरी मुलुकको प्रधान मन्त्रीको कुर्सीमा बसेको मान्छेले शहीद शब्दको यति अपमान गरी रहदा पनि गिठे मन्त्रिमण्डलमा रहेका अन्य सदस्यहरूले ताली बजाउनु झनै उदेक लाग्दो विषय हो। यो जस्तै एउटा हांसो र उदेक लाग्दो अर्को घोषणा पनि सुनियो त्यो के भने केही दिन अगाडि ईपीयसको भाषा परीक्षा विवादमा प्रहरीको गोली लागेर मृत्यु भएकालाई पनि शहीद घोषणा गर्ने रे।शहीदको मर्म र भावनालाई आत्मसाथ नगरी जथाभावी शहीद घोषणा गर्ने प्रवत्तिले यसको गरीमालाई कहां पुर्याउने हो भन्न सकिदैन। नेपाली शब्दकोष पल्टाएर हेर्यौ भने शहीदलाई यसरी सम्बोधन गरिएको पाईन्छ “ आफ्नो देश , संस्कृति, अस्तित्व र स्वाभिमानको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति वलिदान हुने अमर ब्यक्तिलाई शहीद भनिन्छ”। अब हाम्रा प्रधानमन्त्रीले घोषणा गरेका ब्यक्तिहरूलाई वृहद् नेपाली शब्दकोषले समेट्छ कि समेट्दैन? कि जंगेले बोले पछि बोल्यो बोल्यो भने जस्तै छविलालको बोली नै लाहाछाप सरह हुने हो? यसरी कुनै पनि शब्दको गरीमालाई ख्यालै नगरी त्यसलाई राजनीतिक अर्थ लगाएर मनपरी गर्ने हो भने त्यसबाट हुने क्षति र नोक्सानीलाई त्यही घोषणा गर्ने ब्यक्तिबाट असुल उपर गराउनु पर्छ।
शहीदको नामलाई पैसा संग साट्ने, पद संग साट्ने र यो शब्दलाई लाभको पद बनाउने धृष्टता हाम्रा नेता भनाउदाहरूले गरेका छन् जुन कदापि राम्रो मानिदैन । यदि कोही देशको लागि अमरत्व प्राप्त गर्यो भने पनि उसको उचाई र गरीमालाई पैसा र पदमा साट्ने काम राज्य पक्षले नगरोस्। यदि कोही ब्यक्ति साच्चिकै शहीदको कोटीमा पर्छ भने उसलाई राज्यले सम्मान गरेर भोलीको पुस्ताले समेत निजलाई सम्मान गरी रहने वातावरण बनाउनु पर्छ। यही प्रसंगमा नेपालीका हुन् कि माओवादी केन्द्र मात्रका हुन् प्रचण्ड नामका प्रधानमन्त्रीले कार्यकर्तालाई निर्देशन दिदै भनेछन् कि १७ हजार दुई जनाको हत्याको विषयमा म मात्र किन बोल्ने? तिमीहरूको थुतुनो छैन? तिमीहरूले प्रतिवाद किन गर्न सक्दैनौ?
यति भन्ने मान्छेले भोली केही भए मैले शहीदमा दर्ता गरीदिई हाल्छु, १० लाख आई हाल्छ किन चिन्ता लिने भन्न समेत बेर लगाउदैनन्। यस्ता ढांट र छल गर्ने मान्छेले राज्यको नेत्तृत्व गरेको स्थितिमा हामी सोझा साझा र ईमान्दार नेपालीले पत्याएर बस्नु को बिकल्प छैन र ! हामीले खाई नखाई तिरेको कर र राजस्व नक्कली शहीदका नाममा भुक्तानी दिदा पनि हामी बोल्ने हिम्मत गर्दैनौ भने हाम्रो बोली बोलिदिन पनि अरू नै खोज्नु पर्ने हो कि? नत्र सार्बजनिक ठाऊमा मुलुकको प्रधानमन्त्री बर्बराउदै हिड्दा हामीले विरोध गर्नै पर्छ। नेपाल र नेपालीको भलो चाहने पदमा रहेको ब्यक्तिले आफ्ना कार्यकर्ता बाहेक अरूलाई नेपाली नै देख्दैनन् भने यी एउटा पार्टीका जिम्मुवाल मात्र हुन् यिनबाट सम्पूर्ण नेपालीको हितमा काम हुन सक्दैन।
प्रकाशित :२०८० माघ १४, आईतवार ०६:२८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%