त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपो सार्ने प्रक्रिया सुरु, डीपीआर बनाउने जिम्मा पुल्चोक क्याम्पसलाई

काठमाडौं। नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इन्धन डिपो सार्ने प्रक्रिया अघि बढाएको छ। निगमले प्रारम्भिक प्रक्रियाअनुसार विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको जिम्मा पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई दिएको हो। बुधबार डीपीआर निर्माण सम्बन्धमा क्याम्पसका पदाधिकारी र निगमका अधिकारीहरुले सम्झौतासहित हस्ताक्षर गरेका छन्। डीपीआर निर्माणसम्बन्धी सम्झौतामा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक, कन्सल्टेन्सी सेवाका सहप्राध्यापक नारायणप्रसाद गौतम र निगमका सिनामंगल डिपो प्रमुख इन्जिनियर प्रदीप यादवले हस्ताक्षर गरे।

Advertisement 1

हस्ताक्षारपछि दुवैजनाले सम्झौता साटासाट गरे। सो क्रममा डिपो प्रमुख यादवले विमानस्थलको हवाई सुरक्षा मापदण्डअनुसार डिपो सार्ने प्रक्रिया सुरु गरिएको जानकारी गराए। पुल्चोक क्याम्पसको कन्सल्टेन्सी सेवा भर पर्दो र तुलनात्मक रुपमा सस्तोसमेत भएकाले पुल्चोक क्याम्पससँगै सम्झौता गरेर डीपीआर निर्माणको काम अघि बढाइएको इन्जिनियर यादवले बताए।

यसअघि निगमले अधिकांश परियोजनामा भारतीय आयल निगमको कन्सल्टेन्सी सेवामार्फत डीपीआरको काम गराउँदै आएको छ। भारतीय एजेन्सीसँग डीपीआर गर्दा चरम महंगो हुने गरेको छ। कतिपय भारतीय एजेन्सीले परियोजनाको कुल लागतको १५ प्रतिशतसम्म सेवा शुल्क लिने गरेका छन्। सोअनुसार निगमले पनि विदेशी कन्सल्टेन्टसँग डीपीआर गराउँदा करिब १ अर्ब रुपैयाँ डीपीआरमै खर्च हुने देखिएपछि निगमले पुल्चोक क्याम्पससँग सहकार्य गरी डीपीआर निर्माण गराउने भएको हो।

Advertisement 2

पुल्चोक क्याम्पसको कन्सल्टेन्सी सेवा मार्फत डीपीआर बनाउँदा १ करोड ९८ लाख रुपैयाँमै डीपीआर बन्ने डिपो प्रमुख यादवले जानकारी दिए। उनका अनुसार पुल्चोक क्याम्पसले आगामी ४ महिनाभित्र डीपीआर प्रतिवेदन निगमलाई बुझाउनेछ। डीपीआर प्रतिवेदन निर्माणका लागि बढीमा ६ महिना लाग्ने अनुमान गरिएको भन्दै यादवले ३ देखि ४ महिनामा प्रतिवेदन आफूहरुले पाउने बताए। प्रतिवेदन आएपछि बाँकी काम अघि बढाउने उनको भनाइ थियो। प्रतिवेदन प्राप्त भएपछि आगामी ३ वर्षभित्र डिपो सारिने काम सम्पन्न गरिने छ। डिपो भने विमानस्थलको उत्तरतर्फ गुह्येश्वरी क्षेत्रमा सारिनेछ।

यसअघि अन्तर्राष्ट्रिय विमानस्थलभित्र इन्धन डिपो सुरक्षाका दृष्टिकोणले उपयुक्त नरहेको भन्दै नागरिक उड्डयन प्राधिकरणले डिपो सार्न पत्राचार गरेको थियो। प्राधिकरणले विस्तृत परियोजना प्रतिवेदन समेत बुझाएको थियो। उक्त प्रतिवेदनअनुसार डिपो सार्न कुल लागत ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो। ‘५० वर्षदेखि चलिरहेको डिपो सुरक्षाको मापदण्ड दिनप्रतिदिन मीट गर्न नसकिरहेकाले सार्नुपर्ने अवस्था आएको हो,’ इन्जिनियर यादवले भने, ‘जोखिमहरु बढ्दै जाँदा यसलाई सुरक्षित बनाउनुपर्ने महसुस भयो। हवाई क्षमता धेरै बढिसक्यो। भण्डारण क्षमता ५० वर्षअघिकै छ। बढाउनु पनि पर्छ।’

Advertisement 3

पुल्चोक क्याम्पसको कन्सल्टेन्सी सेवाले डीपीआरको प्रतिवेदन दिएपछि सार्वजनिक खरिद ऐनअनुसार कामको प्रक्रिया अघि बढाइनेछ। ‘२०८४ को मंसिरभित्र यो प्रोजेक्ट पूरा गर्छौँ बढीमा,’ यादवले भने।

त्यस्तै डिपोका इन्जिनियर अनुपम पराजुलीले नवीनतम प्रविधियुक्त डिपो निर्माण आवश्क भएकोले सार्न लागिएको जानकारी दिए। ‘अहिले अन्तर्राष्ट्रिय स्तरको मापदण्ड नरहेको औँल्याइएको छ। यो डिपो पुरानो पनि हो। नविनतम प्रविधियुक्त छैन,’ उनले भने, ‘२०८१/०४/२८ गतेको मन्त्रीपरिषद्को निर्णयअनुसार आज डीपीआर सम्झौता गरिएको हो। यो आयोजनाको पहिलो पाइला हो।’

इन्जिनियरिङ संस्थान पुल्चोक कन्सल्टेन्सी सेवाका सहप्राध्यापक नारायण प्रसाद गौतमले निगमसँग अर्को महत्वपूर्ण काममा जोडन पाउँदा खुसी लागेको बताए। आयल निगमसँग विगत ६-७ वर्षदेखि नै जोडिएको बताउँदै उनले पछिल्लो समय डिपोको डीपीआरको काम पनि आफूहरुले नै गर्न पाउँदा खुसी लागेको बताए। त्यस्तै संस्थानका सहप्राध्यापक सहायक डिन डा. सुरज लामिछानेले संस्थानको कन्सल्टेन्सी सेवाले आफ्नो विज्ञता प्रस्तुत गर्दै आएको बताए।

प्रकाशित :२०८१ मंसिर ५, बुधबार १६:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry