कास्कीको अन्नपूर्णमा चट्याङ लागेर २ मजदुरको मृत्यु

कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर २ मजदुरको मृत्यु भएको छ। अन्नपूर्ण गाउँपालिका–११ पोडेस्थित त्रिवेणी ताल पदमार्गमा काम गरिरहेको अवस्थामा आइतबार हावाहुरीसहितको चट्याङ लागेर सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरत पुविर राई र सोही ठाउँका वर्ष १८ का महेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताएकाछन्।
Advertisement 1
समुन्द्री सतहदेखि ३ हजार ८ सय मिटर उचाईमा रहेको त्रिवेणीताल पदमार्गमा बाटो फराकिलो बनाउने, सिँढी हाल्ने र रेलिङ निर्माणमा खटिएका ९ जनामध्ये बाँकी ७ जना भने सकुशल रहेको जनाइएको छ।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा ४ जनाको टोली आइतबारनै घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक शमाले बताए। उनले भने, “जिल्लाबाट गएको प्रहरी टोली हिजो राति घान्द्रुक पुगेर बास बसेको छ। त्यहाँबाट पैदल ५ घण्टाभन्दा बढी समय लाग्ने भएकाले दिउँसोसम्म घटनास्थल पुगेर शव ल्याउने प्रक्रिया सुरु हुन्छ।”
Advertisement 2
नेपाल पर्यटन बोर्ड र गाउँपालिकाकाको संयुक्त लगानीमा पदमार्ग निर्माण सुरु भएको गाउँपालिकाले जनाएको छ।