उपत्यकाबाट घर फर्किनेहरु बढे

काठमाडौं उपत्यकाबाट घर जान चाहनेहरुका लागि दुई दिनको समय दिएर कडा बन्द गर्ने तयारी स्थानीय प्रशासनले गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार काठमाडौं उपत्यकाको चेन ब्रेक गर्नका लागि डेढहप्ता कडा बन्द गर्नूपर्ने अवस्था छ । “हामीले अनुगमन पनि तीव्र बनाउँछौँ,” उनले भने, “आज र भोली घर जाने समय दिन्छौँ । समय दिएर मात्रै कडा बन्द गर्नु पर्ने सुझाव आएको छ । त्यसैले हामीले घर जान चाहनेहरुका लागि समय दिएर बन्द गर्न लागेको हौँ ।” घर फर्किन समय दिऔँ भनेर यस्तो निर्णय गरिएको उनले जानकारी दिए ।
प्रशासनको सो निर्णयसँगै उपत्यकामा विहीबारबाट लकडाउन सुरु हुने भएपछि घर फर्किने यात्रुहरुको भिड बढेको छ । गोंगबुस्थित नयाँ बसपार्क, कोटेश्वर, कलंकी लगायतका क्षेत्रमा घर फर्किनेहरुको संख्या बढेको देख्न सकिन्छ । अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य रहेका सार्वजनिक यातायात सोमबारको उक्त निर्णयसँगै भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबार दुई दिन यात्रुलाई घर जाने समय दिएको बताएसँगै आज बिहानैदेखि नयाँ बसपार्कमा घर जान यात्रुहरुको भीड लागेको हो । लामो दूरीका सार्वजनिक यातायातमा सिट नपाएको यात्रुले गुनासो गरेका छन् । बझाङ जानका लागि टिकट काट्न सोमबार साँझ नयाँ बसपार्क पुगेका जयराज जोशीले टिकट नपाएको गुनासो गरे । लामो दूरीका सवारी साधन थोरै भएका कारण पनि नयाँ बसपार्कमा टिकट अभाव भएको हो ।

Advertisement 1

 

प्रकाशित :२०७८ बैशाख १४, मंगलवार २०:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry