थामेमा जलवायुजन्य विपद्को जोखिम कायमै

काठमाडौं। गत साउन ३२ गते सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका– ५ स्थित थामेखोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा हिमताल विष्फोटका कारण आएको बाढीसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ। प्रतिवेदनले थामेमा अझै पनि यस्ता जलवायुजन्य प्राकृतिक जोखिम कायमै रहेको उल्लेख गर्दै न्यूनीकरणका लागि आवश्यक पहलका लागि सुझाव दिएको छ।
Advertisement 1
राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले थामे र अन्य स्थानमा रहेका हिमताल विष्फोटको जोखिममा रहेको उल्लेख गर्दैै क्षति न्यूनीकरणका विषयमा छलफल आवश्यक रहेको बताए। ‘सम्भावित जोखिमका विषयमा विस्तृत अध्ययन गर्न जरुरी छ।
विगतका पाठ सिकेर आगामी दिनमा कसरी क्षति न्यूनीकरण गर्ने भन्ने विषयमा समन्वय गरेर अगाडि बढ्न आवश्यक छ,’ उनले भने, ‘जोखिममा रहेको बस्तीलाई कसरी सुरक्षित गर्ने भन्ने विषयमा पनि बहस हुनुपर्छ।’ प्राधिकरणकै सहसचिव अर्जुनकुमार बमले थामेमा अझै पनि जोखिम कायमै रहेको भन्दै कसरी सुरक्षित हुने भन्ने विषयमा व्यापक तयारी आवश्यक रहेको बताए। ‘जोखिम न्यूनीकरणका लागि आगामी दिनमा पूर्वसूचना प्रणाली जडानका लागि हामी सम्बन्धित सरोकारवाला निकायसँग पनि समन्वय गर्नेछौं,’ ‘निजी आवास पुनःनिर्माणका कुनै कमी हुने छैन।
Advertisement 2
यससँगै अध्ययनलाई पनि प्राथमिकता दिँदै पूर्वतयारीमा जुट्ने छौं।’ खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरि शेर्पाले थामेको बस्ती पुनःनिर्माणका लागि अन्य क्षतिग्रस्त भौतिक पूर्वाधार निर्माण समयमै सम्पन्न गरेर पुरानै अवस्थामा फर्काउन संघीय सरकारलाई आग्रह गरे। ‘ढिला न्याय दिनु भनेको न्याय नदिनु जस्तै हो,’ उनले भने, ‘थामेलागायत अन्य क्षेत्र पनि जोखिममा छ। कसरी जोखिम व्यवस्थापन गर्ने? न्यूनीकरण कसरी गर्ने? पूवतयारी के–के हुने भनेर हामीले स्थानीय अनुकूलन योजना बनाउँदै छौँ। यसमा तिनै तहका सरकारबीच समन्वय हुन आवश्यक छ।’