अहिलेको पूँजीबजार अकासे खेतीजस्तो भएको छ


नेपालको बैंक र बित्त क्षेत्रमा साढे तीन दशक लामो अनुभवी व्यक्ति हुन् भिष्मराज ढुंगाना । अहिले उनी नेपाल धितोपत्र वोर्डको कमाण्ड गर्दैछन् । त्रिविबाट अर्थशास्त्रमा एमए र बेलायतबाट बिजनेस फाइनान्समा एमबिएसम्मको अध्ययन पूरा गरेका उनी जागिरे जीवनको क्रममा ०४२ सालदेखि ५ बर्ष राष्ट्रिय बाणिज्य बैंकमा बिताए । त्यसपछि नेपाल राष्ट्र बैंकमा अधिकृतमा नाम निकाले र बैंक तथा बित्त संस्थाहरुको नियमन गर्ने निकायमा पुगे । ०६२ मा निर्देशकमा बढुवा भएका उनी ०७० कार्यकारी निर्देशक बने र उमेर हद लागेर घर फर्किए । त्यसपछि कोरोना कहर र लकडाउन शुरु हुनु अघि उनी धितोपत्र बोर्डको कमाण्डर बन्न पुगे । उनलाई नेपालको वित्त,अर्थतन्त्र र पूँजीबजारको विज्ञको रुपमा लिइन्छ । उनै ढुंगनासँग हाम्रा सहकर्मी महेश्वर गजुरेलले केही जिज्ञासा राखेका छन् :-
० राष्ट्र बैंकबाट अवकास पाएपछि धितोपत्र वोर्डको अध्यक्ष बन्नुभयो । यहाँले जिम्मेवारी सम्हाले यता पूँजीबजारको विकासमा के के काम भए ?
आधाभन्दा बढी अवधि लकडाउनमै बित्यो । कोरोना कहर र लकडाउन नभएको भए हालसम्म थुप्रै काम सम्पन्न भइसकेको हुन्थ्यो । यद्यपि काम रोकिएका छैनन् ।, म यहाँ आएपछि वस्तु विनिमय बजार, विशिष्टिकृत लगानी कोष, ब्रोकरको आधिकारिक प्रतिनिधिको व्यवस्था, मर्चेन्ट बैंकरको दायरा विस्तारका साथैं स्टक डिलरको लाइसेन्स प्रक्रिया वोर्डले अघि बढाएको छ । बजारको बिकास एंव विस्तारका लागि बोर्डले अहिले सर्वसाधरणको उत्साहजनक सहभागिता बढ्न थालेको छ,बजारमा । शेयर सूचांक उचाइमा पुगेको छ । गत असारसम्ममा १६ लाख हाराहारी रहेको डिम्याट खाता बढेर २६ लाख पुगेको छ । यस्तै गत बर्ष ७ लाख हाराहारी रहेको मेरो शेयर खाताको संख्या ११ लाख पुगेको छ । आईपीओकै सन्र्दभमा गत वर्षसम्म करिब छ लाखले आवेदन दिएको तथ्यांक छ अहिले अहिले एउटै निष्कासनमा १५ लाख आवेदन पुगेकको अवस्था छ । गत असारमा दोस्रो बजार अनलाइन कारोबारका लागि करिब १४ हजारले युर्जर आईडी लिएकोमा हाल उक्त संख्या २ लाख २० हजार पुगेको छ । अहिले प्राइमरी बजारमा औसतमा ४ लाख लगानीकर्ता कारोबारमा सक्रीय देखिन्छ । दोस्रो बजारको अवस्था निकै सुधार भएको छ । नेप्से परिसुचक हालसम्मकै उच्च अंक (२३ सय) मा छ । जिडिपीमा बजार पुँजीकरणको अंशमा वृद्धि भई हाल करिब ८० प्रतिशत पुगेको छ ।

Advertisement 1

म यहाँ आउनुपूर्व ४७ प्रतिशत मात्रथ्यो । यस्का अलवा अरु धेरै कानुनी सुधार भएको छ । ब्रोकर कमिशन घटाइएको छ । जस्का कारण साना लगानीकर्तालाई ६० प्रतिशतसम्म राहत भएको छ । सेयर बजार र व्यवसायीले मार्जिन कारोबारसम्बन्धी कार्यविधी बनाई बोर्डको स्वीकृतीमा लागू गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै ईकेवाईसी लागू गरिएको छ । मेरो शेयर खाता खोल्दा, युजर आईडी र पासवर्ड लिँदा शुल्क नलाग्ने व्यवस्था लागू भएको छ । जस्ले धेरै लगानीकर्तालाई प्रोत्साहन मिलेको छ । यसैगरी लकडाउन अघि लगानीकर्ताले धितोपत्र बिक्री पश्चात मेरो शेयरमार्फत् प्रविष्टि गरेको भारित औसत लागत गणना राफसाफ सदस्यहरूले म्यानुअल प्रविष्टि गर्दै आइरहेकोमा अहिले सिधै प्रणालीमार्फत् एकमुष्ठ रूपमा प्रविष्ट हुने व्यवस्था मिलाइएको छ । धितोपत्रको दोस्रो बजारमा हुने कारोबारको रकम भुक्तानीको सन्दर्भमा मोबाइल तथा इन्टरनेटबाट हुने दैनिक तथा मासिक सीमा परिवर्तन गरी प्रति भुक्तानी मोबाइलबाट १ लाख र इन्टरनेटमार्फथ हुने भुक्तानी १० लाख अधिकतम सीमा कायम भएको छ । सूचीकृत संस्थाको साधारण सभाको मतदान गर्दा ई–भोटिङ्ग गर्न सक्ने व्यवस्था मिलाउन सिडिएससीलाई निर्देशन दिएका छौं । गत आर्थिक वर्षको पहिलो ६ महिनामा ३३ करोड आईपीओ निष्काशन भएकोमा यो वर्ष त्यही अवधिका साढे १० अर्बको सेयर निष्काशन भएको छ ।
० ब्रोकरलाई सेयर खरिदविक्री गर्ने अधिकार दिने कुरामा किन कञ्जुस्याई ?
मैले नबुझेको कुरा,बैंकलाई व्रोकर लाइसेन्स किन दिने ? यो माग कस्को हो ? बैंक दलाल वा व्यवसाय गर्न खोलेको हो ? त्यो त पक्कै होइन होला । बैंकको काम निक्षेप लिने र कर्जा दिने हो । मुलुक संघीयतामा गए पनि अझैं बैंकले सबै स्थानीय तहमा गएर सेवा दिन सकिरहेका छैनन् । यही क्षेत्रमा उस्तै काम गर्ने अर्काे संस्था किन थप्नु पर्ने ? ब्रोकर लाइसेन्स दिएर वैंकलाई के फाइदा हुन्छ ?
हो, बैंकलाई ब्रोकर लाइसेन्स ५ वर्ष अघि दिनु पर्दथ्यो । अहिले त प्राथमिक बजारमा मोबाइलबाटै काम गर्न सकिन्छ । यसका लागि अन्त कहिँकतै जानु पर्दैन । अब त दोस्रो बजारमा पनि ब्रोकरको टिएमएसबाट एप्स जारी गरेर लगानीकर्ताले घरबाटै काम गर्न सक्ने स्थिती बनाउने हो । अहिले हामी दोस्रो तहमा पुगिसकेका छौं । अब पूरानो तहमा पर्कने होइन । अब बैंकमा गएर टोकन लिएर म खाजा खाएर आउँछु भन्नु पर्ने अवस्था छैन । युरोपका धेरै देशमा एटिएम बन्द हुन थालिसके । सबै अनलाइन कारोबार हुन्छ ।


० बैंकलाई ब्रोकर लाईसेन्स माग गर्न थालेका थिए । यसलाई कसरी हल गर्ने ?
जुन प्रकारको माग थियो त्यसबाट पार गरेर अर्को स्टेजमा पुगिसकेका छौं । बजारमा धेरै थरिका कुराहरु आएका छन् । तर, हामी बैंकलाई लाइसेन्स दिने या प्रदेश प्रदेशमा ब्रोकर राख्न उपयुक्त हुन्छ भन्ने बारे हामी छलफल गर्दौ छौं ।
० ब्रोकर कमिशनको लफडा के हो ? कसरी हल हुन्छ ?
ब्रोकर कमिशनको केहि पनि लफडा छैंन् । धेरै कमिशन खाईरहेका ब्रोकरहरुले कमिशन घटेको छ अहिले । त्यहि हिसाबले उनीहरुले दुःख व्यक्त गरेका हुन् । यसमा कुनै पनि लफडा छैन् ।
० ५० करोडभन्दा बढी पूँजी भएका तर आईपीओ जारी नगर्ने कम्पनीहरुलाई कसरी लगाम लगाउने ?
कम्पनी रजिस्टार कार्यलयसँग सहकार्य गरेर १ अर्ब भन्दा माथीका कम्पनीलाई धितोपत्र कम्पनीमा ल्याउने प्रकियामा छौं ।
० तपाईंको भावी योजना के के छन् ?
अध्यक्षको पदभार सम्हालेदेखि ६ वटा विषयलाई प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएको छु । पहिलो, पूँजी बजारमा स्थायित्व ल्याउने, व्यक्तिगतभन्दा संस्थागत लगानी भित्राउने वातावरण बनाउन सकेमा स्थायीत्व आउँछ । पुँजी बजारमा व्यावसायिकता अभिवृद्धि गरिनुपर्छ । अहिले पुँजी बजार आकाशेखेतीजस्तो मात्र भएको छ । पुँजी बजारमा प्रवेश गर्न चाहनेका लागि यो क्षेत्र पनि भविष्य राम्रो छ है भन्ने बनाउनुपर्छ । यस्तै,यस बजारको दायरा बढाउनु अत्यन्तै जरुरी छ । त्यसका लागि अहिलेका डिबेन्चर वा म्याचुअल फन्डबाहेक अन्य उपकरणको खोजी गर्नुपर्ने हुन्छ । डेरिभेटिभहरू थपिँदै जानुपर्छ ।
यस क्षेत्रमा सूचना प्रविधि र आइएमएस प्रणालीलाई भरपर्दो र सबैको पहुँचमा पु¥याउन सकेमा गाउँका कुनाकाप्चादेखि विदेशमा बस्नेसमेत यसमा सजिलै सहभागी हुन सक्छन् । अझै पनि हाम्रो अनलाइन प्रणाली पूर्णरूपमा प्रयोग हुन सकिरहेको छैन । कर्पोरेट सुशासनको परिपालनामा कडाइका साथ गराउनुपर्छ । इन्साइडर ट्रेडिङ र डिस्क्लोजरहरूलाई थप व्यवस्थित गर्नु जरुरी छ । यस्तै,प्रचलनमा रहेका कानुनलाई आवश्यकता अनुसार समयसापेक्ष सुधार गर्ने र केही बनाउन बाँकी ऐन नियम बनाउँदै जानु छ । धितोपत्र सेक्युरिटी बोर्डको अहिलेसम्म आफ्नो भवन छैन । मेरो कार्यकालमा यसको आफ्नै भवन निर्माणका लागि पनि पहल गर्ने छु ।
० पुजीँ बजारमा अहिलेका मुख्य चुनौती के के देख्नु भएको छ ?
पुँजी बजारमा व्यवसायिकताको अभाव छ । यहाँ जति सघंसंस्था छन् तिनीहरुमा यो मात्रै मेरो व्यवसाय हो र यसबाटै मैले जिविकापार्जेन गर्न सक्छु वा म अन्य व्यवसायमा आश्रित हुनु पर्दैन भन्ने भावना राम्रोसँग जागिसकेको अवस्था छैन् । ब्रोकरले काम गर्छन् तर पनि अरु सहायक व्यवसायमा संलग्न भइरहनु पर्ने अबस्था छ लगानीकर्ता पनि हामीले सेयर कारोबार मात्र होइन अरु व्यवसाय पनि गर्नुपर्छ भन्छन् । बजारमा सूचना र प्रविधिको विकास उच्चतम् स्तरको हुनुपर्ने ठाउँ पुँजी बजारमा सूचना प्रविधिको उच्चतम् प्रयोग हुन सकेको देखिँदैन । बोर्डभित्रै प्रविधिको विकास गर्नुपर्ने अबस्था छ । कारोबारका संयन्त्र पनि सूचना प्रविधिमा आधारित बनाइनुपर्दछ ।

प्रकाशित :२०७७ फाल्गुन ३, सोमबार ११:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry