बिदा स्वीकृत नगराई अनुपस्थित पशु विकास अधिकृतलाई सेवाबाट हटाउने तयारी

काठमाडौं। लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेको र स्वीकृतिबिना बिदामा बसेको आरोपमा कृषि, वन तथा पर्यावरण मन्त्रालयले एक जना पशु विकास अधिकृतलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले मनहरी गाउँपालिका, रजैया मकवानपुरमा पदाधिकार रहेका पशु विकास अधिकृत डा. सरोज खतिवडालाई सेवाबाट हटाउनुअघि अन्तिम स्पष्टीकरण माग गरेको हो।
Advertisement 1
मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार खतिवडा वैदेशिक अध्ययन पूरा गरेपछि तोकिएको समयभित्र सम्बन्धित कार्यालयमा हाजिर भएका थिएनन्। उनी बिदा स्वीकृत नगराई २०७९ भदौ ९ गतेदेखि लगातार ९० दिनभन्दा बढी समय कार्यालयमा अनुपस्थित रहेको मन्त्रालयको सूचनामा उल्लेख छ।
निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (ज) र (छ) बमोजिमको कसुर गरेको ठहर गर्दै मन्त्रालयले ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (१) बमोजिम सजाय गर्नुपर्ने आधार र कारण देखाएको छ। त्यसअघि निजामती सेवा नियमावली, २०५० को नियम ११० अनुसार १५ दिनभित्र सफाइ पेस गर्ने मौका दिइएको भए पनि सम्बन्धित कर्मचारीले मन्त्रालयमा कुनै जवाफ नदिएको सूचनामा उल्लेख छ।
Advertisement 2
मन्त्रालयले पुनः ३० दिनभित्र स्पष्टीकरण पेस गर्न मौका दिने निर्णय गरेको छ। सचिवस्तरबाट २०८३ कात्तिक २० गते भएको निर्णयअनुसार प्रकाशित सूचनामार्फत सम्बन्धित कर्मचारीलाई अन्तिम अवसर दिइएको हो।
मन्त्रालयले तोकिएको अवधिभित्र चित्तबुझ्दो स्पष्टीकरण प्राप्त नभए निजामती सेवा ऐन, २०४९ बमोजिम सेवाबाट हटाउने प्रक्रिया अघि बढाउन सक्ने जनाएको छ। सरकारी कर्मचारी लामो समयसम्म कार्यालयमा अनुपस्थित रहने र बिदा स्वीकृत नगराई सेवामा नफर्किने अवस्थालाई मन्त्रालयले निजामती सेवा ऐनअनुसार कारबाहीको विषय बनाएको यस घटनाले देखाएको छ।
Advertisement 3










