राउन्ड टेबल नेपालले कार्निभल आयोजना गर्ने
डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाहरूका लागि विशेष विद्यालय निर्माण गर्ने लक्ष्यका साथ ‘राउन्ड टेबल नेपाल’ले आगामी असार ४ अर्थात् २०२२ जुन १८ तारिखमा एक विशेष कार्निभल आयोजना गर्ने भएको छ । स्कुल फर स्पेसल्स् प्रोजेक्टको रूपमा राउन्ड टेबल नेपालले पहिलो चरणमा काठमाडौं उपत्यकामा एक विशेष स्कुल निर्माण गर्ने जनाएको छ ।
Advertisement 1
डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकालाई पढाउने जुनसुकै स्कुलको विकास र वृद्धिका लागि सहयोग गर्ने लक्ष्यसमेत राखेको जनाएको छ । स्कुल फर स्पेसल्स् प्रोजेक्टको पहिलो विद्यालय निर्माणका लागि राउन्ड टेबल नेपालकै सदस्यले निःशुल्क प्रयोगकका लागि दिएको जग्गामा विद्यालय निर्माण गर्ने विकल्पसहित आफ्नै जग्गा खरिद गर्नेसम्मका योजनाहरू रहेका जनाएको छ ।
जसको पहिलो पाइलाको रूपमा यो फन्ड रेजर इभेन्ट आयोजना गर्न लागिएको हो जनाएको छ । आर्थिक रूपमा यस परियोजनाका सहयोगीहरूलाई दबाब नपर्ने र आर्थिक गतिविधिसमेत हुने र प्रायोजकले व्यावसायिक कार्यक्रम जस्तै लाभ हासिल गर्नसक्ने यस्तै कार्यक्रमहरू राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा आयोजना गर्दै जाने योजना रहेको राउन्ड टेबल नेपाल जनाएको छ ।
Advertisement 2
‘जुन वियर कार्निभल’को नाउँमा आयोजना हुने यो कार्यक्रम वियर फेस्टिभल र पारिवारिक कार्निभलको संयुक्त रूप हुने जनाएको छ । कार्यक्रमको प्रवेश टिकट दर १ हजार रुपैयाँ तोकिएको र जसमा एक बोटल वियर निःशुल्क उपलब्ध गराइने जनाएको छ । कार्यक्रमका प्रायोजकले थप भौचरहरूसमेत प्रदान गर्नेछन् । यस कार्निभलको आयोजनाको लागि निःशुल्क रूपमा होटल उपलब्ध गराएर दि होटल मल्ल स्कुल फर स्पेसल परियोजनामा सहकार्यको हात बढाएको जनाएको छ ।
राउन्ड टेबल नेपालले फ्रिडम थ्रु एजुकेसन शीर्षकमा नेपालको शिक्षा क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । सामुदायिक विद्यालयको कक्षा कोठा निर्माणमा अग्रसरता देखाउँदै आएको संस्थाको अगुवाईमा ५८ विद्यालयमा ३७३ भन्दा बढी कक्षाहरू र ४० भन्दा बढी ट्वाइलेट ब्लकको निर्माण गरिसकेको जनाएको छ । वागमती प्रदेश मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकाको फाखेलमा रहेको सिंह भैरव विद्यालयमा २ वटा कक्षाकोठा तथा कम्प्युटर ल्याबको निर्माण गरी हालै विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गरिएको जनाएको छ ।